पुस १३, नेपालगन्ज ।
दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताको बुधबार पुरुष १५ सय मिटर दौडमा मध्यपश्चिमका माधव चौधरी च्याम्पियन भएका छन् । उनले ४ मिनेट २७ सेकेन्डमा दौड पूरा गरी स्वर्ण जितेका हुन् । मध्यमाञ्चलका सुभाष थापा ४ मिनेट २७ सेकेन्डबाट दोस्रो र सुदूरपश्चिममाका सुनील सुनार ४ मिनेट २७ सेकेन्डबाट तेस्रो भए ।
खजुरा गाउँपालिका २ सीतापुररस्थित शुक्र माविमा भएको प्रतियोगिताको पहिलो दिन ५ विधामा खेल भए । महिला १५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी चन्द्रा घर्ती विजेता भइन् । उनले ६ मिनेट ३५ सेकेन्डमा दूरी पार गरिन् । पश्चिमाञ्चलकी सुस्मिता भट्टराईले ६ मिनेट ४३ सेकेन्डबाट दोस्रो र सुदूरपश्चिमकी रेखा चन्दले ६ मिनेट ५२ सेकेन्डबाट तेस्रो भएका छन् ।
पुरुषतर्फ ४ सय मिटर दौडमा सुदूरपश्चिमका केशर रावल विजेता बन्दा सुदूरपश्चिमकै राजेशबहादुर चौधरी दोस्रो र मध्यमाञ्चलका छिरिङ लामा तेस्रो भएका छन् । महिला ४ सय मिटर दौडमा पश्चिमाञ्चलकी कल्पना श्रेष्ठले स्वर्ण जित्दा मध्यपश्चिमकी पूजा चौधरी दोस्रो र सुदूरपश्चिमकी अनिता भुल तेस्रो भए । सटपुट महिलामा पश्चिमाञ्चलकी सुमित्रा थापा विजेता भइन् । उनले ८ दशमलब ४५ मिटर फ्याँकेर कीर्तिमान राख्दा पश्चिमाञ्चलकी अस्मिता शेर्पाली दोस्रो र सुदूरपश्चिमकी मीना धामी तेस्रो भए । शेर्पालीले ८ मिटर ४३ मिटर र मीनाले ८ दशमलब १४ मिटर सटपुट फाल्न सफल भए ।
पुरुष लङजम्पतर्फ मध्यमाञ्चलका भुवन महतो विजेता भए । मध्यपश्चिमाञ्चलका सुशील केसी दोस्रो र पूवाञ्चलका सुरज माझी तेस्रो भएका छन् । २० वर्षमुनिका खेलाडीले भाग लिने प्रतियोगितामा मुलुकका पाँच विकास क्षेत्रबाट करिब ९० खेलाडीको सहभागिता छ । नेपालगन्जमा २०७५ मा हुने आठौं राष्ट्रिय खेलकुदको एउटा हिस्साका रूपमा एथलेटिक्सलाई लिएको मध्यपश्चिम क्षेत्रीय खेलकुद समितिले जनाएको छ । ठाकुरसिंह थारुले लेखेकाे खबर अाजकाे कान्तिपुरमा छ ।