• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा रोल्पामा शान्ति स्मारक


पुस ७, रोल्पा ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको सम्झनामा निर्माण गरिने शान्ति स्मारकको लिवाङमा शिलान्यास गरिएको छ ।

द्वन्द्वमा श्रीमान गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विहिबार संयुक्तरुपमा स्मारकको शिलान्यास गरेका हुन् ।

रोल्पा नगरपालिकाको रु एक लाख ५० हजार र मानव अधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको चार लाख गरी कुल ५ लाख ५० हजारको लागतमा बन्ने सो शान्ति स्मारक सदरमुकामस्थित टुँडिखेलको दक्षिणतर्फ रहेको छ ।

शिलान्यासपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाले बृहत शान्ति सझौताको मर्म अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगले पनि जिम्मेवारी पूरा गर्नेमा आफू आशावादी रहेको बताए। जनयुद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरुको परिवारलाई राज्यले केही राहत दिएको भए पनि त्यो अपुग रहेको उनको भनाइ थियो ।

जनयुद्धका क्रममा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको शान्ति स्मारकमा नाम नामेसी राखिने मानव अधिकार तथा कानुनी सेवा केन्द्र, रोल्पाका खेम बुढाले जानकारी दिए ।
शान्ति स्मारकमा २०५२ साल फागुन १ देखि २०६३ साल मंसिर ५ गतेसम्म ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको नाम र ठेगाना राखिने उनले बताए ।

माओवादी सशस्त्र युद्धमा देशमै सबैभन्दा धेरै धनजनको क्षति भएको रोल्पामा राज्य र विद्रोही पक्षबाट ९७० जनाले ज्यान गुमाएका थिए भने ३३ जना बेपत्ता भएका थिए । रासस

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार