• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

गठबन्धन फुटाउने सपना नदेख्न कांग्रेसलाई माधवकुमार नेपालको चेतावनी


पुस १९, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताए ।

नेपालले सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए ।

८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य २ सय जना, पोलिटव्यूरो सदस्य २१ भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटी बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।

भियतनामको कम्युनिष्ट पार्टीकोसमेत उदाहरण दिँदै नेपालले भने, “पदका लागि मारामार गर्ने होइन । संगठनात्मक संरचना बनाएर नेता व्यवस्थापन गर्नुपर्छ । त्यसपछि महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ ।”

नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । उनले भने, “हामी पद छोड्न र दिन तयार छौँ ।”
जनताको जनादेशअनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने उनको तर्क थियो ।

“सरकारको नेतृत्वको विषयमा पनि विवाद नहुने उनको दाबी थियो । प्रधानमन्त्रीका लागि मारामार तानातान होला भन्ने लागेको होला । त्यस्तो हुँदैन,” उनले भने ।

एमाले र माओवादीबीच लडाईँ होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरु परिपक्व भएकाले त्यस्तो दाउ नहेर्न सुझाब दिए ।

चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यही अनुसार सोचेको उनको भनाई थियो । “अनावश्यक प्रचार र दबाब सृजना गरेर केही हुँदैन । प्रधानमन्त्रीका लागि कुनै समस्या छैन,” नेपालले भने, “दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी, बादल सबैको उचित र न्यायसंगत व्यवस्थापन हुन्छ ।”

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओली नै हुन सक्ने सम्भावना बढि रहेको नेपालको भनाई थियो । तर माओवादीसँग पनि छलफल हुने उनले बताए ।

नेपालले आफू संगठन विस्तारमा लाग्ने र पार्टीलाई बलियो बनाउन अभियानमा लाग्ने बताए । अर्को प्रश्नमा नेपालले माओवादी अध्यक्ष प्रचण्डको पनि उचित व्यवस्थापन गरिने बताए ।

संस्थागत निर्णय गर्न कम्युनिष्टहरु सिपालु हुने भन्दै नेता नेपालले संगठन परिचालन र जनचेतना विस्तारका लागि कसैले सिकाउनु नपर्ने बताए । संगठनको खाका बनाउने विषयमा छलफल भइरहेको उनले बताएका छन् ।

पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद नछोडिने उनले स्पष्ट पारेका छन् । “जबजको सान्दर्भिकता अझै बढ्दै गएको छ । कतिपय कुरा समयअनुसार फेरेका छौँ । माओवादीले पनि २१ शताब्दीको जनवाद भनिसकेको छ । संविधानमा उल्लेख गरेअनुसार समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो ,” उनले भने ।

सरकार निर्माण गरेर पार्टी एकता गर्ने तयारी भए पनि अब सरकार गठनको समय धकेलिने अवस्था देखेकाले पहिला पार्टी एकता गरेरै जाने उनले बताए । नेताहरुको व्यस्तताले पनि धकेलिन पुगेको उनका भनाई थियो ।

तर हतार नगर्न उनले माओवादीलाई आग्रह गरेका छन् । “मिठो खानका लागि भात, तरकारी, दाल, माछा, मासु सबै पाक्नुपर्छ । हतार गरेर हुँदैन,” नेपालले भने ।

चुनाव हारिसकेपछि पनि नेपालले सरकार छोड्न नचाहेको भन्दै उनले आपत्ति जनाएका छन् । “कांग्रेस जहिले पनि कुर्सी छोडन आलटाल गर्छ । नानीदेखि लागेको बानी अझै हटेको छैन । यो अत्यन्तै गलत सोच हो,” नेपालले भने “शेखर, रामचन्द्र र देउवा आत्तिनुपर्दैन । रोग लाग्ला । कम्तिमा अब पाँच वर्ष धैर्य गरेर बस्नुस् । रचनात्मक प्रतिपक्षमा बस्नुस् ।”

वाम गठबन्धन फुटाएर आफू सरकारमा जाने कुरा दिवा सपना भएको उनको भनाई थियो । नेता नेपालले वाम गठबन्धनको सरकारले भारत र चिन दुवै छिमेकी मुलुकसँग निकटताको सम्बन्ध स्थापित गर्ने बताएका छन् । “आन्तरिक मामलामा हात नहालुन भन्ने मात्रै हाम्रो चाहना हो । हाम्रो निर्णय गर्ने अधिकारमाथि हस्तक्षप गरे सैह्य हुँदैन,” नेपालको चेतावनी थियो ।

चीनको पक्षमा गठबन्धनको सरकार जाला भनेर आशंका नगर्न उनले आग्रहसमेत गरे । सबै देशसँग आवश्यकता अनुसार आर्थिक, कुटनीतिक सम्बन्ध स्थापित गर्ने उनको भनाई थियो । बाह्रखरी बाट

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार