• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

डा. केसीलाई सर्वोच्चमा लिएर बहस सुरु, नेताहरू सडकमा ! यस्ता उठे विराेधका अावाजहरू


पुस २५, काठमाडौं ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राती पक्राउ परेका डा. गोविन्द केसीको इजलास तोकिएको छ। उनको मुद्दा न्यायाधिश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा सुनुवाइ हुँदैछ।

२ नम्बर इजलासमा केसीको मुद्दाको सुनुवाइ केहि बेरमै शुरु हुने अधिवक्ता सुरेन्द्र भण्डारीले बताए।

केसीको पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायत रहेका छन्। यस्तै, उनको विपक्षमा रमण श्रेष्ठ, श्याम खरेल, दीपक विष्ट र लक्ष्मण थपलियाले बहस गर्नेछन्।

सोमबार बेलुका सर्वोच्चले केसी विरुद्ध प्रकाउ आदेश दिएपछि प्रहरीले पक्राउ गरी बिहान करिव ९ बजे उनीलार्इ सर्वाेच्च अदालतमा उपस्थित गराइए पनि ११ बजेसम्म बयान सुरु हुन सकेको थिएन। केही समय अगाडि डा केसीले स्वास्थ्यमा असहजता महसुस गरेपछि उनलाई एम्बुलेन्समा राखिएको थियो।

इजलाश सञ्चालनका लागि दुई पटक सर्वाेच्चमा फुलकोट बसिसकेको छ। आईओएमको डिन नियुक्तिसम्बन्धी फैसलामा केसीले दिएको प्रतिक्रियालार्इ दिएर उनलार्इ अदालतको अवहेलना मुद्दा लागाइएको छ।

डा.केसी पक्राउकाे विराेध
डा. गोविन्द केसीलाई पक्राउ गरेको विरोधमा मंगलबार बिहानै काठमाडौंमा प्रदर्शन गरिएको छ।

माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली कांग्रेसका नेता गगन थापालगायतका नेताहरु पनि सहभागी भएका छन्। त्यस्तै केसीको पक्राउको विरोधमा नागरिक समाजका प्रवुद्ध व्यक्ति र सर्वसाधारण पनि माइतीघर मण्डलामा भेला गरेका छन्।

प्रदर्शनका सहभागीले केसीको पक्राउको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरुले आफूहरुलाई पनि पक्राउ गर्न आग्रह गर्दै प्रदर्शन गरेका छन्।

डा. केसी पक्राउकाे विराेध गर्दै नेताहरू सडकमा

गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीलाई अदालतको अवहेलनाको मुद्दा लाग्छ भने आफूलाई पनि लगाउन चेतावनी दिएका छन्।

डा. केसी पक्राउको विरोधमा मंगलबार काठमाडौंको माइतीघरमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेता थापाले आफू केसीको पक्षमा रहेकाले मानहानीको मुद्दा लगाउन चेतावनी दिएका हुन्। ‘अदालतको बारेमा मात्रै होइन, कसैको विरुद्धमा नबोल्ने वातावरण थियो। राजा विरुद्धमा यसैगरी आन्दोलन गरिएको थियो। त्यतिबेला पनि राजद्रोहको मुद्दा लगाएर यसैगरी प्रकाउ गरिएको थियो’ उनले भने ‘श्रीमान डा. केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी मुद्दा लगाऊ।’

डा. केसीको आन्दोलन सबै नेपालीको माग भएको भन्दै नेता थापाले उनलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। आफूलाई विगतमा राजद्रोहको मुद्दा लगाउँदा आफ्नो पक्षमा बहस गर्दै एमाले नेता तथा कानुन व्यवसायी सुवास नेम्वाङले ‘गगनलाई राजद्रोहको मुद्दा लाग्छ भने राजाको विरुद्धमा आन्दोलन गरेका सबैलाई मुद्दा लगाऊ’ भनेको स्मरण गर्दै थापाले अहिले पनि डा. केसी एक्लै नरहेको बताए।

रविन्द्र मिश्र
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् । उनले डा. केसीलाई तत्काल रिहा गर्न र उनले लगाएका आरोपमाथि छानविन गर्न माग गरेका छन् ।

अदालतको मानहानीको मुद्दा लागेपछि पक्राउ परेका डा. केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुलाई सम्बोधन गर्दै मिश्रले डा. केसीलाई अपराधी जसरी रातारात गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘सर्वोच्चले आदेश दिएपछि वर्षौंसम्म कारबाही नभएको उदाहरण छन् । तर, डा. केसी जस्तो निष्ठा बोकेका व्यक्तिलाई रातारात हठात गिरफ्तार गरियो, यो निन्दनीय छ । सरकारका लागि लज्जाजनक विषय हो ।’

न्यायालय, कर्मचारीतन्त्रका साथै स्वतन्त्र रहनुपर्ने निकायहरु राजनीतिकरण गरिएको र त्यही राजनीतिकरणको परीणाम यो घटना पनि भएको मिश्रले बताए ।
उनले डा. केसीलाई तत्काल रिहा गर्न माग गरे । डा. केसीले उठाएको आवाज सर्वोच्च र सिंहदरबारले पनि सुन्नुपर्ने भन्दै मिश्रले भने, ‘उनलाई रिहा गरेर उनले जुन गम्भीर आरोप लगाएका छन्, त्यसबारे छानविन हुर्नैपर्छ ।’

डा. केसीले अभिव्यक्तिमा केही आक्रोश मिसिएको भए पनि त्यसलाई अदालतको मानहानीका रुपमा लिन नहुने उनले बताए । डा. केसीको मनसाय हेरिनुपर्ने भन्दै मिश्रले भने, ‘उहाँको मनसाय भनेको स्वास्थ्य सेवामा सुधार होस् भन्ने हो । अभिव्यक्ति दिने क्रममा केही आक्रोश मिसियो होला । त्यसैको भरमा अपराधी जसरी गिरफ्तार गर्ने सरकारलाई अधिकार नै छैन ।’

डा. बाबुराम भट्टराई
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. केसीलाई पक्राउ गर्नुको पछाडि ठूलो षड्यन्त्र भएको बताए। उनले केसी जस्ता सामाजिक अभियन्तालाई यसरी पक्राउ गर्नु नहुने र केसीको मागलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए।

अदालतको अवेलना गरेको भन्दै सर्वोच्च अदालतको आदेशमा प्रहरीले सोमबार डा. केसीलाई त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो। सर्वोच्च अदालतले आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसी त्यस आदेशको विरोधमा सोमबारदेखि अनशनमा बसेका थिए। उनले प्रधानन्यायाधीश भ्रष्ट रहेको लगायतका आरोप लगाएपछि सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै मंगलबार ९ बजे अदालत पेश गर्न आदेश दिएको थियो।

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार