
साउन १०, सल्यान ।
बागचाैर नगरपालिका २ थारमारेमा रहेकाे जनकल्यान नमुना मावीकाे जग्गामा काटिएका हजाराैं सल्लाका रुखकाे काठहरु अहिलेसम्म बिक्रि नहुँदा कुहिन थालेका छन् ।
अघिल्लाे वर्षकाे चैतमा काटिएका सल्लाकाे काठ अहिलेसम्म विद्यालयले बिक्री गर्न सकेकाे छैन् । करिब डेढ वर्षदेखि काठ बिक्री नहुँदा लाखाैं मुल्यकाे काठ अहिले कुहिएर काम नलाग्ने अवस्थामा पुग्न थालेकाे छ ।
डिभिजन वन कार्यालय सल्यानबाट १ हजार ३ सय ९० वटा सल्लाकाे रुख कटानकाे लागि विद्यालयले अनुमती पाएकाे थियाे । जसअनुसार २०७८ चैतमा एक हजार भन्दा सल्लाका रूखहरु विद्यालयले ज्यालादारीमा कटान गर्न लगाएकाे थियाे ।
काठ काटेकाे केहि समय पछ्यात २०७९ असार १६ मा वन नियामावली परिवर्तन भएपछि काठ बिक्री हुन नसकेकाे विद्यालयले जनाएकाे छ । पहिला रुख कटान गर्दा राजश्वकाे मुल्य कम भएकाे र पछि वन नियामावली परिवर्तन हुँदा राजश्वकाे मुल्य बढेपछि काठ बिक्री हुन नसकेकाे प्रधानध्यापक पुर्ण भण्डारी पंकजले बताए । आफुले दुइपटकसम्म टेन्डर खाेल्दा पनि कसैले टेन्डर नहालेकाे उनकाे भनाइ छ ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले रुख कटान पछि मात्रै टेन्डरकाे प्रकृया हुने भएकाेले पहिला रुख कटान गरेकाे बताए । अहिले कसैले टेन्डर नहालेकाेले काठ बिक्री हुन सक्ने सम्भावना नभएकाे भन्दै डिभिजन वन कार्यालय सल्यान पनि पञ्छिन खाेजेकाे देखिन्छ ।
उता थारमारेका स्थानीयहरुले भने विद्यालयले हचुवाकाे भरमा त्यति धेरै सल्लाकाे रुखहरु कटान गरेकाे बताएका छन् । विद्यालयले पहिला प्रकृया नबुझेर समिति बनाइ सिमित व्यक्तिलाई ठेक्का दिएर काठ बेच्ने याेजना सहित कटान गर्न लगाएकाे स्थानीयबासीकाे आराेप छ ।
लेकाली अनलाइनसँग कुरा गर्दै एकजना स्थानीयले भने, ‘विद्यालयले पहिला कुनै सिमित मान्छेलाइ ठेक्का दिएर पैसा कमाउने हिसाबले रुख काट्न लगायाे । तर पछि प्रकृयामा जाँदा टेन्डर गर्नुपर्ने र राजश्व धेरै तिर्नुपर्ने भएपछि विद्यालयलाइ फाइदा नहुने देखिएकाे हुँदा काठ बिक्री हुन राेकियाे । दुइवटा बर्खाकाे पानीले काठ भिजेपछि अब त बिक्री हुने सम्भावना छैन् ।’

सुरुमा विद्यालयले दाङका रुद्र भण्डारीकाे काठ सप्लायर्स लाइ ठेक्का दिएकाे थियाे । उनले काठ लिनलाइ विद्यालयमा राजश्व समेत जम्मा गरेका थिए तर प्रकृया नपुगेर काठ निकासी हुन नसकेपछि उक्त रकम विद्यालयले भण्डारीलाइ फिर्ता गरेकाे थियाे । त्यसपछि टेन्डरमा जाँदा भने कसैले टेन्डर हालेनन् ।
ज्यालादारीमा काठ कटानकाे जिम्मा लगेकाहरुले पनि अहिलेसम्म पैसा पाएका छैन् । आफुले काठ कटान गर्दा १५ लाख रुपैया लागेकाे र त्याे रकम नपाएकाे काठ कटान गर्ने मध्येका एक नरबहादुर डाँगीले बताए ।