मनिषा राई
मंसिर २५, रोल्पा ।
जताततै फोहोरको थुप्रो लाग्नुका साथै अव्यवस्थित खेलमैदानको रूपमा रहँदै आएको रोल्पा सदरमुकाम लिबाङ टुडिखेलमा अबको १ वर्ष भित्र मापार्क बनाइने भएको छ ।
करिब १० वर्षअघि तत्कालीन जिल्ला विकास समिति रोल्पाले टुडिखेललाई ग्रीनपार्क बनाउने भन्दै १२ औं जिल्ला परिषद्बाट योजना पारित गरेको थियो । राजनीतिक दलहरू बीच सहकार्य नहुँदा ग्रीनपार्क निर्माणको योजना अहिलेसम्म पनि अलपत्र बन्दै आएको थियो । स्थानीय तहको निर्वाचन पश्चात् रोल्पा नगरपालिकाका जनप्रतिनिधिको पहलमा ग्रीनपार्क निर्माणको काम अगाडि बढेको हो । जिल्लाको सदरमुकाममा रहेको टुडिखेल अव्यवस्थित हुँदा आगन्तुकले जिल्लाका सबै ठाउँ यस्तै होलाभन्ने सोच्ने भएकाले अब स्वच्छ र हराभरा भएमा जिल्लाको पहिचान नै फेरिने जेष्ठ नागरिक चिन्तामणि आचार्यले बताए ।
तत्कालीन जिल्ला विकास समितिले परिकल्पना गरेको ग्रीनपार्क निर्माण कार्यले करीब १० वर्षपछि पूर्णतापाउने भएको छ । स्थानीयको लामो पहल र प्रतीक्षापछि बहु उपयोगी ग्रीनपार्क निर्माण कार्य अगाडि बढाइएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । ग्रीनपार्क निर्माणका लागि अहिले करीब ५० लाख बजेटको व्यवस्था गरिएको छ ।