पुस २१, रुपन्देही ।
रुपन्देहीको देबदहमा एक फर्निचर व्यवसायीकाे गोली हानी हत्या भएको छ ।
स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । टाउकोमा गोली लागेर घाइते भएका व्यवसायी तथा नेकपा एमालेका स्थानीय नेता बलुको उपचारकाे क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हाे ।
बलुको हत्याकाे जिम्मा मनाेज पुनले लिएका छन् । शुक्रबार बिहान ११ बजे देवदह–२ मा बलुमाथि गोली हानी फरार रहेका पुनले हत्याकाे जिम्मा लिएका हुन् । पुनले टेलिफोन गरी हत्याकाे जिम्मा लिएका छन् । पुनले बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले बलुलाई गोली हानेको बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।
तिनै पुन हुन् जसलार्इ गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।अहिले दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।