लेकाली अनलाइन
मंसिर ९, कालीकोट ।
कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् ।
भोलि हुने मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको टोलीलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको हाम्रा स्थानीय संवाददाताले जानकारी दिएका छन् ।
शनिबार राती ९ बजेदेखि सुरु भएको स्थानीय र प्रहरीबीचको दोहोरो भिडन्त अहिले पनि जारी रहेको छ । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्रको सम्पूर्ण बुथ कब्जा गरेका छन् ।
मतदान केन्द्र नै स्थानीयले कब्जा गरेपछि सुरक्षाकर्मीहरु त्यहाँबाट केही तल भागेका छन् भने कुनै पनि हालतमा मतदान गर्न नदिने भन्दै स्थानीयले मुम्रालाई घेरा हालेर बसेका छन् ।
घटनाका बारेमा अहिलेसम्म प्रहरीले केही बताउन चाहेको छैन । थप विवरण आउन बाँकी छ ।