• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

आगामी चुनावमा नयाँशक्तिको भविश्य के होला ?


आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले के कस्तो परिणाम ल्याउला ? मुलुकलाई आगामी ५ वर्षका लागि कसरी कता र कुन दिशातिर विजेता दल र नेतृत्वले लैजालान् ? यस्ता विषय अहिले गर्भमा छन् र कौतुहलका विषय पनि बन्दैछन् ।

भर्खरै सम्पन्न तीन चरणका स्थानीय निर्वाचनमा देखिएको तामझाम, निर्वाचनअघि ब्यक्त उम्मेदवारका प्रायः असम्भव आश्वासन र तत्पश्चातको सुस्त एवं अकर्मण्य गतिलाई हेर्दा आम मानिसहरुमा यो निर्वाचनमा अपेक्षित उत्साह अझै देखा परिरहेको पाइन्न ।

यसको अर्थ कुनै न कुनै उम्मेदवारलाई छनोट गर्ने आफ्नो अधिकारलाई जनताले प्रयोग गर्दैन्न भन्ने होइन । यसअघिको स्थानीय निर्वाचनसमेतलाई दृष्टिगत गर्दा मतदाताहरु धेरै सोच विचार र नापतौलका साथ मतदान गर्ने मुडमा रहेको पाइन्छ । लोकतन्त्रका लागि मतदातामा विकसित हुने जागरुगता बास्तवमै राष्ट्रको उन्नतिका लागि आवश्यक तत्वसमेत हो ।

निर्वाचनपूर्वको गठबन्धन नेपालमा नयाँ प्रकृतिको अभ्यास हो । ०४८ सालयताका निर्वाचनमा त्यस्ता गठबन्धन नितान्त दुई पक्षीय स्तरका, त्यो पनि सीमित क्षेत्रमा यदाकदा हुने गरेका भएता पनि सिंगो देशलाई प्रभाव पार्ने गरी कतै बनेको पाइन्न । विश्वस्तरमा भने यस्ता अभ्यासहरु भई रहने गरेका छन् ।

युरोपमा खासगरि स्विडेनमा सन् २०१० मा त्यस्तो अभ्यास सफल भएको देखिन्छ भने जर्मनीमा सन् २०१३ मा त्यस्तो झिनो अभ्यास भएको देखिन्छ । भारतमा भने एनडीए र युपीए दुईथरि गठबन्धनहरुले निर्वाचनपूर्व विभिन्न घटक दलहरुलाई संलग्न गरी क्रमशः सन् १९९८ र सन् २००४ पछि यस्तो गठबनधन सुरु गरेको देखिन्छ । यो अभ्यासले भारतीय जनता पार्टीलाई सन् १९९८–२००४ र सन् २०१४ को आम निर्वाचनमा लाभ मिलेको पाइन्छ भने भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको युपीएलाई सन् २००९ मा बहुमतको सरकारको लाभ मिलेको देखिन्छ ।

नेपालमा अहिले लोकतान्त्रिक र बामगठबन्धन गरी निर्वाचनपूर्वका दुईथरी गठबन्धनहरु बनेका छन् । यी गठबन्धनका घटक दलहरु बीच एकत्व र समझदारी कति र कुन हदसम्म कायम रहिरहन्छन् ? भन्न कठिन छ । जे भए पनि आम निर्वाचनका सम्बन्धमा एउटा महत्वपूर्ण अभ्यास नेपालमा सुरुवात हुँदैछ ।

नेपाली कांग्रेस पुरानो उदारवादी प्रजातान्त्रिक पार्टी हो । तर, त्यसको नेतृत्वमा राजावादी राप्रपा पनि संलग्न छ । त्यस दृष्टिबाट कुन हदसम्म त्यो गठबन्धनमा त्यसले नकारात्मक प्रभाव पार्ला, सोचनीय छ ।

यता उस्तै–उस्तै एजेण्डा बोकेका र अभ्यास गर्न थालेका दुई कम्युनिष्ट घटकहरु– एमाले र माओवादी केन्द्रका पनि अलग–अलग पृष्ठभूमि, ऐतिहासिकता र पृथक प्रकृतिका संगठन संरचना बनेका हुनाले यो बाम गठबन्धनको एकता पनि अल्पकालिक हुने हो वा दीर्घकालिक, निकट भविष्यमा हुने घोषित पार्टी एकतासम्म यो पुग्ने हो वा होइन, आँकलन गर्न कठिन छ ।

मधेस केन्द्रित दलहरुको दायरा अहिलेसम्म क्षेत्रीय स्तरमा सीमित भइरहेकोमा राजपा र संघीय समाजवादी फोरम तराई मधेस स्तरमा निर्वाचनपूर्वको गठबन्धन बनेबाट यी दलले विगतमा भन्दा त्यहाँ बढी स्थान प्राप्त गर्न सकिने अनुमान भए पनि राष्ट्रिय राजनीतिमा ग्राफमाथि उक्लेला भन्ने आधार फेला पर्दैन । तराई मधेसमा भने उनीहरुको पकड कायम रहिरहन सक्ने सम्भावना घटेको छैन ।

यसरी विभिन्न पार्टीहरुवीच निर्वाचनपूर्वका गठबन्धनका अभ्यास विभिन्न तवरले नेपालमा सुरु भएको छ । देश र जनताका लागि यस्तो गठबन्धनले कुन सन्देश वा परिणाम देला ? यो प्रश्नतर्फ विचार गर्दा तीन–चारवटा सम्भावनाहरु अगाडि आउँछन् ।

पहिलो, यी गठबन्धनको परिणाम धेरै पार्टी मिलेर सरकार बन्ने अभ्यास अन्त्य गर्दै ५ वर्षका लागि स्थिर सरकारको सम्भावना बढी रहन्छ । दोस्रो, एजेण्डा र निर्वाचन घोषणापत्रमा आधारित आर्थिक नीति र संकल्पबाटै देश चल्ने परिपाटी सुरु हुन सक्छ । तीन, विजेता पार्टी र नेतृत्वको सुशासनका सन्दर्भमा कति दक्षता छ, पुरै परीक्षण हुन्छ । चौथो, बुद्धि पुर्‍याएमा अन्तराष्ट्रिय सम्बन्ध तथा सहयोग सम्बन्धी आदान प्रदानमा विश्वसनीयतामा वृद्धि हुन सक्छ ।

यदि आसन्न निर्वाचनबाट यी परिणामहरु प्राप्त भए भने त्यसलाई सकारात्मक रुपममै लिनुपर्ने हुन्छ । तर, निर्वाचनपूर्वको गठबन्धनबाट कतिपय नकारात्मक परिणाम पनि नआउलान् भन्न सकिन्न ।

उदाहरणका लागि– एक, मुख्य दलहरुले नेतृत्व गरेको गठबन्धन बनेर पनि बहुमतको सरकार बन्न सकेन र त्रिशंकु संसद बन्यो भने त्यसले थप विकृति र अस्थिरता देशमा भित्र्याउने छ ।

दुई, पूर्ण बहुमत कुनै गठबन्धनले प्राप्त गर्‍याे भने दुईदलीय निरंकुशता देशमा बढ्ने छ र नेपालमा कम्तिमा चार पाँचथरी विचारका बाहक ८ वा १० वटा पार्टीहरु मध्ये कतिपयको अस्तित्व संकटमा पर्ने छ । तीन, संविधान र संघीयता कार्यान्वयनको सम्बन्धमा दलहरुबीच जुन एकता र सहकार्य अझै जरुरी छ, त्यो घट्दै जानेछ । चौथो, देशको भू–राजनीतिक जटिलता बीच वैदेशिक सम्बन्ध सही र सन्तुलित बनाउने काममा थोरै पनि चुक्दा अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको परस्पर विपरीत चासो र दबाव नेपालमा बढ्न सक्नेछ ।

माथि उल्लेखित विभिन्न सन्देश र परिणाम जुन हिसाबले आए पनि जनताको जनादेशलाई ५ वर्षका लागि स्वीकारेर अगाडि बढ्नुपर्नेछ । तर, सत्तारुढ दलका कैयौं रबैयामा खबरदारी गर्न सशक्त विपक्षीको भूमिका पनि महत्वपूर्ण हुनेछ । सत्तारुढ दलमात्रै नभएर विपक्षी पनि कति कठोर, नरम वा रचनात्मक हुनेछ, जनताले बुझ्ने मौका पाउनेछन् ।

नेपालमा हाल विद्यमान यी परिस्थितिवीच नयाँ शक्ति पार्टी लगायतका बैकल्पिक पार्टीहरुको स्पेश र भूमिका के कस्तो रहनेछ ? यस बारे पनि केही चर्चा गरिनु आवश्यक छ ।

नयाँ शक्ति पार्टी लगायतका वैकल्पिक पार्टीहरुको भुमिका र स्पेसबारे अहिले मतदातामा कैयौं जिज्ञासा र प्रश्नहरु छन् । तर ती प्रश्नहरु तात्कालिक झिना–मसिना विषयतिर बढी केन्द्रित छन् । डनवाद र धनवाद हाबी भएको यो निर्वाचनमा केही मतदाता र मध्यम वर्गको एउटा हिस्सालाई वैकल्पिक पार्टीहरुको औचित्य र आवश्यकता सैद्धान्तिक धरातलबाट मात्र तत्काल स्पष्ट गर्न सकिँदैन । मूलतः साम्यवादी अतिवाद र उदारवादी प्रजातान्त्रिक चरित्रको नेपाली कांग्रेसले समाजवादी भन्दा उदारवादी (अर्थात पुँजीवादी) बाटो समातेको अवस्थाका वीच वाम लोकतान्त्रिक पार्टीको नेपालमा उत्तिकै खाँचो छ भन्ने कुरा आम मतदाताले भने विस्तारै बुझ्नेछन् र बुझ्दै पनि छन् ।

ऐतिहासिक रुपले पनि नेपालमा साम्यवादी कित्ताको अतिवाद र नेपाली कांग्रेसको पुँजीवादी रुझानलाई रुपान्तरण गर्न नयाँ शक्ति पार्टी नेपालजस्ता वैकल्पिक पार्टीहरुको भूमिका सशक्त रहनेमा कुनै शंका छैन । रुपान्तरणको सवाल विगतमा नेपालमा कैयौं राजनीतिक कालखण्डमा भएको अभ्याससंग जोडिएको छ । खासगरी ०४२ सालको सत्याग्रहको असफलताको पृष्ठभूमिमा ०४५–०४६ मा नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले साम्यवाद भन्दा तलका कुनै कुरा नगरिरहेका कम्युनिष्टहरुलाई निरंकुशताविरुद्धको आन्दोलनमा रुपान्तरण गरेको र वैधानिक राजतन्त्रवादी कांग्रेसलाई वामपन्थी–कम्युनिष्टहरुले ०६१–०६२ मा गणतन्त्रको एजेन्डामा डोर्‍याएर रुपान्तरण गरेको इतिहास हामीसँगै छ । तसर्थ रुपान्तरणको विषयलाई हाम्रोमा उपेक्षा गर्न मिल्दैन । अतः शीतयुद्धकालीन धङधङी र आशंकाहरुलाई हटाई विकास, समृद्धि र समुन्नत समाजवादको लिकमा देशलाई डोर्‍याउन नयाँ शक्ति जस्ता पार्टीले गर्ने योगदान यो निर्वाचनमा कम महत्वको रहने छैन ।

अहिले नयाँ शक्ति पार्टी, नेपाल कुनै गठबन्धनमा सामेल छैन । तथापि नेपाली कांग्रेसँग केही ठाउँहरुमा खासगरी प्रत्यक्षतर्फ चुनावी तालमेल भएको छ । यो तालमेलप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध छ । तर, यसै तालमेलका प्रसंगमा कट्टरपन्थी कम्युनिष्ट कोणबाट कतिपय कटु आलोचना आइरहेको देखिन्छ । तर, त्यस्ता आलोचनाको कुनै तूक छैन । किनकि, केही महिनाअघिसम्म एमाले–माओवादी केन्द्र, माओवादी केन्द्र–नेपाली कांग्रेस मिलेर सरकार बनाएको र पछिल्लो कालमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको पर्याप्त तालमेलको पृष्ठभूमिमा चार–पाँच ठाउँमा नयाँ शक्ति र कांग्रेसबीच हुने तालमेलले आकाश खस्छ जस्तो गर्नु रुढ मानसिकताको द्योतक हो ।

कतिपय मानिसहरु भन्ने गर्दछन्– डा.बाबुराम भट्टाराईले बाम गठबन्धन छोडेर कांग्रेससँग तालमेल गरी गल्ती गरे । डा. बाबुराम भट्टराईले त्यस सन्दर्भमा गल्ती गरे गरेनन्, इतिहासले मूल्यांकन गर्दै जाला, तर वर्तमान र भविश्यको सन्दर्भमा डा. भट्टराईले एकातिर कम्युनिष्ट अतिवाद र अर्कोतिर समाजवादलाई छाडी पुँजीवादी अभ्यासमा अग्रसर कांग्रेसलाई वीचमै बसेर रुपान्तरण गर्न सके भने त्यसबाट देशलाई मिल्ने लाभको कम आँकलन गर्न सकिँदैन ।

अर्थतन्त्र, सामाजिक सम्बन्ध, राष्ट्रिय विविधता, देश भित्रको क्षेत्रीय असन्तुलन र नेपालको जटिल भू–राजनीतिको आपसी सम्बन्ध र असर कुनरुपले, कहाँ कसरी पर्छ र त्यसको उपचार कसरी सम्भब छ भन्नेबारे डा. भट्टराईले धेरै अघिदेखि ब्याख्या विश्लेषण गर्दै आएका छन् ।

कतिपय सांगठनिक संयोजन र व्यवहारिक कमजोरीका बाबजुद डा. भट्टराईका कैयौं विश्लेषणहरु नेपालमा सही साबित हुँदै पनि आएका छन् । डा. बाबुराम भट्टराई त्यस्ता नेता हुन्, जसमाथि सशस्त्र द्वन्द्वको अवधिमा पार्टीभित्र र बाहिर मात्र होइन, शान्तिकालमा समेत धेरैथरी घेराबन्दी हुने गरेका छन् । त्यसैगरी उनको कटू आलोचना पनि हुने गरेको छ । तर, उनले ती सबैलाई पचाएर र सामना गरेर आफ्नो मान्यतामा उभिएका छन् ।

देशव्यापी रुपमा उम्मेदवारी दिनेमा नयाँ शक्ति पार्टी नेपाली कांग्रेसपछि दोस्रो स्थानमा रहेको छ । यसका नेता कार्यकर्ताहरु उचित कार्य विभाजन र योजनासहित चुनावी मैदानमा छन् । तसर्थ नयाँ शक्ति पार्टी यसपटक राष्ट्रिय पार्टीका रुपमा देशमा उभिने परिस्थिति पनि पैदा भएको छ ।

नयाँ शक्ति पार्टीबारे अतिरञ्जित प्रशंसा र न्यून आँकलन दुवै बेठीक छन् । नयाँ शक्तिका हामी सबै नेता–कार्यकर्ताहरु पनि सबै परीक्षाकै घडीमा छौं ।

कतिपय मानिसहरुले आसन्न निर्वाचनको वरपर नयाँ शक्ति पार्टीबाट केही व्यक्तिहरुको पलायन र भागदौडलाई अतिरञ्जित गर्दै नयाँ शक्ति पार्टी सकियो पनि भनिरहेका छन् । तर, यथार्थ फेरि पनि के हो भने अहिले सबैजसो ठूला दलहरुमा समेत प्रत्यक्षमा टिकट नमिलेका वा समानुपातिक सुचिमा नपरेका असन्तुष्टहरुको ठुलै भीड देखिन्छ । मधेस केन्द्रित दलहरुमा त्यो रोग निकै संक्रामक र गहिरो गरी बल्झिएकै छ । त्यस हिसाबबाट नयाँ शक्ति पार्टीमा मात्रै भागदौड देख्नु हास्यापद मात्र ठहरिनेछ ।

निर्वाचनकै मुखमा हुने भागदौड (सरल भाषामा आयाराम गयाराम को राजनीति) समग्र दक्षिण एसियाकै रोग हो । मूलतः यो तीनवटा कारणले पैदा हुने गर्छ । पहिलो, विषय वस्तुको गहिरो अध्ययन भन्दा भावनामा बगेर हिँड्ने प्रवृत्ति, दोस्रो, चेतनाको कमी र तेस्रो, तात्कालीन लाभ एवं अवसरका पछाडि कुद्ने प्रवृत्ति । जे जसरी भए पनि आयराम गयारामको यस्तो राजनीति बेठीक नै हो । तर, चेतनास्तरमा क्रमिक हुने विकास र उत्पादन प्रणालीको आधारभुत परिर्वतन विना यो रोक्न पनि सकिदैन । यसलाई अतिरन्जित बनाएर नयाँ शक्ति पार्टी बारे ब्याख्या गर्नु अर्को अतिवाद ठहरिन्छ ।

अन्त्यमा, देशलाई परम्परावादी टर्याकबाट निकालेर विकास, सुशासन, समृद्धि र शान्ति कायम गर्दै मूल्य आधारित राजनीति कायम गर्न, सबै जाति समुदाय र लिङ्गका हितलाई सम्बोधन गर्न र भू–राजनीतिक जटिलतालाई हल गर्न नयाँ पार्टीको आवश्यकता छ । यसबाहेक विवेकशील साझा पार्टीहरुले पनि विकास र सुशासनका विषयलाई प्रस्तुत गरिरहेका छन् । तिनीहरुको प्रयत्नले पनि नयाँ शक्ति पार्टीले उठाएका मुद्दालाई अझ माथि उठाउन सहज बनाउने छ र मद्दत गर्नेछ । आशा गरौं, आशन्न निर्वाचनमा वैकल्पिक पार्टीहरुलाई जनताले उचित स्थान दिनेछन् ।

नवराज सुवेदी  अनलाइनखबर

(पूर्वसांसद नवराज सुवेदी नयाँ शक्ति पार्टीका समानुपातिक उम्मेदवार एवं प्रदेश नं. ३ का इञ्चार्ज हुन्)

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार