• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा पहिलाेपटक सुत्केरी पशुलार्इ भत्ता, यस्ताे छ कारण


पुस १४, सल्यान ।
सुत्केरी महिलालाई भत्ता वितरणको कुरा त सुनिएकै हो तर सल्यानमा पशु सुत्केरी हुदा प्रोत्साहन वापत भत्ता वितरण गरिएको छ ।

पशुलाई पशु सेवा कार्यालय मार्फत कृतिम गर्भाधान गराएका जिल्लाका ५ किसानलाई २५ सयका दरले प्रोत्साहन वापत रकम वितरण गरिएको हो ।  प्रोत्साहन रकम पाउने किसानहरुमा शारदा नगरपालिका २ का गोकर्ण प्रसाद उपाध्याय, ३ का वुद्धिराज विष्ट, अशोक कुमार विष्ट, रेशम प्रकाश शर्मा र ४ का नारायण गौतम छन । नगरका प्रमुख सुरेश अधिकारीले किसानहरुलाई आफ्नो कार्यकक्षमा नै रकम वितरण गरेका हुन । रकम वितरण कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख अधिकारीले अव अन्य किसानलाई उनिहरुका घरमा नै पुगेर समाजमा जानकारी गराउने गरि कार्यक्रम राखेर वितरण गर्न पशु विकास हेर्ने सम्बन्धीत कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

किसानका लागि यस्ता कार्यक्रम सरकारले पहिला देखि नै घोषणा गरेपनि सल्यानमा पहिलो पटक लागु भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुवर्णसिंह ठकुरीले बताएका छन । उनले शारदा नगरपालिका भित्रका अन्य २० जनालाई पनि यस आर्थिक बर्षमा प्रोत्साहन वापत रकम वितरण गर्ने जनाएका हुन । कृतिम गर्भाधान गराएर पशुलाई सुत्केरी गराएमा दुधपनि धेरै दिने र जातमा पनि उन्नत खालको निस्कने कृषकहरुले बताएका छन । उनिहरुले उन्नत जातको पशुका लागि कृतिम गर्भाधान नै बनाएमा किसानलाई फाइदा हुने भन्दै आफुहरुले लामो समयदेखि नै कृतिम गर्भाधान गरेको बताएका छन ।

लामो समयदेखि कृतिम गर्भाधान गराएर पशुपालन गरिरहेका शानपा ३ का बुद्धिराज विष्टले भने –“पहिलाको जस्तै स्याहार सुसार गरेपनि दुधमा वृद्धि गर्ने भएकाले म सधै कृतिम गर्भाधान नै गराउछु । एकपटक कृतिम गर्भाधान गरेर जन्माएको बाच्छोमा फेरी कृतिम गर्भाधान गराएमा विगासी जस्तै हुने रहेछ । अहिले मैले कृतिम गर्भाधानबाट जन्मिएका बाच्छाबाट दुध लिने गर्छु भने बहर भएमा गोरुको रुपमा प्रयोग गर्छु ।

अन्य ठिमाहा भन्दा बलिया हुने भएकाले जोत्न पनि सजिलो हुन्छ ।”
त्यस्तै शानपा २ का गोकर्ण प्रसाद उपाध्यायले आफुले पुजापाठका लागि लामो समय देखि गाइ पालन गरिरहेको जनाउदै कृतिम गर्भाधान देखि धेरै मात्रामा दुध दिएको पाइएको बताएका छन । किसानहरुले सरकारले सहयोग गरेमा आफुले व्यवसायीक रुपमा पशु पालन गर्ने जनाएका छन ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार