• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विद्युत चोर्ने ४ ग्राहकलाई झण्डै ५० हजार जरीवाना


बुद्धि पुन
पुस १९, सल्यान ।

सल्यानमा ४ जना ग्राहकले विद्युत चोरी गरेका छन् । नेपाल विद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले जिल्लाको सदरमुकाम खलंगामा गरेको निरिक्षणका क्रममा ४ जना ग्राहकले विद्युत चोरी गरेको भेटिएको थियो । यसरी विद्युत चोरी गर्नेहरु बाट जरिवाना स्वरुप ४९ हजार २ सय ९१ रुपैँया उठेको छ ।

यस्तै निरिक्षणका क्रममा ४० ग्राहकको घरको मिटरमा रिसिलिङ गरेको नेपाल विद्युत प्राधिकरण सल्यान बितरण केन्द्रका प्रमुख रामशरण तिमिल्सिनाले जनाए । ‘अब हामी निरिक्षण गर्ने कामलाई तिव्रता दिन्छौँ’– उनले भने । उनले अब सल्यानको श्रीनगर र थारमारेमा पनि निरिक्षण गर्ने बताए ।

उनले अहिले जिल्लामा ग्राहक संख्या बढ्दै गएको बताए । गत साउन महिना देखी अहिले सम्म ४ सय ८० जना ग्राहक थपिएका छन् । ‘यस अघि जिल्लामा ७ हजार ६ सय ८१ ग्राहक रहेका थिए’– उनले भने ‘हाल जिल्लामा नयाँ ग्राहक सहित ८ हजार १ सय ६१ ग्राहक भएका छन् ।’ उनले अब जिल्लामा ग्राहक संख्या बढाउदैँ लैजाने योजना भएको बताए ।

उनले साउन महिना यता जिल्लामा १ सय ६१ भन्दा बढीको विद्युत लाईन काटिएको बताए । ‘समयमा नै महसुल नबुझाउने ग्राहकको लाईन काटिएको हो’– उनले भने । यस्तै १ सय १० जना बढीले जरिवाना स्वरुप रुपैयाँ बुझाए पछि फेरी जोडेका छन् ।

प्रमुख तिमिल्सिनाले साउन महिना यता जिल्लामा करिब १८ लाख महसुल उठेको पनि बताए । उनले जिल्लामा विद्युत महसुल नतिर्नेहरुको संख्या पनि धेरै रहेको बताए । ‘अहिले जिल्लामा विद्युतमहसुल नबुझाउने ग्राहकको संख्या ३२ रहेको छ’– उनले भने ‘बिद्युक्त महसुल नबुझाउने ग्राहकको नाम कालो सुचिमा राखिन्छ ।’

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार