• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अनुरोध


लेकाली अनलाइन
मंसिर १७, काठमाण्डौँ ।

निर्वाचन आयोगले आगामी २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अनुरोध गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शान्ति सुरक्षाको सुदृढ प्रबन्ध गरिएकाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई अनुरोध गरेका हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले निर्वाचनका लागि आवश्यक सबै खालको सुरक्षा प्रबन्ध मिलाईसकेको स्पष्ट पारे । उनले निर्वाचनका लागि सुरक्षित वातावरण बनाउन सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको उल्लेख गर्दै मतदान सुरक्षित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पालना गर्न, गराउन पनि सरकार र सम्बद्ध सबैलाई पुनः सचेत गराएका छन् । निर्वाचन राष्ट्रको लागि भएकाले कसैले पनि आचासंहिता उलंघन गर्न नहुने स्मरण गराउदै उनले विगतमा भन्दा निर्वाचन आचारसंहिता पालना गर्ने काममा सुधार हुँदै आएको दावी गरे । निर्वाचन आयोगले मौन अवधिको समयमा मतदातालाई प्रभावित तुल्याउने कुनै पनि खालका गतिविधि नहुने विश्वास पनि व्यक्त गर्दै आएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार