सामुन्द्रिक चक्रवातमा परिवर्तन, चुनावको दिन कस्तो रहला मौसम ?


मंसिर १९, काठमाडैं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको दिन मौसम कस्तो हुन्छ भन्ने चिन्ता पनि छ । पानी पर्‍यो भने मतदाता कम आउँछन कि भन्ने चिन्ता उम्मेदवारहरुलाई छ ।

मतदानको दिन नजिकिएसँगै दक्षिणपूर्वी अरब सागरमा रहेको धेरै शक्तिशाली सामुन्द्रिक चक्रवात हाल शक्तिशाली सामुन्द्रिक चक्रवातमा परिणत भइसकेको छ ।

यसको प्रभावले देशका हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् । यो चक्रवात रहँदासम्म विशेष सावधानी अपनाउनु पर्ने मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले बताए ।

भू-उपग्रहबाट प्राप्त तस्वीर तथा गणितीय मौसम पूर्वानुमानका आधारमा दुई दिन (बिहीबारदेखि शुक्रबारसम्म)को मौसम पूर्वानुमान यस प्रकार छ:-

बिहीबारको मौसमको पूर्वानुमान यस्तो छ

पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदली भइ हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमाली क्षेत्रको केही स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका केही क्षेत्रहरुमा हल्का वर्षाको संभावना देखिन्छ ।

चुनावको दिनको मौसम यस्तो छ

पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदली भइ हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको मप तथा सुप क्षेत्रीय हावापानी कार्यालय, सुर्खेतले जनाएको छ ।

यस्तै पूर्वी हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिएको छ । पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १९ गते मङ्गलवार