पुस १६, काठमाण्डौँ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला सहित नेपाली कांग्रेसका संस्थापक नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको आज ४१ बर्ष पूरा भएको छ ।
प्रवासमा आठबर्ष बिताएपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फकिएका थिए । राष्ट्रिय एकताको नारा लिएर स्वदेश फर्केका नेतालाई राजा महेन्द्रले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।
राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन १६ गतेलाई त्यसै बेलादेखि मेलमिलाप दिवसका रूपमा मनाउने चलन काँग्रेसले चलाएको हो । आज ४२ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल चलान गरिएको थियो ।
त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । तर भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता बरु नेपालमा राजासँगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट स्वदेश फर्किएका थिए ।