सरिता चलाउने
पुष २६, सल्यान ।
सल्यानमा चालु आर्थिक वर्ष २०७४/०७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ ।
सुन्तला सुद्धढिकरण अभियान बगैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि , मौषमको अनुकुल वातावरण मिलेपछि यसवर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि आएको छ ।
जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ करोड ४ लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ । अघिल्ला वर्षको तुलनामा यसवर्ष सल्यानमा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
१ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ७ हजार ३ सय ४४ मेटिक्टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिए ।
गतवर्षको भन्दा ८ हेक्टर क्षेत्रफल बढिमा सुन्तला उत्पादन भएका कारण पनि गतवर्षको भन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि आएको उनको भनाई रहेको छ । उनले भने किसानहरुले बोटमा लामो समयसम्म दाना राख्ने गरेका कारण सुन्तला एक वर्ष बढि फल्ने र एक वर्ष कम फल्ने गर्दछ तर सुन्तलाको उत्पादन क्षेत्र बढि रहेकाले उत्पादन प्रतिशत बढेको हो ।
गएको वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो । उत्पादित सुन्तला मध्ये करिव ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर निकासी भएको उनले बताए । १ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आइरहेकोमा यस वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको अधिकृत शर्माले बताए । उनले भने उत्पादित सुन्तलाले सोचेभन्दा राम्रो बजार पाउन थालेपछि सुन्तला खेती तर्फ कृषहरुको मोह बढी रहेको छ ।
वैशाख र कात्तिकमा आएको असिना पानीले केही क्षति पु¥याएका कारण बिमा गर्न सबै किसानहरुलाई उनले आग्रह गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगन्ज, धनगडी,महेन्द्रनगर बिक्री भई रहेको शर्माले बताए ।