• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

देउवाले सरकार छाड्नु पर्छ, पार्टी सभापतिका लागि म योग्य छु ः काँग्रेस नेता शेखर कोइराला


पुस १९, विराटनगर  ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिका लागि आफू पनि योग्य रहेको बताएका छन् ।

चुनावमा नेपाली काँग्रेसको पराजय, संघीय संरचनामा पार्टीलाई लग्नुपर्ने तयारी र नयाँ नेतृत्वको लागि केन्द्रीय समितिको बैठक त्यसपछि महाधिवेशनको टुंगो लाग्ने बताउँदै बुधबार विराटनरस्थित कोइराला निवासमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,‘ म नेतृत्व लिन लायक भइसकेको छु। पदीय जिम्मेवारी लिएर अब अघि बढ्न तयार छु।’

कोइरालाले आफू पार्टीको सभापतिको तयारी स्वरुप अब हुने जिल्ला अधिवेशन तथा पार्टीका कार्यकर्ताको मनोभाव बुझ्न देश दौडाहामा निस्कने पनि बताए। उनले भने,‘मुलुक संघीयतामा गई सकेपनि नेपाली काँग्रेसको संगठन संघीयतामा नगएकोले अब त्यसतर्फ जान पनि सम्पूर्ण काम गर्न बाँकी छ।’

देउवाले सरकार छाड्दा राम्रो

नेता कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार छाड्नु पर्ने वताए ।

संविधान अनुसार राष्ट्रियसभा गठनपछि मात्र सरकार छोड्नु पर्ने भएपनि प्रजातान्त्रिक मुलुकमा निर्वाचन भएपछि सरकार छाड्ने परिपार्टी रहेको बताए । ‘संविधानत देउवाजी अहिले सरकार प्रमुख हो’ उनले भनेका छन्, ‘तर, निर्वाचनको मत परिणाम आएको यतिका दिनसम्म सरकारमा वसिरहनु उचित हुँदैन ।’

कांग्रेस नेता कोइरालाले वाम गठवन्धनले सरकार निर्माणको लागि जनमत पाएको बताए ।

तर, एमाले र माओवादीबीच अहिले नै पार्टी एकिकरण हुनेमा आफु विस्वस्त नरहेको वताए । ‘सरकार निर्माणका दुई पार्टी संयुक्त रुपमा हुनेछन् । तर, अहिलेको परिस्थितिमा पार्टी एकिकरणको अवस्था म देखिँदन’ कोइरालाले भने ।

‘डेलिकेट ब्यालेन्स’ आवश्यक

कोइरालाले नेपाल चीन र भारतबीच सामरिक महत्व राख्ने भएकाले अब त्यही हिसाबको ‘डेलिकेट ब्यालेन्स’ गर्नुपर्ने सुझाव दिए। उनले भने,‘विश्वको राजनीतिक अवस्था र अन्य कारणले पनि नेपालको सामरिक महत्व अझ बढेको छ।

दुई ठूला देशबीच भएको कारण पनि नेपालले ‘डेलिकेट ब्यालेन्स’ राख्न आवश्क छ।’ कोइरालाले विविध कारणले नेपालमा बाह्य शक्तिको प्रभाव बढ्ने गरेको पनि बताए।

अधिनायकवादको पहिलो खुडि्कलो

वाम गठवन्धनले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश रोक्न राष्ट्रपति विद्या भण्डारीलाई दबाब दिनुलाई अधिनायकवादको पहिलो खुडकिलो भएको उनले बताए ।

उनले भने ‘माओवादी र एमालले जसरी अध्यादेश रोक्न दबाब दिने काम भयो, त्यो अधिनायकवाद हो । उनीहरुले अधिनायकवादको चरित्र प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार