• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

अनिश्चितकालका लागि राति १० देखि बिहान ४ बजेसम्म नारायणघाट–मुग्लिन सडकखण्ड बन्द


पुस १४, काठमाडौं ।

सडकखण्डको स्तरोन्नति गर्दै आइरहेको नारायणघाट–मुग्लिन सडक आयोजनाले यही पुस १८ गतेबाट अनिश्चितकालका लागि रातिको समयमा यातायातका साधन चल्न नदिइने जनाएको छ ।

आयोजनाले सार्वजनिक सूचना जारी गरेर पुस १८ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा राति १० बजेबाट बिहान ४ बजेसम्म सवारी साधनको आवागमन बन्द गरिने जनाएको हो ।

स्तरोन्नतिको काम भइरहेको नारायणघाट–मुग्लिन सडकमा बाँकी रहेको पहाड कटिङको काम पूरा गेर यसै वर्षभित्रमा सडक कालोपत्रे सम्पन्न गरी सवारी साधनको आवागमन सहज बनाउन उत्त सडकखण्ड बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाले दिउँसोको समयमा कालोपत्रेको काम भइरहेका स्थानहरुमा सवारी साधनलाई व्यवस्थापन गरेर एकतर्फी रुपमा मात्रै छाडिने पनि सूचनामार्फत जानकारी दिएको छ ।

आयोजनाका अनुसार रातिको समयमा नारायणघाटबाट आउने यात्रुबाहक सवारी साधनहरुका लागि दासखोला पुल वा अन्य अनुकूल स्थानमा र मालबाहक सवारी साधनहरुका लागि भतेरी जंगल वा अन्य कुनै अनुकूल स्थानमा रोकिने विन्दु तय गरेको छ ।

मुग्लिनबाट छिर्ने यात्रुबाहक सवारी साधनमध्ये काठमाडौंका लागि छुटेकाहरुका लागि मुग्लिनमा र पोखराबाट छुटेकाहरुका लागि बेनीटारमा रोकिने विन्दु तय गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । यस्तै मुग्लिनबाट छिर्ने मालवाहक सवारी साधनमध्ये काठमाडौंका लागि छुटेकाहरुका लागि लेवाटारमा र पोखराबाट छुटेकाहरुका लागि आँबुखैरेनीमा रोकिने विन्दु तय गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाले रातिको समयमा सवारी साधनहरुको आवागमन बन्द हुने अवधि भरी वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार