लेकाली अनलाइन
मंसिर ९, काठमाडौं।
तारामण्डलमा एलियन (मानवजस्तै अन्य ग्रहको प्राणी)को जीवन रहेको आशंका गरिँदै आए पनि यसबारे थप रोचक तथ्य पत्ता लगाएको वैज्ञानिकहरुले दाबी गरेका छन् । हाम्रो सौर्यप्रणालीबाट मात्र ११ प्रकाश वर्ष टाढा पृथ्वीकै आकार र तापक्रम मिल्नेखालको नयाँ ग्रह वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
भर्खरै सार्वजनिक नयाँ अध्ययनले सतहको तापक्रम र उस्तै आकारको ग्रह भेटिएकोले त्यहाँ सम्भावित एलियन जीवनको आशंका गरिएको हो । नयाँ पत्ता लागेको संसारलाई रोस१२८बी नाम दिइएको छ । ११ प्रकाश वर्षमात्रै टाढा यो ग्रहले एउटा रेड ड्वार्फ तारालाई परिक्रमा गर्छ । आधुनिक प्रविधिअनुसार यो ग्रहसम्म पुग्न करिब एक लाख ४१ हजार वर्ष लाग्छ । यद्यपि उक्त ग्रह पृथ्वीकै नजिक नजिक आइरहेको बताइएको छ । अबको ७९ हजार वर्षमा आँखाले देख्न सकिने स्थानमा आइपुग्ने अनुमान गरिएको छ ।
खगोलविद्हरुले युरोपियन साउदर्न अब्जर्भेटरीको चिलीमा रहेको हाइ एक्युरेसी र्याडिकल भेलोसिटी प्लानेट सर्चर (एचएआरपीएस)मा उक्त ग्रहले हरेक ९.९ दिनमा रातो ड्वार्फ (सानो) तारालाई परिक्रमा गरिरहेको पत्ता लगाएका हुन् । उक्त ग्रहको नाम ग्रह पत्ता लगाउने क्यालिफोर्नियाका खगोलविद् फ्रान्क एल्मोर रोसको नामबाट जुराइएको हो । पृथ्वीकै समान आकारको उक्त ग्रहको तापक्रम पनि पृथ्वीकै जस्तो सहनशील हुनसक्ने खगोलविद्हरुको भनाइ छ ।
रोस १२८ ग्रहलाई पृथ्वीको नजिक रहेको हाम्रो सौर्यप्रणाली बाहिरको जीवनअनुकूल ग्रह मानिएको छ । स्विट्जरल्याण्डको युनिभर्सिटी अफ जेनेभाका को–अथर डा. निकोला अस्तुडिलोका अनुसार उक्त अन्वेषण एचएआरपीएसको दशकौँ लामो अनुसन्धानपछि सफल भएको हो । उक्त अन्वेषण थालेको १५ वर्षपछि यस्तो उपलब्धि हात परेको मानिएको छ । उक्त रातो सानो तारालाई चिसो, चम्किलो र ब्रह्माण्डकै अनुकूल ग्रह मानिएको छ । खगोलविद्हरु अन्य ग्रहमा प्राणी अस्तित्वको खोजीमा जुटिरहेका छन् ।
फ्रान्सको युनिभर्सिटी ग्रेनोबलका अथर डा. जाभियर बोनिफिल्सले एचएआरपीए कार्यक्रमलाई द शर्टकट टु ह्यापिनेस दिएका छन् । यसको काम भनेकै ब्रह्माण्डमा रहेका पृथ्वीजस्तै ग्रहहरु पत्ता लगाउनु हो । उनका अनुसार यस कार्यक्रमले वर्षौँदेखि संकलित डाटा, सिग्नलहरुको विश्लेषण गरी ग्रहहरुको खोजी गर्छ । तर धेरै यस्ता ताराहरु पनि छन् जसले आफ्नो परिक्रमा गर्ने ग्रहहरुलाई अल्ट्राभायलेट किरण र एक्सरे विकीरण प्रवाह गरिदिन्छन् । यस्ता तारा तथा ग्रहहरुको तुलनामा पत्ता लागेको रोस १२८ भने धेरै शान्त र सम्भावित जीवनअनुकूल रहेको डा. बोनफिल्सको भनाइ छ । तर यसका लागि धेरैभन्दा धेरै तथ्यतथ्यांक चाहिने उनले बताए ।
पृथ्वीसँग नजिकिँदै छ
यद्यपि यो ग्रह अहिले ११ प्रकाश वर्ष टाढा छ तर यो पृथ्वीपट्टि नै अगाडि बढिरहेको मानिएको छ । अबको ७९ हजार वर्षमा हाम्रै आँखाले देखिने गरी हाम्रो सौर्यप्रणाली नजिकै आउने खगोलविद्को अनुमान रहेको छ । बोनफिल्सले मेल अनलाइनसँगको कुराकानीमा सबै ताराहरु चल्ने बताउँदै उक्त ग्रह पनि पृथ्वीतिर आइरहेको बताए । हाम्रो कुनै एक जीवनकालमा असम्भव भए पनि हजारौँ वर्षमा आकाशीय परिवर्तन हुने उनको बुझाइ छ ।
एचएआरपीएसबाट प्राप्त डाटाहरुका अनुसार अध्येताको टोलीले उक्त ग्रहले पृथ्वीले सूर्यको परिक्रमा गरेभन्दा २० गुणा छिटो आफ्नो ताराको परिक्रमा गर्ने गर्छ । यसलाई खगोलविद्हरुले गोल्डिलक जोन भनेका छन् । यसको मतलब यो ग्रहसँग पर्याप्त सौर्यताप यो ग्रहले प्राप्त गर्छ जसले न धेरै तातो न धेरै चिसो हुन्छ र यो भनेको जीवनका लागि आवश्यक वातावरण पनि हो । तर यसले पृथ्वीले भन्दा १.३८ गुणा धेरै विकीरण प्राप्त गर्छ ।
परिणामतः ग्रहको सन्तुलित तापक्रम माइनस ६० देखि प्लस २० डिग्री सेल्सियस रहन्छ । उक्त सानो ताराको तापक्रम भने सूर्यको भन्दा आधा हुनसक्ने अनुमान गरिएको छ । यस अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले यसलाई टेम्परेट प्लानेट अर्थात् उपयुक्त ग्रह मानेका छन् । तर अझै के अनिश्चितता छ भने यस ग्रहको कुन भागको सतहमा तरल पानीसहितको उपयुक्त वातावरण छ भन्ने पनि कायमै छ ।
खगोलविद्हरुले अहिले धेरैभन्दा धेरै यस्ता ग्रहहरुको खोजी तीव्र पारेका छन् । यसपछि खगोलविद्हरुको मुख्य अनुसन्धान पत्ता लागेका अनुकूल मानिएका ग्रहहरुको वातावरण, वायुमण्डल, संरचना र रसायनबारे अध्ययनमा केन्द्रित हुनेछ । यदि यस्ता अनुसन्धान जारी रहँदा कुनै ग्रहमा अक्सिजनयुक्त वातावरण पत्ता लागे यो नै ठूलो उपलब्धि हुनेछ । त्यसो त वैज्ञानिकहरुले अबको २० वर्षमा एलियनबारे महत्वपूर्ण जानकारी पत्ता लाग्ने ठोकुवा गरेका छन् ।
एजेन्सी