• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

भत्ता वृद्धिको माग गर्दै विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा तालाबन्दी


 पुस १६, चितवन ।

चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका हुन् । विश्वविद्यालयले इन्टर्नसीप भत्ता भन्दै प्रतिविद्यार्थी प्रतिमहिना ८ हजार ५ सय रुपैयाँका दरले ६ महिनाको रकम उपलब्ध गराउँदै आएको छ ।

यसो हुँदा एक समेष्टरमा विश्वविद्यालयले २५ लाख ५० हजार रकम इन्टर्नसीपको लागि खर्च गरेको छ । तर, यसपटक विद्यार्थीहरुले सो भत्ता कम भएको भन्दै शाखा अधिकृतले पाउने तलवको ७५ प्रतिशत झण्डै २२ हजार भत्ता प्रतिविद्यार्थी माग गरेका छन् ।

भेटेनरी संकायको प्रत्येक सेमेष्टरमा ५० जना विद्यार्थी अध्ययनरत छन् । तिमध्ये ४० जनाले प्रत्येक सेमेष्टर होस्टल खर्चसहित भर्ना हुँदा जम्मा चार हजार पाँच सय रुपैयाँ मात्रै बुझाउँदै आएका छन् । विश्वविद्यालयमा भेटेनरीको १० सेमेष्टर चल्छ । सो अवधिमा विद्यार्थीहरूले ३२ दिन भ्रमण गर्दछन् । भ्रमणको दैनिक चारसय भत्ता अलगै विश्वविद्यालयले तिर्दै आएको छ ।

एक समेष्टरमा विश्वविद्यालयले बस खर्च बाहेक ६ लाख ४० हजार भत्तामा खर्च गर्दछ । नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले थालेको आन्दोलनमा त्यसपछिका समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले समेत साथ दिएका छन् ।

फाइल तस्वीर

 

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार