• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

डोल्पाका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित


विष्णुलाल बुढा
मंसिर १९, डोल्पा ।
डोल्पाका उच्च हिमाली भेगमा हिमपात भएको छ ।

हिमपातका कारण जिल्लको उच्च भेगमा बस्ने स्थानीयको जनजीवन प्रभावित भएको छ । डोल्पाका उच्च हिमाली बस्तीहरु धो, छार्का, तिन्जे, भिजेर, मुकोट, साल्दाङ र फोक्सुण्डोका विभिन्न गाउँहरुमा मंगलबार दिउँसोदेखि हिमपात हुन सुरु भएको छ । हिमपातका कारण तीे जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन् । नेपालको अति दुर्गम र विकट जिल्ला डोल्पाको पनि विकट माथिल्लो डोल्पाका गाउँ बस्तीहरुमा आज दिउँसो १ बजेबाट हिमपात शुरु भएको स्थानीयले बताएका छन् ।

हिमपात विस्तारै बेसितरि झरेको स्थानीय रनलाल कुलालले बताए । उनले थपे हिमपातबाट जनजीवन प्रभावित भएको भए पनि कृषकहरुमा खुशी छाएको छ । हिमपात भए पछि माथिल्लो डोल्पाका विभिन्न गाउँबस्तीमा एक गाउँबाट अर्को गाउँ जान बन्द भएको छ । निर्वाचनका कारण तराई झर्न ढिला भएकाले घरबाट हिंडेका माथिल्लो डोल्पाबासीहरु बाटोमै अड्किएकाले समस्या भएको माथिल्लो डोल्पाबाट मंगलवार दुनै पुगेका पेम्वा गुरुङ्ले बताए । उनले थपे माथिल्लो डोल्पाबाट तराई झर्न हिडेका धेरै मानिसहरु बाटो मै आउंदै गरेका छन् । हिमपातले उनीहरुलाई हिंड्न समस्या पारेको मात्रै छैन सम्पर्क बिहिन बनाएको छ । माथिल्लो डोल्पाका विभिन्न पासहरु चार्कोला, छुराङ्ला, लाङिमार, ङाराला, मरिम्ला, बगला, लुमला, शेपास लगायतका लेकहरुमा ३ फिट भन्दा बढी हिमपात भएको छ भने गाउँबस्तीहरुमा कम्तिमा १ फिट हिउँ जमिसकेको फोक्सुण्डोका आङबहादुर लामाले फोनमा बताए । उनले थपे हिमपातले माथिल्लो डोल्पा केही दिन सम्पर्क बिहिन हुनेछ ।

तल्लो डोल्पाका रिमी, काइगाउँ, सर्मी, ओक्ट, होर्तका गाउँहरुको माथि माथि हिमपात भैसकेको छ । हिमपात जारी रहेकाले रातभरी भारी हिमपात हुने अनुमान रहेको सर्मीबाट लंकबहादुर बुढाले बताए । उनका अनुसार हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । एक गाउँबाट अर्को गाउँ जाने आउने मात्र होइन पशु वस्तुहरुलाई चराउन समेत समस्या बढेको छ । उच्च बस्तीमा हिमपातले पशुवस्तुहरु समेत चराउन नसकेर गोठमै घांस पराल हालेर राखिएको छ । कान्तिपुर बाट साभार

प्रकाशित मिति : २०७४ मङ्सिर १९ गते मङ्गलवार