• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

आज एकैदिन ख्रीष्टमस दिवस र भूपि शेरचनको जन्मजयन्ती, यस्तो छ ?


लेकाली अनलाइन
पुस १०, काठमाण्डौँ ।
क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाइँदैछ ।

यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको जन्मदिनको खुशीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।

सरकारले आज राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक बिदाको घोषणा गरेको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले ख्रीष्टमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै आजै भूपि शेरचनको ८२ औँ जन्मजयन्ती परेको छ । साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन कालजयी रचनाका कारण लोकप्रिय छन् । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ उनको चर्चित कृति हो । उनले गद्य कविता मात्र नभई गीत पनि लेखेको छन् । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ बोलको गीत उनको निकै चर्चित गीत हो । प्रगतिवादी धारमा कविता लेख्ने भूपिको विसं २०४६ जेठ १ गते निधन भएको थियो ।

उनले साझा पुरस्कार, गोरखा दक्षिण बाहुपुरस्कार लगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७४ पुष १० गते सोमवार