• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

दाङ–२ मा माओवादी केन्द्रका महरा विजयी


मंसिर २३, दाङ ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्ण बहादुर महरा १४ हजार १ सय ४५ मतान्तरले विजयी भएका छन् ।

महराले ४० हजार ४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी काँग्रेसका पूर्व सांसद् राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । ७३ हजार ७ सय ६९ मत खसेकोमा ४ हजार २ सय ८४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताएका छन् । महराले २०६४ को संविधानसभा निर्वाचनमा काँग्रेसकी अनिता वकोटालाई पराजित गरी यही क्षेत्रबाट विजयी भएका थिए ।

काँग्रेसका खनालले २०७० को संविधानसभा निर्वाचनमा माओवादीका निर्मल आचार्यलाई यही क्षेत्रमा पराजित गरेका थिए । अहिले महरा र खनाल उही क्षेत्रमा पहिलोपटक आपसी प्रतिस्पर्धामा थिए । महरा पहिलो संविधानसभा निर्वाचन बाहेक यसअघिका सबैजसो चुनाव रोल्पाबाट लड्दै आएका थिए । महरा २०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा रोल्पा १ बाट निर्वाचित भए । शिक्षण पृष्ठ भूमीबाट राजनीतिमा आएका महरा शालिन र बौद्धिक नेता मानिन्छन् । विजयी भएपछि महराले देशलाई आर्थिक समृद्धितर्फ लैजान अग्रसर हुने बताए । दाङलाई प्रदेशको राजधानी बनाई यस क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका खेल्ने उनले बताए ।

‘दाङलाई प्रदेशको राजधानी बनाउन म पर्सीदेखि नै लाग्छु,’ उनले भने,‘जनताको आर्थिकस्तर बृद्धि गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’ स्थानीय तह निर्वाचनमा यस क्षेत्रका सबै तह एमाले र माओवादीले जितेका थिए । यस क्षेत्रमा घोराही उपमहानगरपालिकाका १५ वडा, तुलसीपुरका चार वडा र बंगलाचुली गाउँपालिका पर्छन् । घोराही र तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख एमाले तथा बंगलाचुलीमा माओवादी केन्द्रले जितेको थियो ।

दुर्गालाल केसी/कान्तिपूरबाट

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार