• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

यसकारण जुरेन ओली-प्रचण्डबीच भेटवार्ताकाे साइत


पुस २२, काठमाण्डाैँ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार हुने भनिएको भेटवार्ता स्थगीत भएको छ।

दुई दिनयता गृहजिल्ला चितवनमा रहेका प्रचण्डको शनिबार काठमाडौं आउने योजना थियो। तर उनी काठमाडौं आएनन्। दाहाल मौसम खराबीका कारण चितवनबाट जहाज नउडेकाले काठमाडौं आउन नसकेको उनका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जानकारी दिएका छन्।

‘मौसमको खराबीका कारण अध्यक्ष कमरेडको भरतपुरबाट काठमाडौं आउने कार्यक्रम आजका लागि स्थगीत भएको छ’, तिमिल्सिनाले भने।

दाहाल भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन बिहिवार चितवन गएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनी चितवन प्रस्थान गरेका थिए।

गोरखामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दाहाल र ओलीबीच शनिबार भेट हुन सक्ने बताएका थिए। उनले शनिबारको भेटमा दुई अध्यक्षबीच पार्टी एकताका विषयमा छलफल हुने र आइतबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना रहेको जनाएका थिए। तर, शनिबारको भेटको सम्भावना भने दाहाल काठमाडौं नआउने भएपछि सकिएको छ।

चुनाव लगत्तै पार्टी एकता गर्ने भनेर मत मागेका दुई वामपन्थी शक्ति एमाले र माओवादी केन्द्रको एकता प्रकृया लम्बिँदै गएको छ। यसबीच पार्टी एकताका लागि दुई पार्टीका शिर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक त बस्न सकेको छैन।

पार्टी एकताका विषयमा दुवै पार्टीका दोश्रो तहका नेताहरुबाट फरकफरक अभिव्यक्ति आउन थालेपछि एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच पुस १२ गते ‘वान टु वान’ वार्ता भएको थियो। ओलीको निजी निवास बालकोटमा भएको वार्ताका क्रममा उनीहरुले पार्टी एकता तत्काल हुने बताएका थिए।

उनीहरुको भेटवार्तापछि ओली अस्वस्थ भएर घरमै आराम गरिरहेका थिए। ओलीको अस्वस्थताका कारणपनि पार्टी एकताका विषयमा दुई पार्टीका अध्यक्षबीच भेट हुन सकेको थिएन। दुई नेताबीच भेट नभएका कारण पार्टी एकता संयोजन समितिको बैठकसमेत बस्न सकेको थिएन। आगामी बिहिबार ओली पनि नियमिति स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने भएका छन्।

यसअघि पुस ८ मा पनि मौसम खराबीकै कारण दाहाल भैरहवाबाट काठमाडौं आउन नसकेपछि एकता संयोजन समितिको बैठक स्थगीत भएको थियो । नेपालखबर बाट

प्रकाशित मिति : २०७४ पुष २२ गते शनिवार