• २०७८ बैशाख ३१ गते शुक्रवार
  • Preeti To Unicode

भूकम्प प्रभावित भए बेखबर ! के भन्छ पुनर्निर्माण प्राधिकरण ?


पुस ९, काठमाण्डौँ ।

सरकारले भूकम्प प्रभावित सुकुम्बासीलाई जग्गा खरिदका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको झन्डै एकवर्ष पुग्न लाग्यो ।

गएको वैशाखमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले पारित गरेर सार्वजनिक क्षेत्रमा बसेका सुकुम्बासीलाई जग्गा खरिद गर्न थप दुई लाख दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएसँगै यो प्रक्रिया अघि बढेको जनाइएको थियो । तर धेरै जिल्लाका भूकम्प प्रभावितले जग्गा खरिदका लागि थप दुई लाख पाउने खबर सुनेपनि यसका विषयमा आफूहरुलाई जानकारी नभएको उनिहरुले बताएका छन् । गोरखा, धादिङ, नुवाकोट रसुवा लगाएतका जिल्लाका भूकम्प प्रभावितले आफूहरुलाई जग्गा खरिद बापत् पाइने दुईलाख रुपैयाँका विषयमा जानकारी गराउन र यसको प्रक्रिया बुझाउन कोही पनि नआएको भूकम्प प्रभावितले गुनासो गरेका हुन् ।

यता भूकम्प प्रभावितको यो गुनासोका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता भिष्मकुमार भूषालले भूकम्प प्रभावित बसिरहेको ठाउँ जोखिमयुक्त भन्ने प्राधिकरणको सर्वेक्षणमा देखिएमा सुरक्षित स्थानमा जग्गा खरिदका लागि दुई लाखसम्म पाउने बताएका छन् । अन्य ठाउामा सुरक्षित घडेरी नभएका र भूकम्प प्रभावितको लाभग्राही सूचीमा रहेकाहरुले मात्रै यो पैसा पाउने उनले बताएका छन । आफ्नो जिल्लामा रहेको प्राधिकरणको जिल्ला सचिवालयमा वा नजिकैको गाउँपालिका र नगरपालिकामा गएर पनि यसको प्रक्रियाका विषयमा बुझ्न सक्ने उनले बताएका छन् ।

भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि संशोधन गर्दै प्राधिकरणले आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा सर्न चाहने भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानका लागि थप रकम दिने प्रस्ताव अघि बढाएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ९ गते आइतवार