• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

समानुपातिकले पार्टीपिच्छे भाँडभैलो ः माओवादीमा कुटाकुट, कांग्रेसमा बहिष्कार, एमालेमा फेसबुकमार्फत असन्तुष्टि


पुस १६, काठमाण्डाैँ । 

प्रमुख राजनीतिक दलहरूभित्र प्रदेश सभा समानुपातिकतर्फको अन्तिम सूची बुझाउने विषयमा तीव्र असन्तुष्टि देखिएको छ । यस्तो असन्तुष्टि सतहमै छताछुल्ल भएको छ ।

सबैभन्दा धेरै स्थानमा समानुपातिक सदस्य मनोनयन गर्न पाउने ठूलो दल नेकपा (एमाले)भित्र पनि यो असन्तुष्टि देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिनभर बसेको स्थायी कमिटीको बैठकले नामावली टुंगो लगाएको भए पनि असन्तुष्टि प्रकट भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार ।

एमाले नेता कर्णबहादुर थापाले आफू मुख्यमन्त्रीको दाबेदार भए पनि प्रदेश सभा सदस्य नै बन्न नपाएको भन्दै घुमाउरो शैलीमा फेसबुकमा असन्तुष्टि पोखेका छन् । त्यसैगरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राजपालगायतका दलभित्रको विवादसम्बन्धी समाचार पनि प्रकाशित भएको छ ।

माओवादी केन्द्रका नेताहरूमाथि हातपात, राजपा कार्यालय तोडफोड, कांग्रेसमा पौडेल पक्षले जनायो असहमति लगायतका सबहेड राखेर नयाँ पत्रिकाले यो समाचार तयार पारेको छ । माओवादीको सूची तयार पार्ने क्रममा प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुु सुवेदीमाथि माओवादीका सिन्धुपाल्चोकका नेता झंकु पराजुलीले हातपात गरेको समाचारमा उल्लेख छ ।

त्यसैगरी राजपाको बबरमहलमा रहेको कार्यालय पनि समानुपनतिक सदस्यकै विवादमा शुक्रबार तोडफोड गरिएको छ ।

कांग्रेसमा शुक्रबार मध्यरातसम्म बसेको बैठकमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको थियो । कांग्रेस नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीले देउवाले एकलौटी गरेर माइन्युट समेत हेर्न नदिएको बताएका छन् । पार्टीपिच्छे भाँडभैलो आजको अन्नपूर्ण पोष्टमा समाचार  छ  ।

कांग्रेसमा देउवाको मनोमानी, माओवादीमा मोवाइल फुटाइयो, राजपामा मुख्यालय तोडफोड गरिएको विषय समाचारमा उल्लेख गरिएको छ ।

अन्य समाचार

आजको नयाँ पत्रिका दैनिकले ओली प्रचण्डले चलखेल परास्त गर्दै छिटै गठबन्धन सरकार बनाउने घोषणा गरेको विषयलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । बहुविवाह गरेको आरोपमा मोरङको रंगेलीमा एक दम्पतीलाई मोसो दलेर गाउँ निकाला गरेको समाचारलाई पनि पहिलो पृष्ठमा विशेष स्थान दिएको छ ।

अन्नपूर्ण पोष्टले विराटनगर वारियर्सले इपीएल जित हासिल गरेपछि खुसी मनाउँदै गरेको तस्बिरलाई ब्यानर बनाएको छ । अन्नपूर्ण पोष्टमा विकास कार्कीले खिचेको तस्बिरलाई ब्यानर बनाइएको हो ।

अन्नपूर्ण पोष्टमा बसन्त बस्नेतले लेखेको समाचारमा चीनले तातोपानी नाका पन्छाउँदै केरुङ–रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो पुरानै नाकातिर ध्यान केन्द्रित गरेको उल्लेख छ ।

आजको कान्तिपुर दैनिकले भने कांग्रेसका युवा नेताको धारणालाई महत्त्व दिएको छ । कांग्रेसका युवा नेताको आग्रह– ७० कटेका विश्राम लिनोस् शीर्षकको समाचारलाई प्रमुख समाचार बनाइएको छ ।

कांग्रेसका चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे लगायतका नेताहरुको धारणा समावेश गरेर समाचार तयार पारिएको छ । त्यसैगरी कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेको समाचारमा प्रदेश प्रमुख र राजधानी तोक्ने तयारी भएको उल्लेख गरिएको छ ।

समाचारमा केही दिनभित्रै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी केन्द्र तोक्ने निर्णय हुने उल्लेख गरिएको छ । कान्तिपुर दैनिकले पहिलो पृष्ठमा भारतको नयाँ दिल्लीमा भएको आरुषी–हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदारलाई दोषी देखाइएको सम्बन्धमा देवेन्द्र भट्टराईले लेखेको समाचारलाई पनि प्राथमिकतासाथ प्रकाशित गरिएको छ ।

भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारलाई ‘हत्याको भागिदार’ का रूपमा लाञ्छना लगाइएको छ ।

आजको गोरखापत्र दैनिकले प्रधानमन्त्रीको धारणा र कम्युनिष्ट गठबन्धनका शीर्ष नेताहरुले गरेको छुट्टाछुट्टै भाषणलाई प्रमुख प्राथमिकता दिएको छ । आजको राजधानी दैनिकले पनि विराटनगर वारियर्स विजयी भएपछि खेलाडीले खुसी मनाउँदै गरेको तस्बिरलाई प्राथमिकता दिएको छ ।

त्यसैगरी मुख्यमन्त्री चयनमा देखिएको सकस, १ वर्षमा १२ देशसँग भएको कूटनीतिक सम्बन्ध सम्बन्धी समाचार पनि प्रकाशित गरेको छ । आजको हिमालय टाइम्सले ओलीको सम्बोधनलाई प्रमुख समाचार बनाएको छ ।

प्रदेश प्रमुख नियुक्तिमा अलमल सम्बन्धी अर्को समाचार पनि हिमालय टाइम्सले पहिलो पृष्ठमै प्रकाशित गरेको छ । आजको नागरिक दैनिकमा नयाँ सरकार डेढमहिनापछि भन्ने शीर्षकमा समाचार प्रकाशित गरिएको छ । बालकृष्ण अधिकारीले लेखेको समाचारमा सरकार गठनका लागि अझै डेढ महिना कुर्नुपर्ने उल्लेख छ ।
आजको नागरिकले बन्दसूचीको क्रम मिचेर दलहरुले नाम सिफारिस गरेको पनि उल्लेख छ ।

सम्पादकीय

‘अब केही नअड्काऊ’ शीर्षकमा आजको हिमालय टाइम्सले सम्पादकीय लेख्दै भनेको छ – देउवा सरकारले जनादेश बदलिइसकेको तथ्य ख्याल राख्न उत्तिकै जरुरी छ ।’

गोरखापत्र दैनिकले ‘अबको निकास’ शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ–अनावश्यक विवाद लम्याएर राजनीतिक अस्थिरता सिर्जना गर्न मुलुक र मुलुकवासीको हितमा हुँदैन ।’

‘निर्वाचनमा केन्द्रित बन’ शीर्षकमा राजधानीले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ – सरकार र दलहरु विवादमा उत्रिए भने राष्ट्रपतिले संविधानको पालक र संरक्षकको हैसियतमा प्रदेश प्रमुख तोक्ने विषयमा चासो देखाउनुपर्छ ।’

‘सरकार गठनमा अब ढिलाइ नगरौँ’ शीर्षकमा कान्तिपुरले सम्पादकीय लेख्दै आफ्नो धारणा यसरी राखेको छ – बिनाविलम्ब समग्र प्रक्रिया आरम्भ गर्नु हो । यसमा जति ढिलाइ गरिन्छ, सरकार उति पछाडि सर्दै जानेछ, जसरी चुनावपछि अध्यादेश प्रकरणमा राष्ट्रपति – प्रधानमन्त्री र दलहरूको अनावश्यक खिचातानीले बेकारमा समय खाइदियो ।’

‘प्रक्रियामा सहमति’ अन्नपूर्ण पोष्टले सम्पादकीय लेखेको छ । सत्ता हस्तान्तरण हुने गरी प्रक्रियामा सहमति हुन जरुरी रहेको सम्पादकीयमा उल्लेख छ ।

‘राजनीति गर, षड्यन्त्र होइन’ आजको नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा प्रतिनिधि सभा सदस्यले राष्ट्रिय सभा सदस्यको समावेशी प्रतिनिधित्त्व गरिदिनुपर्ने अराजनीतिक तर्क गर्दै प्रतिनिधि सभा निर्वाचन टुंगो लगाउनबाट रोक्नु संवैधानिक प्रचलन र परम्पराविपरीत छ ।’

‘प्रोत्साहन भत्तामा बेथिति’ शीर्षकमा सम्पादकीय लेख्दै नागरिकले भनेको छ – यस किसिमको व्यवस्थाले काममा छिटोछरितोभन्दा पनि कामै नगरी भत्ता बुझ्ने प्रवृत्तिलाई मलजल गर्नेछ ।’बारखरीबाट

यि समाचार पनि पढ्नुहाेस् समानुपातिकमा नाम नपरेपछि राजपा पार्टी कार्यालयमा तोडफोड

समानुपातिकमा अाफ्नाे नातेदारलार्इ सांसद बनाएकाे भन्दै माअाेवादी कार्यालयमा कुटाकुट, दुर्इ नेता घाइते

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार