• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

कथा: हराएकी परी


भगवान घिमिरे   

ऊ बिस्तारै बिरालाको चालमा भित्र पसी । म सिरानीपट्टि फर्केर मेजर इङ्ग्लिसको मिसिलिनी अफ प्रोजको किताब पढ्दै थिएँ । को आएछ सायद  बोइ होला भनेर यसो  हेरेको त कहिले काहीं क्याम्पस जाँदा बाटोमा भेटिने एउटी केटि पो रहिछ । सुरुमै नमस्कार गरी मैले नमस्कार फर्काएँ । कर्लि  परेको कालो घना केश, निलो कुर्ता सलवार, पछ्यौरी ओढेकी थिई । त्यस्तै १५ र १६ कि निकै राम्री हँसिली, गोरी, जिउडाल सर्लक्क परेकी निकै लोभ लाग्दी केटी थिई । हातमा केही कापी किताब र कलम लिएकी निकै हिस्सी परेकी । तर आज सोध्दै नसोधी भित्र पसी । चिन्नु न जान्नुको घर अनि म त झन् बाटोमा कहिलेकाहीँ भेटिने अन्जान केटा थिएँ ।

कहिल्यै नबोलेको,  अन्त कतै देखेको  मान्छे ।  एक्कासि यो अपरिचित घरमा किन छिरी ? म  बिहानमा क्याम्पस जान्थेँ, एघार बजेतिर आएर खाना खाएर दिनभरी रुममा नै पढेर बिताउँथे । यसो बेलुका बाहिर निस्केर घुम्थेँ । त्यो दिन पनि सधैँझैँ खाना खाएर बेडमा पढेर बसेको थिएँ  । मौसम निकै चिसो । म बसेको कोठाको ढोका उत्तर फर्केको थियो । अगाडिपट्टि खेतमा केही काटिसकेको र कति काट्न बाँकी धान  थियो ।

आज अचानक ऊ त्यहाँभित्र किन पसी र  किन त्यस्तो गर्दै छ ? हामी दुवै  एकै छिन अलमल्ल पर्दै एकअर्कालाई  हेराहेर गर्यौं । ऊ खाटमा बस्ने अनुमति चाहन्थी । तर म ऊ बस्ने हो होइन, छुट्ट्याउन सकिरहेको थिइनँ । भुइँमा एउटा गुन्द्री मात्रै बिछ्याएको थियो उ त्यहाँ तल बस्ने कुरा पनि भएन । केही छिन ऊ त्यसै उभिई अनि बिस्तारै म बसेको खाटमा बसी । त्यसपछि त मलाई झनै अफ्ठ्यारो भयो । के गरूँ कसो गरूँ ? देब्रे हातको कुइनाले ओछ्यानमा टेकेर घुँडा मारेर पढेको मेरो कापी किताब भने ओछ्यानभरी नै यत्रतत्र थियो । त्यो सब जम्मा पार्दै म आफू पनि अलिक सम्हालिएर सिधा भएर बसेँ ।

मस्कँदै खाटमा बसेर उसको नसालु नजर मतिर फ्याँकेपछि मलाई पनि बोल्न करै लाग्यो । तपाईं नै भनेर सम्बोधन गरेर बिस्तारै उसको परिचय सोधेँ । ऊ त्यै घरकी फुपूदिदी नारायणीकी  छोरी सीताकी साथी  रहिछ । सीताले हामीलाइ दाइ भन्थिन् । उसले चिनेका र मसँग हेलमेल भएका एकदुई जना साथीको नाम लिँदै चिन्नुहुन्छ भन्दै सोधी । म किताबमा नजर दिँदै उसँग कुरा गरिरहेको थिएँ । ऊ अलिक झुक्एिर कुरा गर्दै थिई ।

उसको कपाल अगाडि झुण्डिएको थियो । अनि हातले सर्लक्क पछाडि फाल्दा मेरो कुइनामा लागेर सर्र तल झरयो । मलाई उसको चाला अलिक निको लागेन । त्यसरी अपरिचित केटा मान्छेसँग एउटै कोठामा त्यसमा पनि एउटै खाटमा बसेर टान्स्सिनझैँ गरी हिमचिम बढाएको मलाई मन परेन । खासै बोल्ने कुरा नभएर एक छिन सन्नाटा छाएपछि उसैले कुरा सुरु गरी ।

“हजुरलाई राम्रो इङ्ग्लिस आउँछ रे, मलाई सिकाइदिनु न है । म सधैँ यतिबेलै आउने गर्छु हुन्छ ल ?” भन्दै प्रश्नवाचक नजरले मतिर हेरी उसको बोली यति मीठो र नशालु थियो कि त्यो बोली अहिले पनि कानमा गुञ्जिरहेझैँ लाग्छ । सायद  त्यतिबेलाको मेरो  उमेर पनि त्यस्तै १७, १८ भएर पनि हो कि कुन्नि । तर मैले कुरा टार्ने उपाय निकाल्दै उसलाई म्याथ कत्तिको आउँछ भनेर सोधेँ ।

 

उसले म्याथ त गाह्रो लाग्दैन सजिलै लाग्छ इङ्ग्लिस साह्रै गाह्रो लाग्छ केही पनि आउँदैन । यही इङ्ग्लिस लगेर एसएलसी पास गर्न सकिन्न कि जस्तो लागिरहेको छ भनी । मैले झट्ट उल्टो कुरा गरेँ, मलाई पनि इङ्ग्लिस त्यति राम्रो आउँदैन । एसएलसीमा पनि बल्लबल्ल पास गरियो । म्याथ हो भने त बरु जसोतसो सिकाइदिन्थेँ । तर उसले पत्याइन र भनी– सीताले भनेको हजुरलाई राम्रो इङ्ग्लिस आउँछ । त्यसो भएर यहाँ आएको, हजुरले ढाँटेको होला भनी । म मनमनै हाँसे । किनभने मलाई म्याथ निकै गाह्रो विषय लाग्थ्यो । निकै मिहिनेत गरेर एसएलसी पास गरेको थिएँ ।

इङ्ग्लिसलाई कुनै समस्या थिएन । गाउँमै पनि खाली भएका बेला एक दुई भाइ बैनीलाई सिकाइदिन्थँे । तर यहाँ तर आज एउटी सुन्दर केटीबाट छुटकारा पाउनकै लागि भनेर उल्टो कुरा गर्दै झुठ बोलिरहेकोमा मनमा अनौठो अनुभूति भइरहेको थियो । मैले स्वीकृति दिएको थिएँ भने त्यो दिनहुँ आउँथी । एउटा जवान केटा र एउटी त्यस्तै केटी एउटै कोठामा त्यसरी एकान्तमा लामो समय बिताउन हल्ला बढी हुन्थ्यो ।

माया प्रेम गर्छु भनेर सुरु हुने र छाड्छु भनेर छाडिने होइन । हामी त्यसरी नजिकिएपछि आपसमा हिमचिम बढ्ला, पिरतीको डोरो कसौँला, एकअर्काबाट छुट्टिन नसकौँला । यता छोरो क्याम्पस पढ्न बसेको छ भनेर मक्ख परेर बसेका बुबाआमालाई केटीको चक्करमा लागेर पढाइ बिग्रेको थाहा पाएपछि कस्तो होला भन्ने पनि अनुमान लगाएँ । हुन त म प्रत्येक हप्ता शुक्रबार दिउँसो घर गएर शनिबार बेलुका फर्कन्थें ।

तर पनि यस्ता अनुमान गर्ने र त्यहाँ नजर लगाउने कोही मान्छे थिएनन् । जे गरे पनि त्यो घरमा कसैलाई वास्ता थिएन । त्यसमाथि म अरूभन्दा सीधामा गनिन्थे । फेरि हामीबाट त्यस्तो नराम्रो केही नभए पनि र पवित्र हृदयले पढाइ अगाडि बढाए पनि बाहिरबाट देख्ने त्यही टोलका अरू छिमेकीले त भोलि कुनै न कुनै बहानामा ममाथि औँला उठाउने हुन् कि ? फेरि त्यो केटी कस्ती हो असली चरित्र नबुझी स्वीकृति दिन पनि सकिन । त्यसले मेरो कुरा फिटिक्कै नपत्याएर हाँसिरहेकी थिई । मैले नै कुरा खोल्दै हामी यसरी एकान्तमा बसेर पढ्नु उचित हुँदैन ।

ऊ त बिजुलीको करेन्ट लागेझैँ एकाएक खाटबाट जुरुक्क उठेर हजुरलाई त्यस्तो लाग्छ र अप्ठ्यारो मान्नुहुन्छ भने ठीकै छ । म जान्छु भनेर आफ्नो कापीकिताब उठाएर हिँडिहालि एक चोटि फर्केर पनि हेरिन । अनि मलाई त यतिन्जेल भएको घट्ना सपना जस्तो लाग्यो ।

त्यसपछिका दिनमा एक दुई चोटि म क्याम्पसबाट फर्कंदा बाटोमा त्यो केटी भेटिन्थी । टाढैबाट मुसुक्क हाँस्थी मात्रै, केहि बोल्दैनथ्यौँ । पछिपछि मलाई त्यो घर एकदम शून्य र एक्लो जस्तो भयो । जत्ति बोल्ने गफ गर्ने क्याम्पसमै र बाटोमा साथीहरूसँग थियो त्यहाँ फर्केपछि बोल्ने गफ गर्ने खालको कोही मान्छे थिएनन् । साह्रै निरस र खल्लो लाग्थ्यो । करिब  दुई महिनापछि त्यहाँबाट डेरासरेँ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार