पुस २६, डोल्पा ।
डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भएको भीषण आगलागीमा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए ।
प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगलागीबाट हालसम्म कुनैपनि मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिएका छन् । आगलागी कसरी भयो भन्ने बारे हाल सम्म कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।