लेकाल अनलाइन
पुस १२, सल्यान ।
प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीको विषयलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रमा भिन्न भिन्नै मत देखिएकाे छ । मुख्यमन्त्रीमा माअाेवादीका प्रदेश सांसदले अाफु हुने दावि गरेका छन् भने एमाले सांसदले पनि अाफु हुने दावि गरेक छन् ।
नेकपा माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री महेन्द्र बहादुर शाहीले आफू प्रदेश नम्बर ६ को मुख्यमन्त्री हुने दावि गर्दा एमालेका पोलिटव्यूरो सदस्य द्धय प्रकाश ज्वाला र यमलाल कँडेललाई अाफुहरुले कसरी मुख्यमन्त्री हात पार्ने भनेर तनाव भएको छ ।
मंगलबार माओवादीका नेता शाहीले मुख्यमन्त्रीको लागी आफु योग्य उमेदवार भएको भन्दै यसमा आफ्नो दाबी हुनु स्वभाविक रहेको टिप्पणी गर्दा एमालेका प्रदेश कमिटी र नवनिर्वाचित सांसदहरुको सिंहदबारमा बसेको संयुक्त बैठकले मुख्यमन्त्री एमालेले पाउनुपर्ने माग अघि सारेको हो । प्रदेश संयोजक तथा उपाध्यक्ष युवराज ज्ञवालीको अध्यक्षतामा बसेको प्रदेश कमिटी सचिवालय, प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको बैठकले बिभिन्न तर्क र आधार पेश गर्दै मुख्यमन्त्री पाउनुपर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।
मुख्यमन्त्री पाउनुपर्ने तर्क र आधार सूचीबद्ध गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेललाई लिखित रुपमा ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ । सोही अनुसार मंगलवारै महासचिव पोखरेललाई जानकारी गराइएको एक नेताले बताए ।
एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीमा दावी गर्ने चारवटा आधार समेत नेतृत्वलाई बुझाएको छ ।
पहिलो आधारः प्रदेशका कुल ४० सिटमध्ये एमाले एक्लैको ५० प्रतिशत अर्थात २० सिट रहेको ।
दोस्रो आधारः एमालेका जति उम्मेदवार उठे प्रतिनिधिसभा र प्रदेशसभामा शतप्रतिशत जितको नतिजा निकाल्न सफल
तेस्रो आधारः प्रदेश ६ को समानुपातिकतर्फ पनि एमाले नै पहिलो
चौथो आधारः स्थानीय तहको निर्वाचनमा पनि ६ प्रदेशमा एमाले पहिलो ।
एमालेबाट प्रदेश ६ को मुख्यमन्त्रीका लागि पोलिटव्यूरो सदस्यद्धय प्रकाश ज्वाला र यमलाल कँडेलले दाबी गरेका छन् । २ पटक सांसद भइसकेका ज्वाला प्रदेशबाट निर्वाचित भएका हुन् । उनी विघटित संसदको अर्थ समितिका सभापति थिए ।
त्यस्तै कँडेल पनि दुई पटक सांसद निर्वाचित भएर प्रदेशमा जितेका हुन् । उनी एकपटक मन्त्री भइसकेका र हाल प्रदेश कमिटीको सहसंयोजक छन् ।