माघ ८, दाङ ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङ जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि मर्मतको काम सुरु भएको छ ।
नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको हो ।
लामो समयदेखि मर्मत नहुँदा इटा र सिमेन्टले बनाइएका सीमास्तम्भ भत्किन पुगेको भन्दै प्रमुख नापी अधिकृत बलराम पोख्रेलले नेपाल र भारतको संयुक्त टिमले सीमास्तम्भ मर्मतको कार्य अगाडि बढाएको जानकारी दिए ।
जोडा नम्बर भएका सीमास्तम्भको मर्मत भारत र बिजोडा नम्बर भएका सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फबाट हुने पोख्रेलले बताए ।
पूर्वमा कपिलबस्तु र पश्चिममा बाँकेको सीमानासम्म दाङमा ७७ वटा सीमास्तम्भ रहेको भन्दै उनले ६७ वटा सीमास्तम्भ जीर्ण अवस्थामा रहेको जानकारी गराए ।
उनका अनुसार जीर्ण सीमास्तम्भमध्ये ६०१ नम्बरको सीमास्तम्भ पूर्ण निर्माण गर्नुपर्ने छ । यो सँगै अर्को स्तम्भ खोलाले बगाएको विवरण नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयसँग छ ।
नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैँका लागि सुल्झाउन आगामी ५ वर्ष्भित्र दुई देशको सिमामा सम्पूर्ण सीमा स्तम्भू निर्माण गरिसक्ने भएको छ । नेपाल भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहनेछन् ।
यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिसकिएको छ । नेपाल–भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भइसकेको छ ।
अब २ हजारभन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी रहेको नापी विभागले जनाएको छ । बाह्रखरीबाट
फाेटाे फाइल