• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

रोल्पामा एक गाउँपालिकाको नाम परिवर्तन भएरै छोड्यो, दुई गाउँपालिकाको विवाद अझै मिलेन


पुस २५, रोल्पा ।

रोल्पाका दुई गाउँपालिकाको नाम र केन्द्रका विषयमा विवाद चलिरहँदा दुईखोली गाउँपालिकाको नाम भने परिवर्तन भएको छ । मंगलबार नेपाल राजपत्रमा प्रकाशित भई दुईखोली गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको हो । अब दुईखोली गाउँपालिकाको नाम ‘परिवर्तन गाउँपालिका’ भएको छ भने राङ्कोटमा रहेको केन्द्र ‘पुतलाचौर’ राखिएको छ । गत २७ भाद्रमा भएको प्रथम गाउँसभाले सर्वसम्मत रुपमा गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

कसैको विरोध रहेन

दुईखोली गाउँपालिका नाममा यसअघि पनि विवाद नरहे पनि केन्द्रका विषयमा भने विवाद रहेको थियो । केही वडाबासीले दुईखोली नाम रहेकाले दुईखोली बजारमै केन्द्र हुनुपर्ने माग राख्दै आएका थिए । जसका कारण गाउँपालिका केन्द्र स्थापनामा समेत अवरोध भएको थियो । तर सबैको पायक पर्ने र उपयुक्त भौगोलिक वनावटका कारण पनि पुतलाचौर ठीक भएकोमा छलफलबाट सबै सहमत भएका थिए ।

साविक राङ्कोट गाविस भवनबाटै काम चलाउने भनिए पनि सबैको सहमतीमा पुतलाचौरबाट घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो । अहिले नाम फेरिए पनि कार्यालय भने सोही ठाउँमै रहने गाउँपालिका अध्यक्ष निमकान्त डाँगी बताउँछन् । गाउँपालिकाको नाम परिवर्तनमा पनि कसैको विरोध रहेन । गाउँपालिका लगायत सबै वडामा माओवादीले क्लिनस्वीप गरेकाले पनि विरोध नभएको केहीले अनुमान लगाएका छन् । उक्त गाउँपालिका उपराष्ट्रपति नन्दबहादुर पुन तथा नेतृ जयपुरी घर्तीमगरको घर रहेको गाउँपालिका समेत हो । हाल जिल्ला समन्वय समिति रोल्पाका प्रमुख समेत सोही गाउँपालिकाका छन् ।

नाम किन राखियो परिवर्तन ?

‘परिवर्तन गाउँपालिका’ दशवर्षे सशस्त्र जनयुद्धका क्रममा सहादत प्राप्त गरेका नेपबहादुर केसी ‘परिवर्तन’को नामबाट राखिएको हो । केसी माओवादी जनसेनाका उच्च तहका कमान्डर थिए । साथै गाउँपालिकाभरिमा सहातद प्राप्त गर्ने उच्च तहका नेतृत्व उनी नै थिए । उनीसहित गाउँपालिकाका सबै सहिदहरुको सम्मानका लागि नाम परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले बताए । दुईखोली गाउँपालिकाको नाम परिवर्तन राख्ने कार्य माओवादीकै जनप्रतिनिधिको प्रस्तावमा भएको हो । अचम्म त के भने अन्य विपक्षी दलहरुले समेत समर्थन जनाए ।

दुई गाउँपालिकाको छलफल अझै टुंगिएन

यता जिल्लाकै सुकिदह गाउँपालिका र सुवर्णावती गाउँपालिकाको नाम र केन्द्रको विषय अझै टुंगिएको छैन । सुकिदहको ‘गंगादेव’ र सुवर्णावतीको ‘सुनिल स्मृति’ गाउँपालिका राख्ने प्रस्तावमा माओवादी बाहेकका सदस्यहरुले विरोध जनाएपछि नाम परिवर्तनको विषय लम्बिएको हो ।

गाउँपालिकास्तरमा मिल्न नसकेपछि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले जनप्रतिनिधिसहित सर्वदलीय बैठक बोलाएका थिए । तर उक्त बैठकमा पनि कुरा मिल्न सकेन । जिल्लामा सहिदको नामै नभएर सुवर्णावतीको नाममा ‘सहिद स्मृति’ राख्न सकिने विकल्प दिइएको छ । उक्त विकल्पमा सोंचविचार गर्न तथा बाँकी छलफल गाउँपालिकामै गर्न भन्दै माघ ५ गतेसम्मका लागि समय दिइएको र त्यसपछि पुनः जिल्लामा छलफल गरिने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए । राेल्पाकाे एक गाउँपालिकासहित देशभरका ४६ वटा गाउँपालिकाकाे नाम केन्द्र फेरिएकाे छ । –नवीन लोचनमगर/रोल्पा टुडे

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार