पुस १३, काठमाडौ ।
नेकपा एमालेसँग माओवादी केन्द्रले एकता गर्न नहुने मत राख्दै आएका माओवादी नेता विश्वभक्त दुलाल आहुतिले प्रचण्ड एमाले बनेको भन्दै आफुले अध्यक्ष नमान्ने बताएका छन् ।
मार्क्सवादी चिन्तक एवं लेखक समेत रहेका नेता आहुतिले माओवादीले एमालेसँग पार्टी एकता गर्दा कम्युनिस्ट आन्दोलन नै बिसर्जन हुने भन्दै माओवादी पुनर्गठन गर्ने समेत बताएका छन् । माओवादी केन्द्रमा औपचारीक राजिनामा नदिएका उनले प्रचण्डलाई अध्यक्ष नमान्ने समेत बताए । ‘प्रचण्ड अब मेरो अध्यक्ष होइन’, ‘एमालेसरह भएपछि म उहाँलाई कसरी मान्छु त ? यो हुने कुरा भएन नि।’
उनले एकताका विषयमा पार्टीभित्र छलफल नै नगरि एकतामा जानु एमाले बन्नु भएको बताए । ‘कुनै औपचारिक कमिटीको निर्णयविना माओवादीका केही नेताहरु र एमालेका केही नेताहरु बसेर ७ बुँदा तयार पारेर अब एकता गर्ने भनियो,’ उनले भने, ‘कुनकुन विषयमा छलफल नै नगरी एकता हन्छ’ ?