मेयरसाप पहिले तपाईंको कार्यकक्षमा सिसि क्यामेरा राखौं…


माघ ८, सल्यान । 

सल्यानकाे पहिलाे नगरपालीका शारदा नगरपालीकामा सिसि क्यामरा जडानभएकाे बिषयमा लेखक भुम प्रकाश भण्डारी (भुपिन)ले  नगरप्रमुख सुरेश अधिकारीलार्इ पत्रमार्फत यस्ताे कविता लेखेका छन् ।

मेयरसाप
परको चौतारीमा राखौंला
तलको बजारमा पनि राखौंला
उता छेउको
बसपार्कमा पनि राखौंला-सिसि क्यामेरा

तर अहिलेलाई
मेरो एउटा प्रस्ताव छ-के तपाई मान्नुहुन्छ?

सब भन्दा पहिले राखौं
तपाईंको कार्यकक्षमा -सिसि क्यामेरा
दोस्रोमा-हाकिम र लेखा कक्षमा राखौं
तेस्रोमा राखौं,
नगरपालिकाको मातहतका सम्पुर्ण निकायहरूमा
र बिकास निर्माणका योजना,आयोजनाहरूमा।

अनि गरौं-बसपार्कमा
चोक र चौतारीमा बसेर सिसि क्यामेरा हेर्दै
सर्वसाधारण जनताले प्रत्यक्ष अवलोकन गर्ने – सुबिधा ।

र चौथोमा चैं
तपाईंले राखेकै ठाउँहरूमा (सार्वजनिक स्थल)राखौंला – हुन्न?

मेयरसाप,
मलाई यत्ति बताइदिनुस, कि
जनताको भबिस्य सँग जोडिएका निकायलाई
कैद गरेर अंध्यारा कोठाहरुमा
जनताले हाँस्ने र खेल्ने आँगनहरूमा किन बढाइन्छ निगरानी ?

मेयरसाप,
यदि तपाईं मान्नुहुन्छ भने ,
म त भन्छु-जनतालाई निगरानी गर्नु भन्दा
जनताको निगरानीमा बस्ने संस्कृतिको थालनी गरौं अब।

यस अघिकाे सम्बन्धित समाचार शारदा नगरपालीकामा सिसि क्यामरा जडान, बजार-बजारमा निगरानी

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार