• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

बागचाैर नगरपालिकाले एकैपटक ६८ जना शिक्षक हटाउँदा विद्यालयहरु अस्तव्यस्त

विद्यार्थीद्वारा विद्यालय र वडा कार्यालय तालाबन्दी, नगरपालिका घेराउ

भदाै १२, सल्यान ।

सल्यानकाे बागचाैर नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयमा कार्यरत ६८ जना शिक्षकहरुलाइ एकैपटक हटाउँदा अहिले विद्यालयहरु अस्तव्यस्त बनेका छन् । नगरअनुदानमा रहेका ६८ जना शिक्षकलाइ नगरपालिकाले असार महिनामा एकैपटक हटाएको थियो ।

अघिल्लाे पटक (२०७४) काे निर्वाचित सरकारले नियुक्ती गरेका शिक्षकहरुलाइ अहिलेकाे (२०७९)काे निर्वाचित सरकारले हटाएपछि अहिले अधिकांश विद्यालयमा शिक्षकहरु पदपुर्ती भएका छैनन् ।

बागचौर नगरपालिकामा ६८ वटा सामुदायिक बिद्यालय छन् । नगरपालिकाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० वमोजिम नगरअनुदानमा साउन ५ गते पुराना शिक्षकहरु हटाएर एक सय २५ जना नयाँ शिक्षकको बिज्ञापन खोल्यो । बालविकास सहजकर्ता १३ जना, प्रावि तह (१–५) ६५ जना, आधारभूत तह (६–८) २९ जना र मावि तहमा १८ जनाको माग गरिएको नगरपालिकाले जनाएको छ ।

तर नयाँ शिक्षक नियुक्ती हुन नसक्दा अहिले विद्यार्थीहरुले शिक्षक अभाव भएकाे भन्दै धमाधम तालाबन्दी गर्न थालेका छन् । भाद्र ४ गते बालकन्या मावी टाट्केबाट विद्यार्थीले सुरु गरेकाे ताला अहिले धेरैजसाे विद्यालयमा प्रवेश गरेकाे छ ।

साेमबार मात्रै विद्यार्थीहरुले बिषयगत शिक्षकको माग गर्दै बागचौर नगरपालिका–११ को वडा कार्यालयमै तालाबन्दी गरेका छन् । सोही वडाको शिशुकल्याण माद्यामिक बिद्यालय हारिचारमा अध्ययनरत बिद्यार्थीले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । बिद्यालयमा नयाँ शिक्षक नआउदाँसम्म र पठनपाठन प्रभावकारी नहुदा सम्म तालाबन्दी जारी रहने बिद्यार्थीले जनाएका छन् ।

वडाअध्यक्ष केश बहादुर भण्डारीले शिक्षकको माग गर्दै बिद्यार्थीले वडा कार्यालयमा तालाबन्दी गरेकाे बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘विद्यार्थीहरुले वडामा तालाबन्दी लगाउन आवश्यक थिएन् । हामीसँग सल्लाह नै नगरेर तला लगाएछन् । सल्लाह गरेकाे भए तत्काललाइ वडाबाट केहि शिक्षककाे व्यवस्था गर्न सकिन्थ्याे ।’ भाेली विद्यालय, विद्यार्थीसँग छलफल गरेर वडाकाे ताला खाेलीने उनले बताए ।

त्यस्तै विद्यार्थीहरुले शिक्षककाे माग गर्दै अम्मरज्योती मावि चौरपानी, शहिद भरत स्मृति मावि शिर्पा, सरस्वती मावि जामुनेचौर लगायतका विद्यालयहरु पनि तालाबन्दी गरेका छन् ।

यसैबीच विभिन्न विद्यालयबाट आक्राेशित विद्यार्थीहरु मंगलबार बागचाैर नगरपालिकाकै कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । तर त्यहाँ बाक्लाे उपस्थितिमा रहेका प्रहरीले उनिहरुलाइ राेकेका थिए । उनिहरुले नगरपालिकाकाे घेट बाहिर अडिएर दिउँसाे घेराउ समेत गरे ।

यता बागचाैर नगरपालिकाले भने अब चाँडै नयाँ शिक्षक छनौट गरिने जनाएकाे छ । शिक्षकको परिक्षा केन्द्र तोकिएको थारमारे क्याम्पसमा क्याम्पसका बिद्यार्थीको परिक्षा सञ्चालन भएकाले केही ढिलाइ भएको र अवको केही दिनमा दोस्रो पत्रको परिक्षा पनि सञ्चालन गरिने नगरपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार