• २०८३ जेष्ठ ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा असारे झरीमा गरेकाे कालाेपत्रे एक हप्तामै उत्रियाे 

ठेक्का रद्द भैसकेकाेले बाँकी भुक्तानी नहुँने सडक डिभिजन कार्यालयकाे भनाई । डिजाइन गलत भएकाेले कालाेपत्रे उत्रिएकाे निर्माण व्यवसायीकाे प्रतिकृया ।

असार २९, सल्यान ।

सल्यानकाे सदरमुकाम खलंगाबाट कर्णाली प्रदेशकाे राजधानी सुर्खेत जाेड्ने ‘खलंगा-कुपिण्डे-बालुवासंग्रही’ सडकको कालोपत्रे एक हप्ता पनि टिकेकाे छैन् । केहिदिन अगाडी असारकाे बर्खे झरीमा याे सडक कालाेपत्रे गरिएकाे थियाे ।

साे सडक खण्ड अन्तरगत बनगाड कुपिण्डे नगरपालिका ९ ज्यामिरे देखी बाबियाचौर खण्डको करिब १५ सय मिटर सडक प्राकृतिक/निशान जेभीले असारकाे अन्तिम सातातिर कालाेपत्रे गरेकाे थियाे । असारकाे झरी चलिरहेकाे बेला सुर्खेतकाे बाेटेचाैरबाट कच्चापदार्थ ढुवानी गरेर सडक कालाेपत्रे गरिएकाे थियाे ।

उक्त सडककाे १५ सय मिटर सडक कालोपत्रे गर्ने भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण व्यवसायिले २०७७ असार ७ गते भ्याट सहित १ करोड ४२ लाखमा सम्झौता गरेका थिए । जसअनुसार २०७७ पुस ६ गते काम सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम नभएपछि २०७८ चैत ३० गते सम्मलाइ अन्तिम पटक म्याद थपिएकाे थियाे ।

ठेक्का रद्द छ, भुक्तानी हुँदैन् : सडक डिभिजन

अन्तिम पटक म्याद थप गर्दा पनि कालोपत्रेको काम नभएको र म्याद थप नभएकाले २०८० असार ११ गते सडक डिभिजन कार्यालय दाङले ठेक्का रद्ध गरेको कार्यालयका सुचना अधिकारी रिकेश महर्जनले बताए । तर निर्माण व्यवसायीले भने ठेक्का रद्द नभएर वारेन्ट दिइएकाे भन्दै  असार ११ पछिबाट कालाेपत्रे सुरु गरेका थिए ।

उक्त कालाेपत्रेकाे भुक्तानी नभएकाे र ठेक्का रद्द भैसकेकाेले अब भुक्तानी पनि गर्न नमिल्ने सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी रिकेश महर्जनले बताए । उनले भने, ‘हामीले असार ११ गतेदेखि अगाडीकाे मात्रै फाइल हेर्छाैं । त्यसपछि गरेकाे कालाेपत्रेकाे हामीले मुल्यांकन गर्दैनाैं ।’

उक्त निर्माण व्यवसायीले म्याद ताेकिएकाे अन्तिम समय २०७८ चैत ३० गतेसम्म वाल र केहि नालाकाे काम गरेकाेले ५२ लाख ७३ हजार रकम भुक्तानी गरिएकाे उनले बताए । त्यसपछिकाे कामकाे भने भुक्तानी नहुँने उनले बताए ।

डिजाइन गलत भएकाेले कालाेपत्रे उम्कियाे : निर्माण व्यवसायी

साे सडक निर्माण कम्पनी प्राकृतिक निशान जेभिका संचालक डिल्ली केसीले सडककाे डिजाइनमा नाला नभएकाेले कालाेपत्रे उम्किएकाे बताए । उनले सडककाे डिजाइन गर्दा नाला कम र साँघुराे घुम्ती राखिएकाेले घुम्तीमा कालाेपत्रे उत्रिएकाे बताए ।

‘ति घुम्तीहरुमा कालाेपत्रे गरेर हुँदैन्, आरसिडी गरेपछि मात्रै टिक्छ’, केसीले भने, ‘नालाहरु पनि छैनन् अनि पहाडकाे कालाेपत्रे कसरी जाेगाउन सकिन्छ । तर सडक डिभिजनले भने २०७७ असार अगाडी स्टमेट गर्दा त्यसपहिला नालाहरु भएकाेले थाेरै ठाउँमा मात्रै नालाहरु राखिएकाे बताए । पहिला नालाहरु भएकाेमा तीन वर्षसम्म केहि काम नहुँदा ति नालाहरु काम नलाग्ने अवस्थामा अहिले पुगेकाे सडक डिभिजन कार्यालय दाङकाे भनाइ छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार