पुस १५ , काठमाडौं ।
प्रदेशसभाको सांसद बन्न नपाएको झोंकमा माओवादी नेताहरुबीच हात हालाहाल भएको छ ।
समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुलीले हात हालेका हुन् ।
केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । उनले संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीतालाई किन सांसद बनाको भन्दै विरोध गरेपछि शाक्य र सुवेदीले त्यसको प्रतिवाद गरेका थिए । पार्टीको रगत र पसिना बगाएका कार्यकर्तालाई नबनाएर पसल खोलेर बसेकी सीतालाई बनाएको भन्दै पराजुलीले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि पराजुलीले शाक्य र सुवेदीलाई एक थप्पड हानेको कार्यालयका कर्मचारीले देखेका थिए । शाक्य र सुवेदीलाई सामान्य चोट लागेको छ ।
कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए । त्यसैगरी दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । लामा केही दिन पहिला मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए तर उनको नाम शुक्रबार माओवादीले निर्वाचन आयोगमा बुझाएको सूचीमा परेन । सिन्धुपाल्चोकबाट समानुपातिकबाट एकजना पनि प्रदेश सांसद बनेका छैनन् ।
त्यस्तै प्रदेशसभा सांसद नबनाइएको रिसमा शुक्रबार बबरमहलस्थित राजपाको केन्द्रीय पार्टी कार्यालयमा तोडफोड भएको थियो ।
याे पनि पढ्नुहाेस् समानुपातिकमा नाम नपरेपछि राजपा पार्टी कार्यालयमा तोडफोड