कविचा: बागी बाटोहरू


-मिलनकान्छा किराँती   

इतिहासको आँगनबाट
निस्किएको एउटा बाटो
हात खोलेर
चुपचाप सुतिरहेछ ।

बाटोका ढाडमाथि
अनेकौँ पाइलाहरू
पैतालाका नक्सा छोड्छन्
अनेकौँ गोडाहरू
गल्ली र भित्तामा ढल्छन्
अनेकौँ औँलाहरू
बाटामै काटिन्छन्
छाती खोलेर उहिल्यैदेखि
ऊ चुपचाप सुतिरहेछ ।

नाङ्गा खुट्टाहरू
घाइते कुर्कुच्चाहरू
भुपू सपनाहरू
वर्तमान समस्यहरू
भविष्यका कल्पनाहरू
हरेक रात, हरेक दिन
हरेक बिहान, हरेक साँझ
अँध्यारो बोक्दै
प्रकाश पोख्दै
ऊर्जा भर्दै
लाली छर्दै
सबैसबै–हूलका हूल
हिँड्थे–त्यही एउटै बाटोमा ।

भरियाहरू
बटुवाहरू
गाई–बाख्राहरू
घाँस–दाउरेहरू
गोठालेहरू
जन्तीहरू
मलामीहरू
नेताहरू
प्रोफेसरहरू
विध्यार्थीहरू
मजदूरहरू
किसानहरू
कविहरू
सबैसबै–हूलका हूलहरू
हिँड्थे–त्यही एउटै बाटोमा ।

अचानक,
एकदिन बाटोका विरुद्ध
समयले अरु थुप्रैथुप्रै
बाटोहरू खन्छ ।

गोरेटोहरू
घोडेटोहरू
धुलौटेहरू
कालोपत्रेहरू
घुम्तीहरू
छड्केहरू
अनेक बाटोहरू ।

त्यसैले अचेल,
बाटोहरू स्वतन्त्र छन्
तर,
हिँड्नेहरू स्वतन्त्र छैनन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार