• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

चिसोका कारण मुस्ताङमा विद्यालय बन्द


मंसिर २७, मुस्ताङ ।

मुस्ताङमा हिउँ परेर अत्यधिक जाडो बढेका कारण सामुदायिक, गुम्बा र निजी–आवासीय गरी करिब पाँच दर्जन विद्यालय बन्द हुन थालेका छन् । उपल्लो मुस्ताङमा सञ्चालित विद्यालयलाई भने पोखरा लगेर वैकल्पिक घुम्ती कक्षाका रूपमा सञ्चालन गरिएको छ ।

मुस्ताङमा आधारभूत र माध्यमिक तह गरेर ५६ वटा सरकारी र आठवटा गुम्बा विद्यालय सञ्चालनमा छन् । तीमध्ये १–३ कक्षासम्म पढाइ हुने १९ वटा, १–५ सम्मको २३ वटा, १–८ सम्मको ६ वटा, १–१० सम्मको चारवटा, १–१२ सम्मका तीनवटा विद्यालय छन् भने स्नातकसम्म पढाइ हुने एउटा क्याम्पस पनि रहेको छ । त्यस्तै, १–५ कक्षासम्मका दुईवटा, १–८ सम्म र १–१० सम्म पढाइ हुने एकएकवटा निजी विद्यालय सञ्चालनमा छ ।

भौगोलिक बनावट र प्राकृतिक संरचनाका कारण हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा हिउँदयामको मौसमका कारण अत्यधिक चिसो बढ्ने र हिमपातले जनजीवन कष्टकर हुने हुँदा यस्ता विकट जिल्लामा सञ्चालित विद्यालयलाई बेंसीतर्फ स्थानान्तरण गरिँदै आएको छ । हिमाली जिल्ला मुस्ताङको उत्तरी कोरला नाकाआसपास छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी र लोमान्थाङ आदि स्थानमा सञ्चालित विद्यालय कात्तिक महिनामै बन्द हुन्छन् ।

उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढ्ने र हिमपातले जनजीवन प्रभावित हुँदा यहाँ सञ्चालित सरकारी र गुम्बा विद्यालय तल्लो मुस्ताङमा सञ्चालित विद्यालय भन्दा डेढ महिनाअगावै बन्द हुने गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक टंकराज बरालले बताए । उनले जिल्लाको दालोमे र लोमान्थाङ गाउँपालिकाभित्र सञ्चालित सरकारी र गुम्बा विद्यालयका विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर घुम्ती कक्षा सञ्चालन गरेर पढाइलाई निरन्तरता दिने गरेको निरीक्षक बराल बताए ।

मुस्ताङका तीन स्थानीय तहमा सञ्चालित ३६ विद्यालयलाई भने दुई महिना मात्र बिदा दिइन्छ । नेपाल सरकारले दिने विभिन्न सार्वजनिक बिदामा समेत कक्षा सञ्चालन गरेर मंसिर मसान्तसम्म विद्यालयको परीक्षा सकेर हिउँदे बिदा गरिन्छ । यसरी बिद्यालय बन्द गर्दा जिल्ला शिक्षा कार्यालयले क्यालेन्डरसमेत प्रकाशित गर्ने गर्छ । रासस

प्रकाशित मिति : २०७४ मङ्सिर २७ गते बुधवार