• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेस र वाम गठबन्धनकाे अन्तिम रस्साकसी


लेकाली अनलाइन
मंसिर १८, काठमाण्डौँ  ।
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव भइसकेको छ भने दोस्रो चरणको मतदान हुन ३ दिन मात्रै बाँकी छ ।

अब चुनिने नेतृत्वले संघीय शासन प्रणालीअनुसार मुलुकको बागडोर सम्हाल्ने अवसर पाउने भएकाले त्यसका लागि प्रमुख दलहरुको अन्तिम रस्साकसी जारी छ । कांग्रेसले राप्रपालगायत दलहरुसँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएको छ भने एमाले र माओवादीसहितका दलले वामपन्थी गठबन्धन निर्माण गरेका छन् । दुवै गठबन्धन अबको सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरिरहेका छन् ।

मतदानको पूर्वसन्ध्यामा यी दुई प्रमुख प्रतिस्पर्धी गठबन्धनका मुख्य नेताहरु के भन्छन् र चुनावपछिको राजनीतिक बाटो कता जाला भन्ने जान्नका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग कान्तिपुर संवाददाताहरु चित्रांग थापा र डीआर पन्तले धनगढीमा तथा वाम गठबन्धनका प्रमुख नेता एवं एमाले अध्यक्ष केपी ओलीसँग माधव घिमिरे, लीलाबल्लभ घिमिरे र अर्जुन राजवंशीले झापाको दमकमा कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

देउवा : कांग्रेसको बहुमत आउँछ

चुनावी अभियान कस्तो पाउनुभएको छ ?

यस पटकको निर्वाचन जित्ने र हार्नेमात्र नभई लोकतन्त्रको भविष्यसँग गाँसिएकाले महत्त्वपूर्ण छ । सबै साथीहरू आफ्नो–आफ्नो ठाउँमा खटेर लागेका छन् । जनतामा पनि निकै उत्साह पाएको छु । जुन–जुन ठाउँमा म पुगेको छु, जनता उत्साहपूर्वक कार्यक्रममा सहभागी भएका छन् । अरू चुनावभन्दा अलि फरक खाले चुनावी वातावरण बनेको छ ।

कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

जनतामा एकखाले लहर नै आएको छ । म बझाङ जान पाइन, तर बाजुरा, अछाम, दार्चुलाका दुर्गम गाउँहरूमा भएका चुनावी सभामा जनता जसरी ओइरिएर आएका छन्, यसले लोकतन्त्रको भविष्यप्रति जनता सचेत छन् भन्ने लागेको छ । भेटघाटमा पनि मतदाताले जसरी मसँग प्रतिक्रिया व्यक्त गरेका छन्, यसले नेपाली कांग्रेसले संविधान कार्यान्वयनको यो चरणमा उठाएका मुद्दाप्रति राम्रो बुझाइ रहेको छ भन्ने लागेको छ ।

कांग्रेस पार्टीप्रति मतदाताको बुझाइ कस्तो छ ?

म पार्टीको सभापति पनि हुँ, कांग्रेसप्रति मतदाताको उत्साह छ भन्ने महसुस भएको छ । मतदाताले लोकतन्त्रप्रति जसरी चासो व्यक्त गरे, मसँग यसले पनि देशको वर्तमान परिस्थिति र लोकतन्त्रको भविष्यका सवालमा मतदाता नेपाली कांग्रेससँग देखिएका छन् । कांग्रेसका पक्षमा जनलहर जस्तै आएको छ । बाहिर जस्ता प्रचारबाजी गरिए पनि मतदाताको भित्री मानसिकता यसभन्दा पर देखिएको छ । मतदाता कांग्रेसका मुद्दामा सहमत छन् । पहिलो चरणको निर्वाचनमा कांग्रेसको राम्रो भएको छ । पहिलेदेखि नै ती क्षेत्रमा कांग्रेस कमजोर हो, तर यसपटक भने कांग्रेसले ती क्षेत्रहरूमध्ये अधिकांशमा निर्वाचन जितेको छ ।

वाम गठबन्धनप्रति तपाईंको बुझाइ के हो ?

चुनाव नहुँदै उनीहरूले धम्की दिन थालेका छन्, चुनाव जितेपछि के गर्लान्, सहजै अनुमान गर्न सकिन्छ । जनतालाई तर्साउन थालेका छन् । ठाउँ–ठाउँमा धम्कीको भाषा प्रयोग गरिरहेका छन् । निर्वाचन नहुँदै यस्ता अशोभनीय र अलोकतान्त्रिक गतिविधि गरिरहेका छन् । प्रत्यक्ष राष्ट्रपतिको कुरा गरेर देशलाई विस्तारै तानाशाहीतिर लैजान खोज्ने प्रयत्न उनीहरू गरिरहेका छन् । यो समावेशी संविधान हो, महिला, जनजाति, अल्पसंख्यक, आदिवासी, लोपोन्मुख जातजाति सबैका हक र अधिकारको संरक्षण यो संविधानले गरेको छ । यो संविधानको मूलभूत चरित्र समावेशी र लोकतान्त्रिक हो । तर वाम गठबन्धन गतिविधि निर्वाचनअघि नै एकदलीय पद्धतिमा जाने खाले छन् ।

वाम गठबन्धनले कांग्रेसलाई कमजोर बनाउने हल्ला सही हो ? वामदेखि कांग्रेस आत्तिएको हो ?

पहिलो कुरा त, कांग्रेसको बहुमत आउनेवाला छ । कांग्रेस नै ठूलो पार्टी बन्छ । जनताले त्यो गठबन्धनको कुरा बुझेका छन् । गठबन्धनका कारण लोकतन्त्रलाई नै खतरा हुने स्थिति छ भन्ने कुरा आम मतदाताले पनि बुझेका छन् ।

तसर्थ कांग्रेसलाई कमजोर बनाउने हल्ला सपनामात्र हो । वामवालाहरू आत्तिएका छन् । गठबन्धनले के–के न होला ठानेका थिए, तर जनताको लहर लोकतन्त्रप्रति देखेपछि अहिले अनावश्यक रूपमा छुद्र र असभ्य भाषामा राजनीतिक संस्कार बाहिर गएर बोलिरहेका छन् । यो उनीहरूको कमजोर मानसिकता हो । कांग्रेस त विगतभन्दा झन् बलियो र एकढिक्का भएर अगाडि बढेको छ ।

कांग्रेसले अरू दलसँग बलियो गठबन्धन किन बनाउन सकेन ? मधेसी दलसँग चुनावी तालमेल किन भएन ?

धेरै ठाउँमा मिलेका छौं, चुनावी तालमेल भएको छ । मधेसी दलसँग पनि विभिन्न ठाउँमा तालमेल भएको छ । राप्रपा लगायतका साना पार्टीसँग पनि बिभिन्न ठाउँमा देशव्यापी रूपमा तालमेल भएको छ । लोकतन्त्रवादीहरू सबैसँग विभिन्न किसिमले तालमेल भएका छन् । मधेसी दलसँग पहिले तालमेल नभए पनि उम्मेदवारी दिँदा र दिएपछि धेरै ठाउँमा तालमेल भएको छ ।

माओवादी त अहिले पनि सरकारमा छ, कांग्रेस र माओवादीबीच अहिले कस्तो सम्बन्ध छ ?

सम्बन्ध त राजनीतिमा हुन्छ । राजनीतिक सम्बन्धका कुरा आवश्यकताले पनि निर्धारण गर्छ । त्यस्तो तिक्तता केही पनि छैन । उहाँहरूले एमालेसँग तालमेल गर्नुभयो । त्यसपछि हामीसँग तालमेल हुने कुरा भएन । यो चुनावको बीचमा कुराकानी भएको छैन । सरकारमा सँगै थियौं । उहाँहरूले एमालेसँग गठबन्धन गर्नुभयो । यतिबेला चुनावी अभियानमा सबै दल प्रचार–प्रसारमा व्यस्त छौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीसँग राजनीति सम्बन्धी खासै कुराकानी भा’छैन ।

प्रसंग बदलौं, सरकारले निर्वाचनमा पर्याप्त सुरक्षा दिन नसकेको हो ?

केही चुनाव भाँड्न चाहने तत्त्व छन् । तर चुनावमा प्रशस्त सुरक्षा दिइएको छ । चुनाव बिथोल्न चाहने धेरै मान्छे पक्राउ परेका छन् । चुनावमा कुनै समस्या आउँदैन । केपी ओलीजीले त भोट हालिसकेर पनि चुनाव सार्दैछ भन्ने आरोप लगाएका होइनन् र ? तर चुनाव त भयो नि । निश्चिन्त भए हुन्छ, चुनावमा कुनै गडबडी हुनसक्दैन । हुन दिइने छैन ।

प्रधानमन्त्रीज्यूले गृहमन्त्री नियुक्त नगर्दा समस्या आए जस्तो लाग्दैन ?

होइन, कुनै समस्या छैन । म आफैंले गृह मन्त्रालय हेरिरहेको छु । आचारसंहिताको पनि कुरा आयो । भित्रैबाट गर्नुपर्ने, त्यसमा पनि समस्या देखिने । त्यसैले म आफैंले हेरिरहेको छु । मन्त्री नियुक्त नगर्दा कुनै समस्या भएको छैन । सुरक्षाको भरपुर व्यवस्था गरिएको छ । मन्त्री नियुक्त गर्दा आचारसंहिताको पनि ख्याल गर्नुपर्ने हुन्छ । सुरक्षा व्यवस्था कायम गर्ने कुरामा गृह मन्त्रालयले सबै सुरक्षा निकायको प्रभावकारी तालमेल कायम गरी काम गरिरहेको छ । म आफैंले पनि गृहका उच्च अधिकारीहरूबाट सुरक्षा व्यवस्थाबारे नियमित जानकारी लिने काम गरिरहेको छु ।

थुप्रै ठाउँमा आक्रमणहरू भइरहेका छन्, बम पड्केका छन्, उदयपुरमा कांग्रेसका उम्मेदवार घाइते नै भए, सुरक्षा प्रबन्धमा कमजोरी नै नभएको हो र ?

यी सबै घटना लुकिछिपी भएका छन् । तर पनि सुरक्षा निकायले पक्राउ गरेको छ, धेरैलाई । मुद्दा लगाएको छ । सबै ठाउँमा सुरक्षा स्थितिलाई अझ बढी सुदृढ गरिएको छ । आम मतदाता, उम्मेदवार, निर्वाचन केन्द्र र चुनाव प्रचार–प्रसारका क्रममा हुनसक्ने सुरक्षा ‘थ्रेट’ र बम विस्फोटनजस्ता घटनालाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर पनि निर्वाचन बिथोल्न चाहने केही तत्त्वले लुकिछिपी केही घटना गराएका छन् । सरकार यस प्रकारका घटना हुन नदिन बलियो सुरक्षा रणनीति अन्तर्गत गम्भीरतापूर्वक लागिपरेको छ ।

दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कस्तो छ ?

सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । नेपाली सेनासहित परिचालन गरिएको छ । सुरक्षा संयन्त्रलाई पहिलो चरणमा देखिएका कमी–कमजोरीलाई सुधार गरी परिचालन गरिएको छ । सुरक्षाका कारण निर्वाचनमा कुनै खाले कमजोरी हुन नदिन सुरक्षा निकायहरू सचेत छन् । हरेक बुथ र उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिइएको छ । देशब्यापी रूपमा उच्च सुरक्षा सतर्कता बढेको छ ।

सुरक्षा निकायबीच समन्वय कसरी मिलाइएको छ ?

सुरक्षा निकायबीच समन्वय राम्रो भएको छ । सूचना संयन्त्र बलियो बनाइएको छ । सबै निकायले एकआपसमा राम्रो तालमेल गरेर सुरक्षा व्यवस्था सुदृढ गरिरहेका छन् । चुनावी सुरक्षामा कुनै कसर बाँकी राखिँदैन । ढुक्क भएर निर्वाचन गतिविधिमा संलग्न भए हुन्छ । सरकार चुनावमा संलग्न सबै पक्षलाई निर्धक्कका साथ दोस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन कुनै कसर बाँकी राख्ने छैन ।

बम पड्काउने विरुद्ध खासै कारबाही भएको पाइँदैन, सरकार किन नरम भएको ?

किन भएको छैन, कारबाही ? धेरै मान्छे पक्राउ परेका छन् । धेरै माथि त मुद्दा नै चलाइएको छ । सुरक्षाका विषयमा कुनै खाले सम्झौता हुनसक्दैन ।

सरकारको शक्ति प्रयोग गरेर कांग्रेसले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्‍यो भन्ने एमालेको आरोप छ नि ?

यो एकदम गलत आरोप हो । कुन ठाउँमा आचारसंहिता उल्लंघन भयो, ठोस प्रमाणसहित भन्नुपर्‍यो नि । केही प्रशासनिक तथा सुरक्षा अधिकारीको सरुवाको विषयलाई लिएर कसैले आचारसंहिता उल्लंघन गर्‍यो भन्छ भने त्यसमा सरकार चुप लाग्दैन । जे–जति सुरक्षा र प्रशासनिक निकायका कर्मचारीको सरुवाका निर्णय भएका छन्, ती सबै सम्बन्धित ठाउँको सुरक्षा व्यवस्थालाई मध्यनजर गरेरै भएका हुन् । त्यस्तो आचारसंहिता नै उल्लंघन हुनेगरी व्यापक रूपमा भएको छैन । सुरक्षा जस्तो संवेदनशील विषयमा सरकारले निर्वाचन आयोगको सहमतिमा काम गरेको छ । यो सरकारको दायित्व पनि हो । यसले निर्वाचन सुरक्षा प्रभावकारी हुन्छ ।

निर्वाचनमा धाँधली भएको संकेत पाउनुभएको छ ?

धेरै ठाउँमा वाम गठबन्धनले बुथ कब्जा गरेका छन् । बाजुरामा मतदाताभन्दा बढी मत पनि खसेका छन् । ६–७ ठाउँमा बुथ नै कब्जा गरेका छन् । विदेशमा भएका जिल्ला बाहिर रहेका सबै मतदाताको मत खसालिएको रिपोर्ट आएको छ । यो विषयमा मुद्दा पनि परेका छन् । एउटै मतदाताले धेरै भोट हालेको कुरा त मिडियामा पनि आएको छ । अर्काको मताधिकार खोस्ने कसैलाई अधिकार हुँदैन । यस सम्बन्धमा निर्वाचन आयोगले पनि आफ्नो तहबाट अनुगमन गरेकै हुनुपर्छ । निर्वाचन आयोग र सुरक्षा निकाय तथा राजनीतिक दलका नेता–कार्यकर्ताले समेत निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गर्नुपर्छ । बुथ कब्जा गर्ने, मृत्यु भइसकेको, विदेशमा रहेको, बसाइँ सरी अन्यत्र गएका मतदाताको फर्जी मत हाल्ने काम कुनै पनि बहानामा क्षम्य हुनसक्तैन । यस्ता गतिविधि हुन नदिन निर्वाचन आयोगलाई आवश्यक सहयोग गर्न सरकारका तर्फबाट कुनै प्रकारको कमी हुनदिइने छैन ।

तपाईंको निर्वाचन क्षेत्रमा कस्तो प्रतिस्पर्धा भइरहेको छ ?

डँडेलधुरा जनमत संग्रहमा पञ्चायतको जमानत जफ्त गर्ने जिल्ला हो । हामी लोकतन्त्रवादी बुथ कब्जा गर्ने, जनताका मत दिने प्रक्रिया अवरुद्ध गरेर प्रभावित गर्नेमा विश्वास गर्दैनौं । जनमतको सम्मान नै लोकतन्त्रवादीको पहिलो राजनीतिक सर्त हो । तर विपक्षीहरूले केही ठाउँमा बुथ कब्जा गर्नसक्ने सम्भावनाका कुरा पनि आएका छन् । त्यसो हुन नदिन सबै सचेत छन् । मेरो निर्वाचन क्षेत्रमा सहज रूपमा चुनावी अभियान सञ्चालनमा छ । कार्यकर्ताहरू लागेका छन् । विगतभन्दा पनि राम्रो मतले म निर्वाचित हुन्छु । दुवै प्रदेशसभा र प्रतिनिधिसभामा सहज रूपमा निर्वाचन जित्ने स्थिति छ ।

चुनावी प्रचार–प्रसारको शैली र गतिविधिलाई कसरी हेर्नुभएको छ ?

यो चुनाव धेरै महत्त्वपूर्ण रहेको छ । सबै दलका नेता–कार्यकर्ता आफ्नो दलका उम्मेदवारलाई जिताउन खटिरहनुभएको छ । म एक्लै भनौं, प्रचार–प्रसारको अन्तिम चरणमा ७ नम्बर प्रदेशका गाउँ–गर्खासम्म हेलिकप्टरबाटै पुगिरहेको छु । केही ठाउँमा हामीले पार्टीका शीर्ष नेताहरूसँगै चुनावी सभामा पुगेर भोट माग्यौं । उहाँहरू आफ्नो निर्वाचन क्षेत्रसँगै आसपासका जिल्लामा हुनुहुन्छ । म पूर्वको पाँचथर ताप्लेजुङदेखि सुदूरको दार्चुला, बैतडीसम्म पुगेंँ । निर्वाचनप्रति जताततै जनताको ठूलो उत्साह देखेंँ । कांग्रेसको पक्षमा लहर नै देखेंँ ।

एउटा कुरा यहाँ भन्नैपर्ने हुन्छ । मैले हालसम्मका कुनै चुनावमा पनि अरूलाई आक्षेप लगाउने, छुचो भाषा प्रयोग गर्ने र झुठो कुरा कहिल्यै गरिन । तर केही प्रतिस्पर्धी दलका ठूला नेताहरूले अत्यन्त अमर्यादित भाषामा चुनावी अभियान चलाइरहेका छन् । सबै थोक आफैंले गरेको दाबी गरिरहेका छन् । धाक–धम्कीका कुरा गर्छन् । लोकतन्त्रमा सबैको समान अधिकार हुन्छ । जनताले यो कुरा बुझ्न थालेका छन् । जुन कुरा उनीहरू बोलिरहेका छन्– संविधान संशोधनको कुरा, ५० वर्ष शासन गर्ने कुरा कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा हुन् भन्नेजस्ता कुरा जनताले बुझिसकेका छन् । मतदाताहरू यस्तो खाले प्रचार–प्रसार गर्ने दलहरू त झनै खतरनाक हुने बताउन थालेका छन् ।

डँडेलधुरामा तपाईं, कैलालीमा आरजु देउवा कस्तो लागेको छ ? केही समयपछि तपाईंका छोरा पनि राजनीतिमा आउने होलान् ?

मैले आरजु देउवालाई टिकट दिएको होइन । देशका धेरै निर्वाचन क्षेत्रबाट उनलाई निर्वाचन लडाउन कार्यकर्ताले माग गरेका हुन् । उनले कैलाली–५ मा लड्ने इच्छा राखिन् । कैलालीबाट समेत उनलाई चुनाव लड्न माग गरिएको हो । उनको आफ्नो राजनीतिक छवि छ, आफ्नो किसिमले राजनीति गरिरहेकी छन् । यसमा मेरो कुनै भूमिका छैन । गाउँ स्तर, नगर स्तर, जिल्ला स्तरबाट सिफारिस हुँदै कार्यकर्ताको माग बमोजिम उनले टिकट पाएकी हुन् । दुई/दुईपटक उनी समानुपातिकबाट सांसद भएकी हुन् । उनी लगातार कांग्रेसको महाधिवेशन, महासमिति प्रतिनिधिमा निर्वाचित हुँदै आएकी छन् । निर्वाचन लड्ने उनको आफ्नो व्यक्तिगत राजनीतिक जीवनको कुरा हो । अब रह्यो, छोराको कुरा, ऊ पढ्दैछ । उसलाई राजनीतिमा अहिल्यै कुनै ‘इन्ट्रेष्ट’ छ जस्तो मलाई लाग्दैन । श्रीमती चुनाव लड्न लागिन् भनेर चर्चा गर्नुपर्ने कुनै प्रमुख विषय हो जस्तो मैले ठानेको छैन । हाम्रो संविधानमा महिलाहरू, दलित, मुस्लिम, आदिवासी लगायत सीमान्तकृत नागरिकलाई आरक्षणको व्यवस्था गरिएको छ । हामीले हाम्रो संविधानको समावेशी भावना अनुसार संविधान कार्यान्वयन गर्दै जानुपर्छ ।

यो निर्वाचनमा कांग्रेसको परिणाम कस्तो आउला ?

नेपाली कांग्रेस देशको सबभन्दा ठूलो पार्टी हुनेमा म ढुक्क छु । सकभर कांग्रेसको बहुमत आउँछ भन्ने लागेको छ । किनभने यो लडाइँ लोकतन्त्रवादी र वामपन्थी बीचको विचारको लडाइँमा परिणत भएको छ । वामपन्थीहरूले निर्वाचन जिते भने के होला भन्ने त्रास अहिलेबाटै जनतामा फैलिएको छ । निर्वाचन जितेपछि ५० औं वर्ष शासन गर्छौं भनेर उनीहरूले अधिनायकवादको संकेत दिएका छन् । लोकतन्त्रका लागि ७ दशकसम्म लडेका जनताले सूक्ष्म रूपमा कुरा बुझिरहेका

छन् । लोकतन्त्रको विकल्प खोज्ने तत्त्व पराजित हुन्छन्, जनताले पराजित गर्छन् । अधिनायकवादको सपना नदेखे हुन्छ, कसैले । बहुमत आउन नसके पनि ठूलो पार्टी कांग्रेस बन्नेमा म ढुक्क छु । राप्रपा, मधेसी दल सबै लोकतन्त्र चाहने शक्तिहरू एकठाउँमा आउँदा निर्वाचनपछिको सरकार पनि कांग्रेसको नेतृत्वमा हुन्छ ।

कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था आउन सक्छ भन्ने लाग्दैन ?

त्यो अवस्था आउँदैन । मैले अघि पनि भनेंँ– यो चुनाव सामान्य चुनाव होइन । यो भोलि नेपालको राजनीतिक व्यवस्था कस्तो हुने ? जनताले बनाएको संविधान नमान्नेहरू र जनताले बनाएको संविधान मान्ने बीचको लडाइँ पनि हो । कांग्रेस जनताले बनाएको संविधानमा विश्वास गर्छ । जनताको मतलाई आदेश मानेर हिंँड्ने कांग्रेस र जनताको लोकतन्त्रप्रतिको विश्वासप्रति कुठाराघात गरेर ५० औं वर्ष अधिनायकवादी शासन व्यवस्था चलाउने मनसाय बोकेका पक्ष बीचको यो संघर्षमा जनता कांग्रेसको साथमा छन् । सबैले ढुक्क भएर मतदान गरे हुन्छ । राणासँग, राजासँग, पञ्चायतसँग र अराजकतासँग लडेर स्थापित भएको लोकतन्त्र कसैले मास्न सक्दैन । कांग्रेस लोकतन्त्रको पहरेदारका रूपमा मजबुत स्थितिमा उभिएको छ । प्रतिपक्षमा बस्ने स्थिति आउँदैन । लोकतन्त्रको संस्थागत विकास र समृद्धिको नयाँ अभियान पनि कांग्रेसको नेतृत्वमा सम्पन्न हुन्छ ।

तपाईं शीर्षनेताहरू प्रचण्ड, केपी ओली, रामचन्द्र पौडेल, कृष्ण सिटौला, झलनाथ खनाल, माधव नेपाललाई जिताउन सहमति भएको हो ? कुरा त्यस्तै छ ।

यस्तो कुनै सहमति भएको छैन । यो निर्वाचन हो, निर्वाचनमा यसरी सहमति हुनसक्दैन । शीर्ष नेताहरू संसद्मा आउन् भन्ने कुरामा पनि जनताले फैसला गर्ने हो । अमूक–अमूक नेता मिलेर चुनाव जित्ने अनि अरू साथी कहाँ जाने ? लोकतन्त्रमा यस्तो हुनसक्दैन । जनताले जसलाई मत दिन्छन्, उसले जित्ने हो । कोही ठूला र सानो भन्ने कुरा हुनसक्दैन । जनमतको सबैले कदर गर्नुपर्छ । लोकतन्त्र पनि यही हो । लोकतन्त्रमा यस्तो मिलेमतो हुँदैन । त्यसो हो भने किन चुनाव गराउनुपर्‍यो ? ठूला नेता सबैलाई निर्विरोध गरिदिए भइगयो नि । जनतामा जाने हो । जनताको ‘म्यान्डेट’ लिएर आउनुपर्छ ।

तपाईंले संविधान कार्यान्वयन हुने निर्वाचन सम्पन्न गर्दै हुनुहुन्छ, कस्तो महसुस भएको छ ?

राजनीतिक जीवनमा धेरै खुसीका क्षण आए होलान् । तर यो ऐतिहासिक जिम्मेवारी मेरो नेतृत्वमा भइरहेको छ, जसबाट म पूर्णरूपमा सन्तुष्ट छु । ऐतिहासिक स्थानीय निर्वाचन भयो । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भयो । अब दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि लोकतन्त्रको जग मजबुत हुन्छ । देशले स्थिर राजनीतिक व्यवस्था पाउँछ, जसले गर्दा अब देश समृद्धिको दिशातिर उन्मुख हुन्छ । कांग्रेसको नेतृत्वमा संविधान बन्यो र संविधान जारी भयो, यसको संस्थागत विकास पनि कांग्रेसको नेतृत्वमा भइरहेको छ । कांग्रेस सभापतिका नाताले मेरो नेतृत्वमा संविधान कार्यान्वयनको चरण पूरा भइरहेको छ, यसमा खुसी नहुने कुरै भएन । अझै सबै थोक पूरा भइसकेको भने होइन । कांग्रेसले आर्थिक समृद्धिका कुरा उठाएको छ ।

अब हामी संघीय संरचनामा गएका छौं । सबै क्षेत्रमा आफ्नै किसिमका अवसर र चुनौती छन् । सम्भावना छन् । सबै अवसर र सम्भावनालाई योजनाबद्ध रूपमा अगाडि बढाएर मुलुकलाई

आर्थिक समृद्धिको मार्ग अगाडि बढाउनु आवश्यक छ । कांग्रेसका भावी कार्यक्रमहरू यही दिशातिर लक्षित हुनेछन् ।

केपी ओली :
‘दुई तिहाइकै आसपास पुग्छौं’

चुनावी अभियान कसरी चल्दैछ ?

चुनावी अभियान राम्रोसँग चलिरहेको छ । परिस्थिति ठीक छ । दैनिक रूपमा विभिन्न निर्वाचन क्षेत्रमा गइरहेको छु । म आफ्नो निर्वाचन क्षेत्रमा त्यति केन्द्रित हुनपाएको छैन । यहाँ त्यति केन्द्रित हुनुपर्ने जस्तो पनि लाग्दैन । त्यति आवश्यक छ जस्तो पनि लाग्दैन । त्यही भएर अन्य क्षेत्रतिर घुमेर कार्यक्रम गरिरहेको छु । देशका विभिन्न भागमा हिँडिरहेको छु । प्रतिक्रिया राम्रै पाएको छु । एमालेको पक्षमा जनलहर छ । जनतामा एमालेप्रति आकर्षण, विश्वास, आशा र भरोसा छ ।

उम्मेदवारी घोषणा गरेपछि झन्डै ४० ठूला आमसभालाई सम्बोधन गर्नुभयो, यति धेरै दौडधुप किन गरिरहनुभएको छ ?

एमालेका विरुद्ध, सत्यका विरुद्ध, अग्रगामी परिवर्तनका विरुद्ध, राष्ट्रिय हित, लोकतन्त्र र समृद्धि, एकता र स्थिरताका विरुद्ध विभिन्न प्रकारले भ्रम छर्ने तत्त्वहरू सक्रिय छन् । उनीहरूले नचाहिने ढंगले भ्रम पारिरहेका छन् । तसर्थ त्यसबाट जनतालाई मुक्त गर्न, आश्वस्त पार्न विभिन्न स्थानमा जानु, जनतालाई भन्नु र हाम्रा उद्देश्य बताउन जरुरी छ । त्यसैले हिँडिरहेको छु ।

देशभरको माहोल कस्तो पाउनुभयो त ?

यो नयाँ संरचना निर्माण गर्ने निर्वाचन हो, यसले सार्वभौमसत्ता सम्पन्न जनताका सार्वभौम अधिकार, राजनीतिक, मौलिक हक र स्वतन्त्रताका हकको जनताले प्रयोग गर्नेबारे व्यवस्था गरेको छ । जनताको अधिकारको बढीभन्दा बढी प्रयोग गर्न नीति निर्माण र शासनमा जनताको सहभागिताको यथोचित अभिवृद्धि गर्न आवश्यक छ । यो निर्वाचनबाट राजनीतिक र प्रशासनिक सबै हिसाबले संरचनागत परिवर्तनका साथ अघि बढ्न खोजिएको छ । यो एउटा नयाँ अभ्यास हो भन्ने जनताले बुझेको पाएको छु ।

वामपन्थी गठबन्धनको मत माग्ने मुख्य आधार के हो ?

२००७ सालदेखि ६७/६८ वर्षसम्म देशमा कहिल्यै पाँच वर्ष सरकार टिकेन । कुनै सरकारले चार वर्ष देख्न पाएन । त्यसभन्दा छोटो अवधिमै हेरफेर भइरहने, अस्थिरता ल्याएर त्यो अस्थिरतामा खेलिरहने कामहरू भइरहे । त्यसकारण देशले सुस्पष्ट नीति, विचार र त्यसको कार्यान्वयन गर्न सकेन । प्रगतिशील, जनपक्षीय र देशभक्त शक्तिलाई पहिले अनेक प्रकारले कमजोर बनाइयो, विभाजित गरियो । त्यसबाट जनविरोधी शक्तिहरूले खेल्ने र अस्थिरता कायम गर्ने, अनि आफ्नो दुनो सोझ्याउने मौका पाए । त्यसकारण अब हामी त्यो अवसर दिन चाहँदैनौं । अब हामीसँग आन्दोलनको अनुभव भएको, वैचारिक हिसाबले संश्लेषण गर्न सक्ने, विचारहरूबाट निष्कर्ष निकाल्न सक्ने, देशको परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति बुझ्ने, इतिहास र अनुभव भएको, संघर्ष र संगठनका अनुभव भएको, सरकार सञ्चालन जस्ता सबै अनुभव भएको पार्टी र नेतृत्व पनि छ । ती अनुभवहरूले सही निष्कर्ष निकालिएको सुस्पष्ट, नीतिगत स्पष्ट र मार्गचित्र छ । त्यसलाई कार्यान्वयन गर्न सशक्त देशव्यापी संगठन छ । त्यस संगठनप्रति व्यापक जनताको आशा, भरोसा, विश्वास छ । हाम्रा नीतिहरू, व्यवहारहरू र कामहरूले गर्दा आपसी विश्वास बनेको छ ।

त्यसकारण अब आधार तयार भएको छ । अब पनि विभाजित हुनु, फुटमा जानु र जनताका अपेक्षाप्रति बेवास्ता गर्नु वाञ्छनीय हुँदैन । त्यसकारण स्थिरता, स्थायित्वका लागि सही दिशामा देशलाई सुदृढ ढंगले अगाडि बढाउन विचार मिल्नेहरूका बीचमा एकता गर्नुपरेको हो । खास गरेर प्रगतिशील शक्तिबीच एकता गरेर अगाडि बढ्नु जरुरी थियो । त्यसैले हामीले पार्टी एकता गर्ने भन्यौं । चुनाव आइहाल्यो, भ्याइएन । हाल चुनावी तालमेलका साथ अगाडि बढ्ने काम गरेका छौं । चुनावपछि पार्टी एकता हुन्छ ।

एमाले र माओवादी कमजोर भएका कारण मिल्न खोजेको टिप्पणीबारे के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । सधैं सोचाइको ढाँचा एकै हुन्छ भन्ने हुँदैन । छुट्टै पार्टी रहँदा आशा वा निराशाको कुरो हुन्छ । एउटै पार्टी हुने भएपछि त आशा–निराशाको प्रश्नै भएन । माओवादीमा असाधारण परिवर्तन आएको छ । माओवादी एक समय अतिवादी विश्लेषण, मनोगत विश्लेषण यस्तैमा रुमल्लियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा रुमल्लियो । त्यसकारण गलत निष्कर्षहरू निकाल्यो, गलत नीतिहरू तय गर्‍यो, गलत व्यवहारका साथ अभ्यासमा उत्रियो । तर त्यस अभ्यासबाट अहिले शान्तिपूर्ण बाटो र लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण रूपमा आइसक्यो । नेकपा एमालेसँगको सहकार्य, अझ पार्टी एकता गर्ने भनेर धेरै कुराहरूलाई कबुल गरेपछि मात्रै पार्टी एकता हुन्छ नि । त्यो त कबुल गरिसक्यो माओवादीले । कांग्रेसले हिजो माओवादीसँग मिलेर स्थानीय तहको चुनाव लड्यो, तालमेल गर्‍यो । आज माओवादीले एमालेसँग तालमेल गर्दा अबचाहिँ लोकतन्त्रै खतरामा पर्‍यो भनेर रुवाबासी मच्चाउनुपर्ने ? यो उपयुक्त होइन । र त्यसमा कुनै सत्यता पनि छैन । त्यो खालि कांग्रेसको हतासाको अभिव्यक्ति मात्रै हो । कांग्रेसले यति हतास देखिन्छ, अचम्म लाग्छ । अरू सबै कुरा बिस्र्यो उसले । छटपटी, हतासा र निराशा मात्रै छ । अब आफ्ना कुराहरू केही पनि छैनन् । मैले धेरै ठाउँमा भन्ने गरेको छु, तपाईहरूका आफ्नाचाहिंँ कुरा के छन्, बताउनुहोस् न भनेंँ । तर उहाँहरूले त्यो बताउन सक्नुभएन । हुँदाहुँदा अस्तिको दिन वीरगन्ज पुगेपछि शेरबहादुरजीले भन्नुभयो– हामी पनि त विकास गर्छौं नि । उहाँले अस्तिका दिन सम्झनुभयो । कसैले चिटमा लेखेर दिएको थियो, उहाँलाई । ‘हामी पनि उद्योग स्थापना गर्छौं नि भनेर भन्नुस् न’ भनेर लेखेर कसैले दिएको थियो । अनि उहाँले त्यसै भन्नुभयो । एकछिन कसैले लेखेर दिएको कुरा पढ्नु बेग्लै कुरा हो, देश बनाउने कुनै सोच कतै उहाँहरूसँग छैन ।

एकीकरणपछि पार्टीको स्वरूप एमाले वा माओवादी कस्तो हुन्छ ?

माओवादीका हिजोका नीतिमा माओवादी नै छैन । उसका नीतिगत र व्यावहारिक केही अस्पष्टता थिए । ती कुरा छाडेर नै अब एमालेका परिपक्व नीतिहरू जुन छन्, ती नीतिहरूमा सहमत हुने कुरा हो । हामी अलिकति अन्योल पनि मिसाऊँ, अलिकति अस्पष्टता पनि मिसाऊँ भन्ने होइन । स्पष्टतामा जाने हो । नीतिगत हिसाबले भन्ने हो भने एमालेको नीति व्यवहारमा जान्छ कि माओवादीको ? स्पष्ट भए हुन्छ, एमालेको नीति व्यवहारमा जान्छ, यसैमा स्पष्टता छ ।

कुनै बेला माओवादीको कट्टर आलोचक हुनुहुन्थ्यो, अहिले उसैसँग मिल्नुभएको छ । यसको सैद्धान्तिक आधार के हो ?

माओवादीलाई वैधानिकता त नेपाली कांग्रेसले, हामी सबैले शान्ति प्रक्रियामा आएर दिएको होइन र ? अनि समय–समयमा युद्धविराम गर्दै, शान्ति वार्ता गर्दै आएको होइन ? विस्तृत शान्ति सम्झौता गरेको होइन ? अनि सिक्लेसबाट हेलिकप्टरमा ल्याएर तत्कालीन गृहमन्त्रीले सवारीमन्त्री भएर बालुवाटारसम्म सवारी चलाएको होइन र ? त्यसपछि नेपाली जनताले भोटै हालेर प्रमुख पार्टी बनाएर सरकारको नेतृत्व गरेको होइन र ? पहिले अलिकति अनुभव भएन प्रचण्डजीलाई, अब अनुभवसाथ चलाउनुहोस्, केपी ओली प्रधानमन्त्री हुनुहुँदैन, यो देश चलाउनका लागि प्रचण्ड चाहिन्छ भनेर नेपाली कांग्रेसले पोहोरको साल भनेको होइन ? केपी ओलीबाट हुँदैन, प्रचण्डजी नै हुनुपर्छ भनेर केपी ओलीमाथि अविश्वास राखेर प्रचण्डजस्तो सही मान्छे, क्षमतावान मान्छे चाहिन्छ भनेर कांग्रेसले भनेको होइन ? यो त मौखिक होइन होला नि त । यो त लिखित, संसद्मा प्रस्ताव राखेर बहुमतले कांग्रेसले छानेको होइन र ? पोहोर साल त्यसो भन्ने अनि अहिले आएर अन्यथा कुरा गर्नु अलि स्मरणशक्तिमा न्यूनता देखिँंदैन ? त्यसकारण मलाई के लाग्छ भने अब पुराना कुरातिर अल्झने होइन, हामी नयाँ बाटोतिर अगाडि लाग्नुपर्छ । नयाँ दिशा समाउनुपर्छ । भविष्यतर्फ उन्मुख हुनुपर्छ । जतिबेला माओवादीले उग्रवामपन्थी गल्ती गथ्र्यो, त्यतिबेला आलोचना गर्न डराउँथे । त्यतिबेला उनीहरूको हातमा पिस्तोल थियो, अनि बोल्न डराउँथे । म मात्रै एउटा अलिक मूर्ख थिएँ, जो बोल्थेंँ । माओवादीको हातबाट पिस्तोल हटाइसकेपछि अरू बोल्न थाले । सक्छस् भने हान् भनेर छाती तान्न थाले । मैले भनेंँ– पिस्तोल हातबाट हटाएपछि अब छाती देखाएर सक्छस् भने हान् भन्नुको के अर्थ छ र ? हिजो त बोल्नसकेका थिएनन् । मलाई यो मौकापरस्त ढंगका शैलीहरू, तरिकाहरू, भाषाहरू र अभिव्यक्तिहरूमा त्यति रुचि छैन । जतिबेला उनीहरूलाई हतियार छोडाउनु थियो, त्यतिबेला मैले छोडाउने कुरा गरेंँ । गलत हो भनेर भनेंँ । जतिबेर छाडे, छोड्नु राम्रो भो भनेंँ । जहाँनेर गल्ती छ, गल्ती गरेको छ भनेंँँ । र जहाँनेर ठिक गरेको छ, म ठिक गरेको छ भन्छु । माओवादीले अब ठिक बाटो समातेको छ । ठिक बाटो समातेकै हुनाले हामी अब एकताबद्ध भएर अगाडि बढ्दैछौं ।

एमाले र माओवादीको गठबन्धन कहिलेसम्मका लागि हो ?

गठबन्धन त अब थोरै समयका लागि हो । चुनावसम्मका लागि हो । त्यसपछि त पार्टी एकता हुने हो ।

उम्मेदवार दर्तामा ६० र ४० प्रतिशतको भागबन्डा गर्नुभएको छ, त्यसै अनुसार परिणाम आएन भने तपाईहरूको गठबन्धन र एकता प्रक्रिया नै धरापमा पर्छ कि पर्दैन ?

नेकपा एमालेले जे काम गर्छ, इमानदारीका साथ गर्छ । जे बोल्छ, त्यो गर्छ । ६०/४० का हिसाबले हामीले उम्मेदवार उठाएका हौं, त्यसमा ६० प्रतिशत र ४० प्रतिशतको साथ–सहयोग गर्ने होइन । हिस्साचाहिंँ हामीले ६० र ४० गर्‍यौं । साथ–सहयोग र समर्थनचाहिंँ शतप्रतिशत हुन्छ । त्यसकारण यसलाई प्राविधिक हिसाबले ६० र ४० भनेर बुझ्नु हुँदैन । ४० प्रतिशत लिनेले ४० प्रतिशत सहयोग र ६० प्रतिशत लिनेले ६० प्रतिशत सहयोग भन्ने हुँदैन ।

कांग्रेस लगायत दलले सत्तामा जाने प्रयोजनका लागि एमाले–माओवादीले अवसरवादी गठबन्धन बनाएको टिप्पणी गरेका छन् नि ?

उहाँहरूले गौदानका लागि एउटा बनाउनुभएको छ– दक्षिणपन्थी गठबन्धन । सरकारमा जान होइन, चुनाव लड्न होइन, सत्तामा जान होइन । गौदान गर्ने, मन्दिरमा जाने, पूजाको थाली लिएर जाने, दानदक्षिणा गर्ने, बाटामा बस्ने । अक्षय तृतीयामा जस्तो सर्वत र सातु खुवाउने । पुण्य कार्यका लागि उहाँहरूले गर्नुभएको छ, हामीले चुनावका लागि गरेका हौं भन्ने उहाँहरूको भनाइ होइन ? अब…त्यो स्तरमा त के छलफल गर्नु ?

वामपन्थी गठबन्धनले जिते लोकतन्त्र नै धरापमा पर्छ, नागरिक स्वतन्त्रता नै हरण हुन्छ भनेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भनिराख्नुभएको छ त ?

मैले अघि नै भनेंँ– उहाँहरूको हतासा र निराशाको जवाफ मैले दिइरहनु पर्दैन । दुईटा खेलाडी बक्सिङ खेल्न गएका, एउटाले हारेछ, अर्कोले जितेछ । अनि रिङबाट आउट भइसकेपछि ‘तिमीले त हार्‍यौ नि’ भन्दा ‘म हार्ने थिइन, प्वाक्क मेरो नाकमा हान्दियो, नाकैमा हान्दिएपछि मैले केही देख्दै देखिन, अनि हारियो’ भनेछ । उसले खेल कमजोर भएर भनेन, नाकैमा हानेर हारेको भन्यो । कुरो त साँच्चै हो । शेरबहादुरजीको कुरो त्यस्तै हो ।

चुनावमा तपाईहरूले भनेजस्तो परिणाम आयो भने नेतृत्व कसले गर्छ ? तपाई प्रधानमन्त्री हुने हो ?

प्रधानमन्त्री कत्रो ठूलो कुरो हो भन्या… । मुलुकको नेतृत्व एमालेले गर्छ । त्यति भए भइगो नि ।

तपाई नै प्रधानमन्त्री हुने भनेर मतदाताबीच प्रचार भइरहेको छ नि ?

मान्छेहरूले त्यस्तै हल्ला गर्छन् । तपाईहरूलाई कस्तो लाग्छ ? अँ, मैले पनि सुनेको छु, त्यो कुरा । ६० प्रतिशतको जुन हिस्साको कुरा छ, त्यसले पनि एमालेले नेतृत्व गर्छ भन्ने त देखिएकै छ ।

कान्तिपुरबाट साभार

प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार