• २०७८ साउन १६ गते शनिवार
  • Preeti To Unicode

समानुपातिक मतगणना आज सकिदै


मंसिर २९, काठमाण्डौँ ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज सकिने भएको छ ।

प्रत्यक्ष तर्फको मतगणना हिजो नै सकिएको छ । आज सम्ममा सबै जिल्लामा मतगणना सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना सकिए पछि समानुपातिकमा पाएको मतहिसाब गरेर उनीहरूले पठाउनु पर्ने सिट संख्या तोकेर दलहरूलाई पत्राचार गर्ने आयोगको तयारी छ । प्रत्यक्ष तर्फको १ सय ६५ प्रतिनिधि सभा सिटमा ८० सिट जित्दै नेकपा एमाले पहिलो पार्टी बनेको छ भने ३६ सिट जित्दै माओवादी केन्द्र दोस्रो र २३ सिट जितेर नेपाली कांग्रेस तेस्रो भएको छ ।

राष्ट्रिय जनता पार्टीले ११, संघीय समाजवादी फोरम नेपालले १० सिट जितेको छ भने राप्रपा, नयाँशक्ति, नेपाल मजदुर किसान पार्टीले एकएक र राष्ट्रिय जनमोर्चाले २ सिट जितेका छन् । एकजना स्वतन्त्र व्यक्ति पनि प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् ।

यसैबीच प्रदेश सभाको कुल ३ सय ३० सिटमा एमालेले १ सय ३०, माओवादीले ७२, कांग्रेसले ४० सिट जितेको आयोगले जनाएको छ । संघीय समाजवादी फोरमले २४, राष्ट्रिय जनता पार्टीले १६ नयाँ शक्तिले २, राष्ट्रिय जनमोर्चाले २, नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् भने प्रदेश सभा सदस्यमा तीन जना स्वतन्त्र व्यक्ति समेत निर्वाचित भएको आयोगका प्रवक्ता ढकालले बताएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २९ गते शुक्रवार