• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

६५ प्रतिशत मत खस्यो, स्थानीय तहभन्दा किन १० प्रतिशत कम भोट खस्यो


लेकाली अनलाइन
मंसिर १०, काठमाण्डौँ ।

निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ६५ प्रतिशत मत खसेको जनाएको छ ।

हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा भएको चुनावमा ६५ प्रतिशत मात्र मत खसेको आयोगले प्रारम्भिक जानकारी दिएको हो । यो स्थानीय तहको चुनावमा भन्दा झण्डै १० प्रतिशत कम हो । सात महिना अघि भएको स्थानीय तहको चुनावमा औसत ७४.७ प्रतिशत मत खसे पनि अहिले भने ६५ प्रतिशत मात्र मत खसेको हो ।   यो स्थानीय तहको भन्दा झण्डै दश प्रतिशत मत हो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत भोट खसकेको छ भने सबैभन्दा दोलखामा ५५ प्रतिशत मत खसेको छ । स्थानीय चुनावमा भन्दा मतदाता थपिए पनि संख्याका हिसाबले पनि मतदान भने कम भएको हो । चिसो मौसम, विप्लव समूहको गतिविधि, दलहरुप्रतिको अविश्वासका कारण मतदानमा सहभागिता कम भएको हो ।

स्थानीय चुनावमा आफ्ना गाउँटोलका छरछिमेकी, आफन्त र नातेदार नै उम्मेदवार हुँदा मतदातामा उत्साह थियो । तर प्रदेश र संघको चुनावमा टाढाका व्यक्ति उम्मेदवार हुँदा पनि मतदाताको संख्या कम भएको हो । मतदानमा सहभागी हुन पहिलेजस्तो नेता कार्यकर्ताले मतदातालाई कर पनि गरेनन् । काम विशेषले काठमाडौं र अरु शहरी भेगमा रहेका धेरै मतदाता गाउँ गएनन् । भोट दिन मन भएको भए काठमाडौंमा सार्वजनिक बिदा नभएपनि धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक लगायत जिल्लाका मतदाता गाउँ जान सक्थे ।

तर अस्ति भर्खरै भोट दिएको त हो, कति भोट दिने भनेर गाउँ जान मन नगर्ने मतदाता पनि भेटिए । भोट दिएर के नै पो हुन्छ र, नेताहरुले केही गर्ने होइनन् भनेर निराशा व्यक्त गर्नेहरु पनि कम छैनन् । दलहरुले अहिलेको चुनावको महत्वबारे मतदातालाई बेलैमा बुझाउन नसक्दा पनि भोट कम खसेको हो ।

अर्कोतर्फ आइतबार मतदान भएको क्षेत्र हिमाली तथा उच्च पहाडी भेग भएकाले पनि कम भोट खसकेको हुनसक्छ । चिसो सुरु भएलगत्तै धेरै बासिन्दा बेंसी झरिसकेका छन् । मतदानकै लागि भनेर फेरि गाउँ फर्कनेको संख्या निकै कम देखियो ।

त्यसो त एकसय वर्ष उमेर पार गरेका बृद्धबृद्धा पनि मतदानमा सहभागी भए । बमको त्रास र चिसोको बावजुद पनि मतदान केन्द्रमा दिनभर घुईंचो लाग्यो । स्थानीय चुनावमा भन्दा कम मतदान भएपनि २१ गते दोस्रो चरणमा हुने मतदानमा बढी भोट खस्ने अनुमान गर्न सकिन्छ । किनकी बाँकी क्षेत्र भौगोलिक हिसाबले सुगम छ । र पहिलो चरणमा देखिएको मतदाताको निराशालाई बुझेर दलहरुले जाँगर बढाउँछन् भन्ने आशा गर्न सकिन्छ ।

आयोग खुशी

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि ३२ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि निर्वाचन आयोगले खुशी व्यक्त गरेको छ । हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएपछि बेलुका आयोग कार्यलय कान्तिपथमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान भएको हो । आइतबार भएको मतदानबाट प्रतिनिधिसभा लागि ३७ जना र प्रदेशका लागि ७४ जना निर्वाचित हुनेछन् । दुवै तहमा गरी पहिलो चरणमा सात सय २ जना उम्मेदवार छन् ।

उज्यालाे अनलाइन 

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार