• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

युद्धमा छोरा गुमाएका रोल्पाका मंगले भन्छन् “राहत पाएको छैन्’’, जिल्ला प्रशासनको रेकर्डमा उनकै नाममा रकम गएको भेटियो


पुस १८, रोल्पा ।

माओवादी सशस्त्र युद्धमा एक मात्र छोरा गुमाएका रोल्पा जेलबाङका ७८ वर्षीय मंगले बुढा २०६८ कार्तिक ६ गते जिल्ला प्रशासन कार्यालयमा देखिएका थिए ।

सिमेन्टको बोरालाई सिलाइएको झोला भिरेका मंगलेले थोत्रिएको कालो टोपी र कालो कोट लगाएका थिए उतिबेला मंगलेजस्तै युद्धमा आफन्त गुमाएका जेलबाङका ७३ जना जिल्ला प्रशासन कार्यालयमा राहत लिन आएका थिए । १६ वर्षीय छोरा भुवनको मृत्यपछि सहारा बिहीन बनेको मंगले र फर्की दम्पत्ति सहितको जेलबाङी द्वन्द्वपीडितको पीडा यसअघि अन्नपूर्णमा प्रकाशन समेत भएको थियो ।
तिनै पीडित मंगले दम्पत्तिले बिबिसी साझा सवालको कार्यक्रमलाई राहत नपाएको बताएपछि चर्चा चुलिएको छ । उनको सहारा बिहीन दयनीय घरबास र जीवनशैली प्रशारण भएपछि अहिले उनी इन्टरनेट दुनियाँमा भाइरल भएका छन् ।

बिबिसीसँगको कुराकानीमा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले ‘सहिद परिवारले पाउने पहिले पाँच लाख र पछि पाँच लाख पाउनु भयो ’ भनेर जिज्ञासा राख्दा मंंगलेले नपाएको जवाफ दिएपछि उनको चर्चा चुलिएको हो । राहत नपाएको र सहाराबिहिन जीवन देखेर पूर्वसभामुख ओनसरी घर्ती भक्कानिएर रुएकी थिइन । राहत रकम लिनका लागि निवेदन दिएको सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए ।

जिल्ला प्रशासनको रेकर्डमा मंगलेले रकम लगेको देखिएको छ । उता पीडितले राहत नपाएको बताएपछि प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई पनि धेरैले सोधपुछ गरिरहेका छन् । ‘नेपाल बैंकमा उनकै नाममा खोलिएको खातामा रकम जम्मा भएको रेकर्ड छ । राहात पाउनका लागि फोटो सहित निवेदन समेत दिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । सुरुको चरणमा दुई लाख, दोस्रो चरणमा एक लाख र तेस्रो चरणमा दुई लाख रकम उनको खातामा गएको देखिन्छ । ति रकम निकालिएको बैंकको अभिलेखबाट देखिन्छ । गत आर्थिक वर्षमा आएको एकमुष्ट पाँच लाख पनि असार २६ गते उहाको खातामा जम्मा भएको देखिन्छ । पुस २ गते पाँच लाख नै निकालेर लगेको बैंकले जनाएको छ ।

देशभरमा साविक जेलबाङ गाविसमा सबैभन्दा बढीले ज्यान गुमाएका थिए । एकै गाउँका ७३ जना मारिएका थिए । मंगले दम्पत्तिको कारुणिक अवस्था देखेर नेता अनन्तले घर बनाइदिने आश्वासन दिएका छन् । माघ २ गते घर बनाइदिने गरी शिलान्यास गर्न प्रतिनिधि सभाका लागि रोल्पाबाट निर्वा्चित अनन्त जेलबाङ पुग्नेछन् ।

यस सम्बन्धित पहिलेकाे समाचार पनि पढ्नुहाेस् रोल्पाका सहारा बिहिन शहिद परिवारलाई देखेर सभामुख धुरुधुरु रोइन, बर्षमानले गल्ति स्विकारे । भिडियो सहित

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार