• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

औपनिवेशिक हिंसा : प्रथम विश्वयुद्धको कुरूप अनुहार (भाग १)


सन् १९१७ सेप्टेम्बरमा जर्मन समाजशास्त्री म्याक्स वेबरले लेखेका थिए– ‘आज वेस्टर्न फ्रन्टमा (पहिलो विश्वयुद्ध ताका युद्धबाट सबैभन्दा प्रभावित क्षेत्र) असभ्य अफ्रिकी र एसियाली बर्बरहरूको भीड र संसारभरिका चोर र बेकारहरूको जत्थाले भरिएको छ ।’ वेबरको यो भनाइले पहिलो विश्वयुद्धताकाका युरोप र विभिन्न युद्धग्रस्त क्षेत्रहरूमा बेलायत र फ्रान्सका लागि लड्दै गरेका दशौँ लाख भारतीय, अरबी, चिनिया र भियातनामी सेना र मजदुरलाई इङ्गित गथ्र्यो ।

जनशक्ति अभावपछि बेलायती साम्राज्यले करिब १४ लाखभन्दा बढी भारतीयलाई सेनामा भर्ना गरेको थियो । फ्रान्सले अफ्रिका र पूर्वी एसियाका उपनिवेशहरूबाट करिब ५ लाख सेना भर्ना गरेका थिए । झन्डै ४ लाख अफ्रिकी अमेरिकीलाई अमेरिकी सेनामा सामेल गरिएको थियो । यथार्थमा गैरस्वेत सैनिकहरू पहिलो विश्व युद्धका अज्ञात सेनाका रूपमा रहे ।

युरोपमा लामो समयदेखि युद्धलाई नियालिरहेका होची मिन्हले कमजोर अधिनस्थहरूको जबर्जस्ती सैन्य भर्नाको निन्दा गरेका थिए । पहिलो विश्वयुद्ध सुरु हुनुभन्दा पहिले होची मिन्हले लेखेका थिए– ‘उनीहरूलाई फोहोरी निग्रोहरू… रिक्सा तान्नबाहेक केही काम नलाग्नेका रूपमा हेरिएको थियो तर जब युरोपका मानव वधशालाहरूमा ‘मानव चारा’ चाहिए तब यी अधिनस्थ र कमजोरहरूलाई सेवामा लिइयो ।’

आफ्ना स्वजन र आफन्तहरूको सम्मानजनक हैसियतको आशमा, मोहनदास गान्धी, वेब डु बोइस जस्ता साम्राज्यवाद विरोधीहरूले उत्साहसाथ आफ्ना गोरा मालिकहरूको युद्ध उद्देश्यलाई समर्थन गरेका थिए । तर उनीहरूले वेबरको टिप्पणीको अर्थ थाह पाउन सकेनन्, अर्थात युरोपेलीहरू आफ्ना गैरस्वेत अधिनस्थ सेनासँग डराउछन् र घृणा गर्छन्, किप्लिङ (रुडयार्ड)को भाषामा ‘नयाँ समातिएका सुस्त र मूर्ख मान्छेहरू’ (सन् १८९९ मा लेखेको कविता ‘दि ह्वाइट मेन्स बर्डन’को पङ्क्ति) ।

यी औपनिवेशिक दास सेनाहरूको बारेमा चर्चित युद्ध इतिहासहरूमा निकै कम उल्लेख गरिएको पाइन्छ । स्मृति दिवस जस्तो पवित्र अनुष्ठानहरूमा यी दास सेनाहरूलाई सम्झना गरिन्न । बेलायती प्रष्ठितहरूको सेनोटेफ ह्वाइटहलको राजकीय पदयात्रा, ‘लास्ट पोस्ट’को शोक धुनले तोडिएको २ मिनेटको मौनता, बिछ्याइएका अफिमका फुलदानी र बजिरहेको राष्ट्रगान, यी गतिविधिहरू युरोपमा भएको युद्ध निम्त्याउने आत्मघाती हर्कतलाई लिएर सम्झिइन्छ ।

गत शताब्दीदेखि पहिलो विश्वयुद्धलाई आधुनिक पश्चिमा सभ्यतामा सबैभन्दा ठूलो विच्छेदन मानिदै आएको छ । १९औँ शताब्दीको ‘लङ पिस’ (लामो शान्ति) पछि अत्यधिक सभ्य मानिएका युरोपेली शक्तिहरू निष्कृय रहे । जसले गर्दा वर्णन गर्न नमिल्ने विनास निम्त्यायो । त्यो विनास जसका नसुल्झिएका गाँठाहरूले उदार लोकतन्त्र र सर्वसत्तावादकाबीच प्रलयकारी टकराव निम्त्यायो, अन्त्यमा उदार लोकतन्त्रकै जित भयो, जसले युरोपलाई एउटा सन्तुलनमा पुर्यायो ।

पहिलो विश्वयुद्धका बेला सबै पश्चिमा शक्तिहरूले क्षेत्रीय विस्तारको साझा उद्देश्यका लागि नश्लीय अनुक्रम बनाएका थिए । सन् १९१७ मा अमेरिकी राष्ट्रपति विड्रो विल्सनले खुल्लमखुल्ला ‘स्वेत नश्ललाई पीत नश्लभन्दा बलियो बनाउनुपर्छ’ भन्ने धारणा व्यक्त गरेका थिए । उनले ‘दुनियाँमा स्वेत सभ्यता र यसको वर्चस्व’ बचाउनुपर्छ भनेर अभिव्यक्ति दिएका थिए ।

युरोपेली इतिहासमा करिब ८० लाखभन्दा बढीको मृत्यु र २ करोड बढी व्यक्ति अङ्गभङ्ग हुनेगरी भएको दोस्रो विश्वयुद्धको आगो दन्किनुपूर्वको सबैभन्दा आततायी युद्ध थियो । युरोपका विकट ग्रामीण क्षेत्रका स्मारकहरू र वेर्दन, मार्न, प्यासन्डेल, सोम्म जस्ता सहरी क्षेत्रका चिहानले शोकको व्यापक अनुभव गराउँछ । थुप्रै पुस्तक र फिल्महरूमा युद्धपूर्वको समयमा युरोपलाई समृद्ध र सुखी देखाइन्छ र सन् १९१३ को ग्रीष्मलाई सुनौलो ग्रीष्म भनेर चित्रण गरिएको पाइन्छ ।

तर हिजोआज नस्लवाद र ‘जेनोफोबिया’ (विदेशीप्रति घृणा) पश्चिमा राजनीतिको केन्द्रमा फर्केको छ । यी घृणाका शृङ्खलाहरूले पहिलो विश्वयुद्धको दशकौँको नश्लीय साम्राज्यवादको पृष्ठभूमि सम्झिन बाध्य बनाएको छ । जसको नतिजा हामीले अहिलेसम्म भोग्न बाध्य छौँ । यो त्यस्तो प्रसङ्ग हो, जसको सम्झना स्मृति दिवसका दिन पनि गरिँदैन ।

पहिलो विश्वयुद्धका बेला सबै पश्चिमा शक्तिहरूले क्षेत्रीय विस्तारको साझा उद्देश्यका लागि नश्लीय अनुक्रम बनाएका थिए । सन् १९१७ मा अमेरिकी राष्ट्रपति विड्रो विल्सनले खुल्लमखुल्ला ‘स्वेत नश्ललाई पीत नश्लभन्दा बलियो बनाउनुपर्छ’ भन्ने धारणा व्यक्त गरेका थिए । उनले ‘दुनियाँमा स्वेत सभ्यता र यसको वर्चस्व’ बचाउनुपर्छ भनेर अभिव्यक्ति दिएका थिए ।

‘युजेनेसिस्ट’ अर्थात शारीरिक सम्बन्धमा नियन्त्रण गरी नश्ल सुधार गर्ने विचार मूलधारमा मज्जैले फैलिएको थियो । डेलीमेल जस्ता पत्रिकाहरूमा स्वेत महिलाहरू ‘यौन उत्तेजनामा आउँदा निकै बर्बर हुने आदीवासी’हरूसँगको सामीप्यातालाई निकै चिन्ता र चासोका साथ हेरिएको बताउँदै त्यही प्रकाशित प्रसारित गरिएको थियो ।

अमेरिकाका अधिकांश राज्यहरूमा अन्तरनश्लीय सम्बन्ध र विवाहलाई गैरकानुनी ठहर्याइएको थियो । सन् १९१४ ताका युरोपका अफ्रिकी उपनिवेशहरूमा युरोपेली महिला र अस्वेत पुरुषबीच शारीरिक सम्बन्ध अवैध बनाइएको थियो । यद्यपि युरोपेली पुरुष र अस्वेत महिलाबीचको शारीरिक सम्बन्धमा कुनै किसिमको रोकटोक थिएन । सन् १९१४ पछि युरोपमा ‘फोहोरी निग्रो’हरूको उपस्थितिले यी नश्लीय व्यवहारहरू केही हदसम्म उल्लङ्घन भएका थिए ।

सन् १९१५ मेमा डेलीमेल पत्रिकामा घाइते भारतीय सेनाको पछिल्तिर उभिएका बेलायती नर्सको तस्बिर छापिएकाले निकै विवाद निम्त्यायो । सैन्य अधिकारीहरूले भारतीय सेनाको उपचारमा संलग्न नर्सहरूलाई निकाल्न खोजे । तत्पश्चात नर्सहरूलाई अस्पताल हाता छोड्दा स्वेत पुरुष साथी नहुँदा अस्पताल छोड्न अनुमति दिइएन ।

नाजीहरू, जो नश्लीय स्वच्छताका मामिलामा अमेरिकी पद्धतिबाट प्रभावित भएका थिए, तिनले सन् १९३७ मा सयौँ अफ्रिकी पिताबाट जन्मेका बालबालिकालाई नपुंसक बनाएका थिए ।

फ्रान्सद्वारा जर्मनीमा युद्धपूर्वको विस्तारमा अफ्रिकी सेनाहरूको (विशेषतः माघ्रेब क्षेत्रका मुलुकहरू मोरोक्को, अल्जेरिया, ट्युनिसिया, लिबिया र मौरिटेनिया) प्रयोग हुँदा निकै आक्रोश र घृणा व्यक्त गरिएको थियो । पूर्वी अफ्रिकामा रहेका आफ्ना उपनिवेशहरूमा प्रभुत्व जमाउने क्रममा हजारौँ अफ्रिकी सेना प्रयोग नगरेको होइन तर ती सेनाहरूलाई युरोपमा परिचालन गरिएका थिएनन् अथवा जर्मन विदेशमन्त्री (समोआका पूर्वगभर्नर) विल्हेम सल्फले भनेजसरी ‘नश्लीयरूपमा घिनलाग्दा अस्वेतहरूको प्रयोग’को झल्को देखिनेगरी प्रयोग भएका थिएनन् ।
सन् १९२० मा जर्मन राष्ट्रिय सभाले ‘यी जङ्गलीहरू भयानाक रूपमा खतरनाक छन्’ भनेर ‘जर्मन महिला’हरूलाई सचेत गराइएको थियो । सन् १९२० ताका एडोल्फ

हिटलरले माइन क्याम्फ लेख्दा जर्मन भूमिमा अफ्रिकी सेनालाई ‘स्वेत समुदायलाई सांस्कृतिक र राजनीतिक तह’बाट च्यूत गराउने यहुदी षड्यन्त्रका रूपमा आँैल्याए ।

नाजीहरू, जो नश्लीय स्वच्छताका मामिलामा अमेरिकी पद्धतिबाट प्रभावित भएका थिए, तिनले सन् १९३७ मा सयौँ अफ्रिकी पिताबाट जन्मेका बालबालिकालाई नपुंसक बनाएका थिए । वेबरले भनेझैँ हतियारसहित सुसज्जित ‘निगर’ अस्वेत सेनाको डर र तीप्रतिको घृणा जर्मनी वा दक्षिणपन्थी शक्तिहरूमा मात्रै थिएन । अर्थात पोपले अस्वेत सेनाहरूको उपस्थितिको विरोध जनाए र समाजवादी भनिएको बेलायती पत्रिका ‘डेली हेराल्ड’ ले सन् १९२० मा ‘युरोपमा अस्वेत विपत्ति’ शीर्षक राखेर प्रकाशित भयो ।

यी त थिए तत्कालीन विश्वव्यापी स्वेत बहिष्करणको नश्लवादी लहर जसलाई साम्राज्यवाद, ‘स्युडो–साइन्स’ छद्मविज्ञान र सामाजिक डार्विनवादले मजैले मलजल गरेको थियो । अहिलेको समयमा नश्ल विशेषबाट चलिआएको विरासतको लाभ विस्तारै क्षय हँुदैछ । यो क्षयले पश्चिमा पहिचान र संस्थाहरूलाई क्षीण गर्दै गइरहेको छ । यसले नश्लवादलाई आधुनिक पश्चिमा जगतका नेताहरूलाई शक्तिशाली राजनीतिक सम्भावनाका रूपमा प्रस्तुत गरेको छ ।

आजकाल जसरी स्वेतसर्वोच्चतावादी उत्साहित रूपमा अन्तर्राष्ट्रिय सञ्जाल बनाउँदै छन्, त्यो हेर्दा सन् १९१० मा डु बोइसले सोधेको यो प्रश्न– ‘गोरोपन भन्या के हो, जो सबैले चाहन्छन ?’ आज सोध्नै पर्ने टड्कारो अवस्था आइलागेको छ । जब हामी पहिलो विश्वयुद्ध सम्झिन्छौँ, तब हामीले यो युद्धलाई पश्चिमी विश्वव्यापी वर्चस्वको योजनाको रूपमा बुझ्नुपर्ने हुन्छ । जसमा सबै युद्ध विरोधीहरूको मतैक्यता थियो ।

पहिलो विश्वयुद्धले वास्तवमा एसियाली र अफ्रिकामा रहेका हिंस्रक उपनिवेशवादी विरासतलाई घर फर्कायो, जसले युरोपमा आत्मघाती द्वन्द्वको पटाक्षेप गर्यो । तत्कालको यो परिघटनाले यो स्मृति दिवसमा एक अनिष्टको सङ्केत देखाउँदैछ अर्थात सन् १९४५ पछिको भयङ्कर नरसंहार र विनास ।
इतिहासकारहरू जब प्रथम विश्वयुद्धका कारणबारे छलफल बहस गर्छन्, उनीहरूको जोड कठोर गठबन्धनहरू, हतियार र सैन्य प्रतिस्पर्धा, साम्राज्यवादी दुस्मनी र

जर्मन सैन्यवादमा केन्द्रित हुन्छ । इतिहासकारहरू दोहर्र्याइरहन्छन्, पहिलो विश्वयुद्ध २०औँ शताब्दीको सबैभन्दा भयानक विनास अर्थात युरोपको महाभूल, जसले प्रलयकारी दोस्रो विश्वयुद्ध र ‘होलोकास्ट’ (यहुदीहरूको कुख्यात नरसंहार) निम्त्यायो ।

युद्धसम्बन्धी गहन अध्ययन, दशौँ हजार पुस्तक र प्राज्ञिक शोध लेखहरू अधिकांश पश्चिमा वृत्त र बेलायत, फ्रान्स र जर्मनीको हत्या शृङ्खलाहरूमा घुमिरहेको हुन्छ, अझ भन्ने हो भने यी साम्राज्यवादी शक्तिहरूका महानगरीय केन्द्रहरूमा केन्द्रित रहेको छ । यी परम्परागत भाष्यहरूमा युद्ध सन् १९१४ को ‘गन्स अफ अगस्ट’ र उग्र राष्ट्रवादी सैन्य फैलावटलाई मान्ने गरिन्छ । जसलाई सन् १९१७ को रुसी क्रान्ति र बेल्पÞmर घोषणाले केही निस्तेज पारेको थियो । शान्ति सन् १९१८ नोभेम्बेर ११ मा आएको थियो र युद्धलाई दुःखद तवरले सन् १९१९ को वर्सेलिस सन्धिले टुङ्ग्याएको थियो । जसले अन्ततः दोस्रो विश्वयुद्धका लागि मैदान तयार गर्यो ।

शीतयुद्धदेखि चर्चामा रहेको युरोपको प्रबल तर वैचारिक इतिहास अर्थात विश्वयुद्धहरू जसका फासीवादी र साम्यवादी पाटाहरू थिए, ती उदार लोकतन्त्र र स्वतन्त्रताको राक्षसी पतन थिए । सन् १९४५ पछि थुप्रै युरोपेलीहरूको उपनिवेशवादी वर्चस्व र दुई भयानक युद्धका परिणामका बाबजुद युरोपले असाधारण रूपमा गति लियो ।

सैन्य शक्ति र सङ्गृहित विचारधाराप्रतिको वितृष्णाबीच पश्चिमी युरोपमा लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको सम्मान भएको जस्तो देखियो । पुनःनिर्मित सामाजिक अनुबन्ध र लोक कल्याणकारी राज्यका व्यावहारिक फाइदाहरू स्वाभाविक थिए । तर सन् १९४५ पछिका दशकका स्थिरता र सन् १९८९ को सोभियत पतनकै कारण युरोपमा मानव अधिकार र प्रजातन्त्र संस्थागत छ भनेर ठहर गर्न मिल्दैन ।

हाम्रा समसामयिक पूर्वाग्रहलाई बढावा दिने तरिकाले पहिलो विश्वयुद्धलाई सम्झिनुभन्दा हामीले हाना एरेंद्तले आफ्नो पुस्तक ‘द अरिजिन्स अफ टोटलेटारियानिज्म’ पुस्तकमा इङ्गित गरेका कुरालाई सम्झिनुपर्छ । यो २०औँ शताब्दीको युरोपको आततायी युद्ध, नश्लवाद र नरसंहारका बारेमा लेखिएको पहिलो किताब हो ।

एरेंद्तको बुझाइमा– ‘मानवतालाई मालिक र दासका बीचमा छुट्टयाउने’ काम युरोपेलीहरूले अधिकांश अफ्रिकी र एसियाली मुलुकहरूमा औपनिवेशिक शासन चलाउँदा सुरु गरेका हुन् । अवमूल्यनकारी बरियताक्रम आफ्नो मुलुकमा समानता र स्वतन्त्रता स्थापना गरी साम्राज्यवादी नियतका लागि गरिएको थियो ।

हामीले बिर्सने गरेका छौँ, १९औँ शताब्दीका बेला विस्तारवादी नीति, जमिन, खाद्यान्न र अरू सामग्रीको आश्वासनलाई राष्ट्रिय उन्नतिका रूपमा बुझिन्थ्यो । नश्लवाद एक घिनलाग्दो पूर्वाग्रह थियो र छ । जसलाई सामाजिक र कानुनीरूपमा बहिष्कार गरिनुपथ्र्यो वा गर्नुपर्छ । यस पुस्तकमा तीव्र सामाजिक र आर्थिक परिवर्तन भएको गन्जागोल समाजमा नश्लवादलाई निरुत्साहन र बहिष्कारका माध्यमबाट समाधान गर्ने, राजनीतिक व्यवस्था स्थापना गरे र प्रभावितलाई शान्त तुल्याउने भन्ने बारे लेखिएको छ ।

२०औँ शताब्दीको सुरुमा, सामाजिक डार्बिनवादको लोकप्रियताले राष्ट्रहरूलाई पनि जैविक प्राणीको रूपमा हेर्ने धारणा बनाइदियो, जसले बाह्यशक्तिलाई निर्मूल गर्न नसके र आफ्ना जनतालाई ‘उचित ठाउँ’को व्यवस्था गर्न नसक्दा मुलुकको लुप्तता र बर्बादी हुने धारणा फैलाइयो । मानवीय नश्लहरूमा भिन्नता छ भन्ने छद्म–विज्ञानका सिद्धान्तले जम्मै नश्लहरू सम्पत्ति र सत्ताका लागि अन्तर्राष्ट्रिय रूपमा सङ्घर्ष भइरहेको देखायो ।

डु बोइसले भनेझैँ गोरोपना ‘नयाँ धर्म’ बन्यो, जसले आर्थिक र प्राविधिक परिवर्तनका खतराबाट सुरक्षा दिने, शक्तिको आभास र बहुसङ्ख्यकमा थिको रजइँको आश्वासन दियो । हाल पश्चिममा पुनरागमन गरेको स्वेतसर्वोच्चातावादी विचारले पहिलो विश्वयुद्ध युरोपको विच्छेदन होइन भन्न सक्नुपर्छ । वास्तवमा चिनियाँ प्रबुद्ध आधुनिक बौद्धिक लियांग किचाउले सन् १९१८ मा भनेको यो पङ्क्ति जस्तै हो अहिलेको अवस्था ‘अतित र भविष्य जोड्ने मध्यस्थ बाटो’ ।

स्मृति दिवसका शोक गीत र सन् १९१३ को सुन्दर ग्रीष्मको व्याख्यानले, युद्धपूर्वको भयावह घटना र त्यो युद्धको २१औँ शताब्दीमा पारेको असरलाई ठाडै अस्वीकार गर्छ । हाम्रो जटिलता भनेको युद्धको शताब्दीको बाटाहरू जहाँ अतितले हाम्रो वर्तमानलाई प्रभावित गर्दैछ र यसले कसरी हाम्रो भविष्यलाई खतरामा पार्नसक्छ भन्ने औँल्याउनु हो ।

अनुवाद : दिनेश पन्त राताेपाटी

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार