• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा निर्वाचनको तयारी पूरा, सुरक्षा अवस्था कडा


शरद रेग्मी
मंसिर २०, दाङ ।

बिहीबार मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दाङ जिल्लाको सम्पूर्ण तयारी पूरा भएको भएको छ ।

दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनका लागि गर्नु पर्ने सबै तयारी पूरा भएको जानकारी दिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको दाङमा १ सय ५१ मतदानस्थलमा ३९४ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता परिचय पत्रका वितरणको काम पनि आज साँझसम्म सकिनेछ ।

मुलुक संघीय संरचनामा गएपछि हुन लागेको पहिलो निर्वाचनमा मतदान गर्न मतदाताहरु उत्साहित भएका छन्। भोलि हुने निर्वाचनका लागि मतदाताहरु बिहान ७ बजेको समयको प्रतिक्षा गरिरहेका छन् । यता, जिल्ला सुरक्षा संयन्त्र दाङले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत पारिएको जनाएको छ। संघीय इकाइ प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एसएसपी दिलिपकुमार चौधरीले जिल्ला–जिल्लामा सुरक्षा निकायहरुको व्यापकरुपमा परिचालन गरिएको जानकारी दिए ।

उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरी मतदाता र मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाइएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले भोलि मंसिर २१ गते हुने निर्वाचन ऐतिहासिक दिन भएको भन्दै बेलुका ७ बजेपछि मात्रै सार्वजनिक यातायाताका साधनहरु सञ्चालन हुने जनाएको छ । निर्वाचनका दिन जिल्ला प्रशासन कार्यालयबाट अतिआवश्यक बाहेक अनुमति लिएका सवारी साधानमात्रै सञ्चालन गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बुधबार राति १२ बजेसम्म सम्बन्धित गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउनका लागि यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले निर्वाचन अवधिभर जिल्लामा विशेष सुरक्षा योजना लागू भएको भन्दै आज (बुधबार) बेलुका ७ बजेपछि होहल्ला र समूहगत रुपमा हिडडुल नगर्न आम जनसमुदायमा आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले सुरक्षा अबस्थालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । उनका अनुसार निर्वाचन अवधिभर जिल्लामा मादक पदार्थ विक्रि वितरण गर्ने गरेको पाइएमा कानुन अनुसार कारबाही हुनेछ ।

मंगलबारमात्रै जिल्लामा दुई दर्जन बढी व्यवसायीहरुलाई मदिरा विक्रि वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । भोलि हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङमा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता सहभागी हुँदैछन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २० गते बुधवार