पुस २०, काठमाडौं ।
प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीय बैठक सकिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका छन् । तर, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् ।
उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए । दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने तयारी थियो । तर, एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न चाहेनन् ।
केही दिनदेखि आराम गरिरहेका एमाले अध्यक्ष केपी ओली बैठकमा गएका थिएनन् । एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेलसहितका नेताहरु बालुवाटार पुगेका थिए । उनीहरु प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको जनाए । उनले भने , “हामीले निर्वाचनअगावै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न आग्रह गर्दा सरकारले सुनेन, अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानूनी काम सरकारले चाँडो पूरा गरोस्, अन्य दीर्घकालीन महत्वका निर्णय तथा सरुवा बढुवा नगरोस् भनेर स्पष्ट राखेका छौँ ।” उनले आयोगलाई सरकारले नै दबाब दिएर परिणाम रोकाएको आरोप लगाए।
बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले भने “चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएका छाैँ” । त्यस्तै एमाले नेता अग्नि खरेलले भने, ‘प्रधानमन्त्रीले प्रदेश केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा सहमति गरौं भन्नुभयो । हामीले प्रदेश केन्द्र कहाँ बनाउने भन्ने रिपोर्ट हामीलाई दिइएको छैन, यो काम सरकारको हो सरकारले गरोस् भन्यौं ।’ लगत्तै कांग्रेस नेता कृष्ण सिटौलाले ‘एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले राजनीतिक सहमति गर्नु परेको हो,’ भनेका थिए ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताएका छन् । उनले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्णय गर्ने जानकारी दिए ।
केही दिनअघि आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नै नलिने बताएका थिए ।