मंसिर २०, सल्यान ।
सल्यानमा मतदान स्थलको तयारी हुदै गर्दा मतगणना स्थलको पनि तयारी भैरहेको छ ।
भौतिक संरचनाहरु पुराना भएको सल्यानमा यसपटक सबैभन्दा बलियो भवनमा मतगणना हुने भएको छ ।
मतगणना स्थल निर्माणका लागि जिल्ला प्राविधिक कार्यालयको नयाँ भवनलाई बनाउन लागिएको हो । भवनका तल्लो तलाका ३ कोठामा मतपेटीका खन्याउने ठाउ बनाइदैछ भने माथील्ला तलामा गणना गर्ने गरि तयारी गर्न लागिएको छ । जिल्ला प्रविधिक कार्यालयको नयाँ भवनमा भोली बेलुकाबाटै मतपेटिका राख्नेगरि बुधबार नै तयारी थालिएको हो । मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जिल्लाका १ सय ११ मतदान स्थलका १ सय ८० निर्वाचन केन्द्रबाट विहिबार नै मतपेटीका ल्याउनेगरि तयारी भएको बताएका छन ।
उनले जिल्लाका टाढा र संवेदनशिल रुपमा लिइएका स्थलबाट मतपेटीका ल्याउन नसकिए हेलिकप्टर प्रयोग गर्न सकिने पनि बताएका छन । उनले भने– “पहिलो चरणमा गाडिहरु सबै स्थानमा पुगिसकेका छन तिनले नै ल्याउने छन विहिबार ५ बजेसम्म लाइनमा आइपुगेका मतदाताले मतदान गर्न पाउने भएकाले अबेला भएपनि सुरक्षाका दृष्टिले जोखिम नहुने स्थानसम्म मतपेटीका आउनेछन ।” भोली बेलुकाबाट नै पहिलो मतगणना हुने भन्दै उनले पहिलो चरणमा प्रत्यक्ष तर्फका ३ वटै तहको मतगणना हुने जनाएका छन । त्यो सकिएमा मात्रै दोस्रो चरणमा समानुपातिक मतको गणना हुनेछ ।
समानुपातिक भन्दापनि जिल्लालाई प्रत्यक्षको महत्व बढि हुने भएकाले त्यसो गर्न लागिएको हो । मुख्य निर्वाचन अधिकृत धामीले पत्रकारहरुसंगको कुराकानीमा सूचनाको प्रभावकारीताका लागि मतगणनाका बेला सूचना दिने छुट्टै कर्मचारीको व्यवस्था गरिनुपर्ने सुझाव आएकाले त्यसको लागि पनि आफुले पहल गर्ने बताएका छन ।
पत्रकारहरुले अघिल्ला निर्वाचनका मतगणनामा दलका प्रतिनिधिले दिएको जानकारीलाई आधार मान्नुपर्ने बाध्यतालाई यसपटक सहज तरिकाले समाचार पाउने बाताबरण मिलाइदिन अनुरोध गरेका थिए ।