पुस १८, झापा ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा अाेली लगाएत झापा जिल्लाबाट चुनाव लडेका नेताहरुले चुनाव खर्चकाे विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाले दिएकाे जानकारी अनुसार एमाले अध्यक्ष अाेलीले २४ लाख एक हजार १६० चुनावी खर्च पेस गरेका छन् । उनि झापा क्षेत्र नं ५ बाट चुनाव लडेर निर्वाचित भएका हुन् । त्यस्तै क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २२ लाख ६८ हजार, क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले २४ लाख १० हजार र सोही क्षेत्रबाट काँग्रेसका नेता विश्वप्रकाश शर्माले २१ लाख ६८ हजारको आआफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।
त्यसैगरी झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका डा खगेन्द्र अधिकारीले २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले छ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले एक लाख नौ हजार २०० खर्च भएको विवरण पेश गरेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले रु २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले रु १५ लाखसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।
गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।