पुस १६, सल्यान।
द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षले ध्वस्त बनाएको छत्रेश्वरी गाउँपालिकास्थित साउनेपानीडाँडाको टेलिफोन रिपिटर टावर झण्डै २० वर्षपुग्दा समेत पुनर्निर्माण हुन सकेकाे छैन् । यहाँ टेलिफोन टावर संचालन नहुँदा आसपासका क्षेत्रमा सञ्चार समस्या हुने गरेकाे छ ।
द्वन्द्वको समयमा माओवादीले टावरमा वम प्रहार गरी पूर्णरुपमा क्षति पुर्याएको थियो । अहिले यहाँ टावर सँगै भवन, घेरबार भग्नावशेष अवस्थामा छन् । द्वन्द्वको समयमा तत्कालीन माओबादीले २०५४ पौष ९ गते टावर पूर्णरुपमा क्षति पुर्याएको थियो ।
सोलारबाट सञ्चालित टावरका सम्पूर्ण सामग्री क्षति हुँदा साउनेपानी डाँडामा २२ मिटर अग्लो टावर मात्र बचेको थियो । उक्त टावरले रोल्पा, रुकुम पश्चिम र जाजरकोटका केही भागमा सञ्चार सुविधा पुर्याउदै आएको थियाे ।
याे टावरको निर्माण २०५० सालमा गरिएको थियाे । साउनेपानी टावरमा पूर्ण रुपमा क्षति पुगेपछि टेलिकमले कपुरकोटमा निर्माण गरेको रिपिटर टावरमार्फत फोन सेवा सुचारु गरेको थियो ।