• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

कोशी उच्च बाँधको एजेण्डा कांग्रेसको हो कि एमालेको ?


नेपालमा पानी राजनीति र पानी राष्ट्रियताको प्रसंग नयाँ होइन । इतिहासको फेहरिस्त लामै छ । तर, आजको प्रसंग भने कोशी उच्च बाँधमा मात्र केन्द्रित छ ।

कोशी उच्चबाँध नेपालका लागि अपरिहार्य परियोजना हो भनेर मोरङको विराटचोकमा केपी ओलीले भाषण ठोकेपछि पंक्तिकारजस्ता केही यसका पक्षधरहरुलाई राष्ट्रघातको विशेषणबाट मुक्ति मिलेको छ भने हिजोसम्म जल राष्ट्रियताको नाममा कोशी उच्चबाँध राष्ट्रघात हो भन्ने अधिकांश कम्युनिस्टहरुका मुखमा गतिलै बुझो लागेको छ ।

तर, कुरा सेखी झर्ने वा बढ्ने हैन, कुरा समृद्धिको हो । यसर्थ यो मुद्दा अब कम्तिमा कांग्रेस, एमाले, माओवादी, मधेसवादी, बाबुरामदेखि चित्रबहादुर केसीसम्मलाई एक ठाउँमा ल्याउन सक्षम भएका छौं ।

अर्थात् अब यो परियोजना राष्ट्रिय सहमतिको मुद्दा भएको छ । केपी ओलीले भनेजस्तै यो नेपालको विकास र समृद्धिका लागि अन्यन्त महत्वपूर्ण विषय हो ।

बिराटचोकको भाषणमा केपी ओलीले कोशी उच्च बाँधको प्रशंसा गर्दै यसो भनेका थिए– ‘कोशी हाइ ड्यामको प्रवन्ध गरेपछि वहाँ दोलाघाटसम्म स्टिमरबाट सरर जान सकिन्छ । एक घण्टामा काठमाडौं, एक घण्टामा ताप्लेजुङ । पानीबाट । यो जल यातायातको कुरा धेरै मानिसहरुले अझै बुझेका छैनन् । यी कामहरु हामी गर्न सक्छौं । यी आयोजनाहरु सुरु भएपछि बिजुली कति चाहिन्छ, त्यति उत्पादन हुन्छ नेपालमा । बेच्न पनि फालाफाल पुग्ने गरी ।’

जल राष्ट्रवादीको कोपभाजनमा कोशी उच्च बाँध

लामो समयदेखि यो पंक्तिकार कोशी उच्चबाँधका पक्षमा लेख्दै र बोल्दै आएको छ । यस क्रममा श्लील, अश्लील सबै प्रकारका कटू टिप्पणीहरु पनि पाइसकेको छु ।

लामो समयसम्म जल उत्पन्न राष्ट्रियताको प्रकोपमा परेर सुषुप्त रहेको र संयुक्त कार्यालयसमेत बन्द भइसकेको कोशी उच्चबाँध केही समय पहिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको संयुक्त विज्ञप्तिमा पर्न गएपछि नेपालमा पानी राजनीति पुनः उत्कर्षमा पुगेको थियो ।

कोशी उच्च बाँधकै मानकमा राष्ट्रवादी र राष्ट्रघातीका कित्ता छुट्याउने काम खुबै भयो । यस क्रममा कम्युनिस्ट राष्ट्रवादी सर्वत्र छाउन पुगेका थिए ।

स्व. गिरिजाप्रसाद कोइरालाले तत्कालीन माओवादीका एजेन्डाहरुलाई स्वीकारेर नेपाली कांग्रेसका मुद्दा बनाएपछि राजनीतिमा प्रभावहीन बनेको नेपाली कांग्रेस विस्तारै कम्युनिस्टहरुको नाराकै प्रभावमा पर्‍याे र आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीले हस्ताक्षर गरेको कुराको बचाउमा पनि निस्किएन । र, यसको चर्चा पनि गर्न छाड्यो । परिणामस्वरुप पंक्तिकारजस्ता केही व्यक्तिहरुको बौद्धिक फन्टासीमा नै कैद भएर बस्यो ।

कोशी उच्चबाँध र त्यस्ता आयोजनाको पक्षमा बोल्ने व्यक्तिहरुलाई सिस्नुपानी लाउने जल राष्ट्रवादीहरुको कोपभाजनमा दमित मुद्दा बन्न पुग्यो । तर, पुनः यो हप्ता कोशी उच्चबाँध चर्चाको उत्कर्षमा पुग्यो एकाएक । र, यसपटकको कारण बने एमालेका अध्यक्ष केपी ओली ।

नेपाली कांग्रेस र कोशी उच्चबाँध

वर्तमानको कोशी बाँध निर्माण गर्नु पहिले पनि कोशी उच्चबाँधको बारेमा नसोचिएको थिएन । तर, तत्कालीन भारत त्यस्ता वृहत परियोजनाहरुको आँट गरिहाल्ने स्थितिमा थिएन । त्यो नबन्नु नेपाललाई वरदान सहर भयो भन्नुमा अत्युक्ति छैन । यदि त्यति खेर नै उच्चबाँध बनेको भए नेपालले धेरै कुरा गुमाउँथ्यो ।

कोशी सम्झौतापछि नेपाल र भारतबीच अरु दुईवटा पानी सम्झौता भएका छन्, गण्डक र एकीकृत महाकाली सन्धि । नेपालमा भएका यी तीनैवटा सम्झौतालाई लिएर नेपाली कांग्रेसमाथि व्यापक आरोपहरु लागेका छन् ।

यति हुँदाहुँदै पनि प्रधानमन्त्री शेरबहादुर देउवाको यसपटकको भारत भ्रमणमा कोशी उच्च बाँधलाई अगाडि सारियो । यो एउटा अवश्य थियो तर आफूले गर्ने र गरेका कार्यहरुप्रति नै आत्मविश्वास हराएको कांग्रेस निर्वाचन आउँदा नआउँदा हीनभावले दमित संगठनको रुपमा देखापर्‍याे ।



यसपटकको आफ्नो चुनावी घोषणापत्रमा जलस्रोतको उपयोगमाथि कांग्रेसले अगाडि ल्याएको धारणा हेर्दा बुझ्न गाह्रो छैन । नेपाली कांग्रेस कहाँसम्म हीनतावोधले ग्रस्त छ भनेर । यसले आफूले सत्ता पाए ५००० मेगावाटको पञ्चवर्षीय लक्ष्य राखेको छ । ज्ञातव्य छ, अब आउने सरकारले सिन्को नभाँचे पनि ५००० मेगावाटको हाराहारीमा उत्पादन पुग्ने नै वाला छ । उपल्लो कर्णाली, अरुण–३, बूढीगण्डकी र माथिल्लो तामाकोशी लगायतका परियोजना आउनासाथ त्यति पुगि नै हाल्छ ।

यसको अर्थ स्पष्ट छ, पञ्चेश्वर, कोशी उच्च बाँधजस्ता आयोजनाको महत्वाकांक्षाबाट कांग्रेस पछाडि हट्यो । भर्खर मात्र भारत भ्रमणमा कोशी उच्चबाँध त्यत्रो विषय बन्यो । तर, त्यस्ता दीर्घकालीन हितका कुरालाई आफ्नो घोषणापत्रमा लेख्ने साहससम्म गरेन, कांग्रेसले । न त यसले गंगाको पानी ढलोका राष्ट्रहरुको सहकार्यमा जलस्रोतमार्फत सुरक्षा र सम्पन्नतातर्फ सोच्ने चेष्टा गर्‍याे । न त समुद्रसम्मको जलमार्गमार्फत पहुँच निर्माण गर्नेतर्फ कल्पनासम्म गर्न सक्यो ।

यस मानेमा नेपाली कांग्रेस सपना शून्य देखिन्छ । त्यही सपना शून्यता र हीनतावोधमा कोशी उच्च बाँधको सपना कांग्रेसको मस्तिष्कमा घुस्न सकेन ।

नेकपा एमाले र कोशी उच्चबाँध

परम्परागतरुपमा नै नेपाली कम्युनिस्ट आन्दोलन र राजनीति प्रतिक्रियात्मक रही आएको छ । यही राजनीतिक चरित्रका कारण कम्युनिस्टहरुले नेपालमा पानीको राष्ट्रवादी खेती यथेष्ठ गरेका थिए र छन् । तर, इतिहासमा पहिलोपटक सहकारिताको राजनीतिक निर्णय नेपाली कम्युनिस्टले गरे । त्यो थियो, एकीकृत महाकाली सन्धि ।

पार्टीभित्रै विभाजित धारणा भए पनि तत्कालीन नेकपा एमालेले देखाएको सहकारिताको राजनीति ऐतिहासिक नै थियो । त्यसपछि जलराष्ट्रवादमा सापेक्षितरुपमा व्यवहारिक र नरम देखिएको नेकपा एमाले केही महिना अगाडि एकाएक चर्को जलराष्ट्रवादी भएर देखापर्‍याे । कोशी उच्चबाँधको सन्दर्भ नेपाल–भारत संयुक्त विज्ञप्तिमा परेपछि ।

पार्टीका अध्यक्ष केपी ओलीले रेल र पानीजहाजका सपनाहरु बोल्दै हिँड्दा त्यसको वचाउ र व्याख्या गर्ने अकिंञ्चनमध्येमा यो लेखक पनि थियो । तर, आफैंले देखेको सपनाको उल्टो भाषण गर्न थाले केपी ओली । यहाँसम्म कि पानीजहाज चलाउने भनेको त समुद्रमा हो, नेपालले किनेर चलाउँछ भनी हिँड्न थाले । तर, यसपटकको चुनावी घोषणापत्रमा भने फेरि केपी ओली यू टर्न मार्न पुगे ।

भारतसँगको कुनै पनि पानी सहकार्य सर्तभन्दा पनि भारत राष्ट्रवादका कारणले राष्ट्रघाती नै हुने मान्यता राख्ने चित्रबहादुर केसीसँग समेत गठबन्धन गरेर जारी गरिएको संयुक्त घोषणापत्रमा उच्चबाँध मार्फत नेपालमा जल यातायातको सम्भावनालाई मूर्तरुप दिने कुरा उल्लेख छ । यद्यपि, त्यहाँ कोशी उच्च बाँध भनी स्पष्ट लेखिएको छैन ।

ज्ञातव्य छ, नेपालमा जल यातायात र समुद्रसम्मको पहुँच स्थापित गर्ने उच्चबाँध केबल कोशी मात्रै हो । तर, यस कुराको प्रष्टीकरण एमाले अध्यक्ष केपी ओलीले मोरङको विराटचोकको आमसभामा दिए । कोशी उच्चबाँध मार्फत नै जल यातायात विकास गर्ने भनेर ।

तर, यस्तो वृहत सपनाको व्याख्या गरिरहँदा पनि ओलीको बतासे र हलुंगे वाकशैली भने कायमै रह्यो । उनले यहाँसम्म उडन्ते कुरा गर्न भ्याए कि बराह क्षेत्रबाट स्टिमर चढेर एक घन्टामा ताप्लेजुङ पुगिन्छसम्म भने ।

तर, केपी ओलीलाई के हेक्का भएन भने अधिकतम सतहसम्म जम्मा हुँदा पनि तमोर सरोबरतर्फको पानी तमोर, डिहीटारको बगरसम्म मात्रै पुग्छ । त्यहाँभन्दा माथि र्‍याफ्टिङ त होसियारपूर्वक गर्नुपर्ने ठाउँमा कस्तो स्टिमर चल्ला ? र, एक घण्टामा ताप्लेजुङ कसरी पुगिएला ? त्यस्ता उट्पट्याङ शैलीले नेतृत्वको वजन घटाउँछ र कालु र बाख्राको कथाझैं हुन्छ । सही कुरा गर्दा नि अपत्यारिलो हुनजान्छ ।

एमालेको सक्षम रणनीति सामु कांग्रेस घुँडा टेक्दो अवस्थामा छ । एमाले माने केपी ओली भएका अवस्थामा एमालेका सबै पक्ष केपी ओली केन्द्रित देखिएका छन् । ओलीको स्वाभाव तत् क्षणमा उनलाई सुझेको कुरा अन्तिम सत्य हुन्छ । तर, त्यो अन्तिम सत्यलाई कहाँ हाम्फालेर उनले यू टर्न हान्ने हुन्, कहिल्यै भरोसा भएन ।

संविधान निर्माण प्रक्रिया होस् कि अहिलेको कोशी उच्चबाँध प्रकरण होस्, ओलीजीले गतिलो यू टर्न मारेकै हुन् । तर, यसपटक कोशी उच्चबाँधमा केपी ओलीको यू टर्न गज्जब सफल र प्रसंशायोग्य यू टर्न हुन पुगेको छ ।

यसमा चित्रहादुर केसीसम्मलाई सहमत गराउन सक्नु र कांग्रेसलाई बचाउको अवस्थामा लत्राएर उसको घोषणापत्रमा यो विषय राख्नै नसक्ने बनाउनु अनि कांग्रेसले उठान गरेको विषयलाई अपहरण गरी आफ्नो घोषणापत्रमा राख्नु ओलीको सक्षम राजनीति हो । पंक्तिकार यसको प्रशंसा नगरी बस्न सक्दैन ।

अरुणकुमार सुवेदी अनलाइनखबर

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार