• २०७७ कार्तिक ७ गते शुक्रवार
  • Preeti To Unicode

इजिप्टमा तीन हजार भन्दा पुरानो चिहान भेटियो


पुस १, काठमाडौं ।

इजिप्टमा तीन हजार वर्षभन्दा पहिला निधन भएका चार बालकको चिहान भेटिएको छ ।

चिहानमा रहेका बालकको शव अहिले पनि सुरक्षित रहेको छ । इजिप्टको अस्वान शहर नजिकै बालबालिकाको पूरानो चिहान भेटिएको र त्यसमा रहेका शव सुरक्षित पाइएको सरकारी अधिकारीले बताएका छन् ।

स्वीडेन र इजिप्टका अनुसन्धानकर्ताले यो चिहान भेट्टाएका हुन् । भेटिएका चिहानमा रहेका बालबालिकाको शव इसापूर्व १५४९/५० देखि १२९२ को बिचको रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

त्यसबेला इजिप्टमा १८ औं राजवंशले शासन थियो । अनुसन्धानकै क्रममा इजिप्ट तथा अस्ट्रियाको टोलीले चिहानको एक भाग भेट्टाएको छ भने स्वीस टिमले महिलाको प्रतिमा फेला पारेको छ ।

यो सबै इजिप्टको गेबेल अल–सिलसिला क्षेत्रमा भेटिएको हो । पुरातत्वविद्ले भेट्टाएको बालबालिकाको चिहान मध्ये पहिलो दुई देखि तीन वर्षको बच्चाको हो । जसमा चिहान बनाउनका लागि प्रयोग भएको लौरो भेटिएको छ ।

यस्तै दोस्रो चिहान ६ देखि ९ वर्षको बच्चाको रहेको अनुसन्धानकर्ताले बताएका छन् । यस्तै चिहानमा जन्तर र भाँडाकुँडा पनि भेटिएका छन् ।

तेस्रो र चौथो चिहानमा रहेका बच्चा पाँच देखि ८ वर्षका हुनुपर्ने अनुसन्धाकर्ताले बताएका छन् ।

नयाँ भेटिएका चिहान, बालबालिका शव तथा महिलाको प्रतिमाबाट इजिप्टको १८ औं राजवंशका बारेमा धेरै कुरा जानकारी पाउन सकिने अनुसन्धानमा संलग्न पुरातत्वविद्ले बताएका छन् । एजेन्सी

प्रकाशित मिति : २०७४ पुष १ गते शनिवार