लेकाली अनलाइन
मंसिर ११, काठमाडौँ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आइतबार सम्पन्न भएपछि सरकारले धमाधम मतपेटिका सदरमुमकामा ल्याइरहेको छ ।
उच्च हिमाली र दुर्गम जिल्लाबाट हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका ओसारिरहेका बेला रुकुमको मतपेटिका रोल्पा पुगेको छ ।
सोमबार दिउँसो रोल्पाको थबाङका दुइटा मतदान केन्द्रको मतपेटिका बोकेर सुनछहरी गाउँपालिकाको गाम मतदान केन्द्रका लागि उडेको हेलिकोप्टर रुकुमको हुकामैकोट पुग्यो ।
थबाङबाट गामको मतपेटिका लिन गएको हेलिकोप्टर पूर्वी रुकुमको हुकामैकोट पुगेर त्यहाँको मतपेटिका पनि लिबाङ लिएर गयो ।
पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले हुकामैकोटको मतपेटिका लिबाङ पुगेको जानकारी दिँदै मौसमको खराबीका कारण यस्तो हुन गएको जानकारी दिएका छन् ।
उनले लिबाङ पुगेको मतपेटिका मंगलबार हेलिकोप्टरबाट पूर्वी रुकुम ल्याउन लागिएको पनि बताए । प्रजिअ सापकोटाका अनुसार रोल्पा पुगेको मत मंगलबार बिहान रुकुम ल्याएपछि त्यही हेलिकोप्टरले गामको मतपेटिका लिबाङ लानेछ ।
भित्री गाम र बाहिरी गामसहितका मतदान केन्द्रको मतपेटिका मंगलबार लिबाङ ल्याएपछि जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका संकलन भइसक्ने छन् ।
जनता समाचार